बिहिबार , बैसाख १३, २०८१

टेकुस्थित ऐतिहासिक सत्तल सङ्ग्रहालय पुनः सञ्चालनमा आउने

image

काठमाडौं । काठमाडौँ महानगरपालिका–१२, टेकुस्थित बम्बविर विकटेश्वर शिवालय वरिपरि बनाइएका ऐतिहासिक सत्तल सङ्ग्रहालय पुनः खुला गरिने भएको छ ।

वि.सं. २०७२ को भूकम्पले सत्तल जीर्ण भएपछि स्व. जनार्दनविक्रम राणा परिवारको पहलमा बम्बविर विकटेश्वर गुठीद्वारा सञ्चालित राणाकालीन सामग्रीसहितको सो सङ्ग्रहालय बन्द भएको थियो । एसियन डेभलपमेन्ट बैङ्कको ऋण सहयोगमा सत्तलहरू पुरानै शैलीमा पुनर्निर्माण गरिएपछि सङ्ग्रहालय पुनः सञ्चालनमा आउने भएको हो ।

राणा प्रधानमन्त्री जङ्गबहादुर राणाका माइला भाइ तत्कालीन प्राइममिनिस्टर इन चिफ जनरल बमबहादुर राणाले २४ रोपनी जग्गामा वि.सं. १९०७ मा बम्बविर विकटेश्वर शिवालय, अन्य मन्दिर र बगैँचा निर्माण गराउनुभएको थियो । सङ्ग्रहालयमा राणाकालमा प्रयोग गरिने वेशभूषा, हातहतियार, साजसज्जाका सामग्री एवं धार्मिक र ऐतिहासिक पुस्तक तथा वस्तुहरू राखिएका छन् ।

तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणा बेलायत भ्रमणमा जाँदा कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका बमबहादुरले टेकुमा सो सत्तल बनाउने आदेश दिएका थिए । कुँवरले १२ रोपनीमा बमवीर विकटेश्वर महादेव, त्यसवरिपरि कलात्मक सत्तल, विभिन्न मन्दिर निर्माण र १२ रोपनीमा बगैँचा, खुला स्थानको व्यवस्था गर्नुभएको बम्बविर विकटेश्वर गुठीका अध्यक्ष राजविक्रम राणाले जानकारी दिए । उनले सत्तल पुनर्निर्माण गरिएपछि राणाकालीन सामग्रीबारे जानकारी लिन चाहने सबैका लागि खुला गर्ने गरी सङ्ग्रहालय पुनः सञ्चालन हुने बताए । उनले भने, “तत्कालीन प्रधानमन्त्री बमबहादुरले टेकु क्षेत्रमा निर्माण गराउनुभएको उक्त मन्दिर र सत्तलको संरक्षण, प्रवर्द्धन गर्दै सो क्षेत्रमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटक आकर्षण गराउने लक्ष्यसहित गुठीले काम गरिरहेको छ ।”

मन्दिर तथा बगैँचा निर्माणपछि त्यसको संरक्षण एवं पूजा र प्रार्थनालाई निरन्तरता दिन तत्कालीन समयमा काठमाडौँ, ललितपुर र भक्तपुरमा गरी ६७० रोपनी जग्गाको व्यवस्था गरिएको थियो । अहिले ती सबै जग्गा व्यक्तिका नाममा दर्ता हुन पुगेको अध्यक्ष राणाको गुनासो छ । बाँकी आठ/नौ रोपनी जग्गा पनि सरकारले बिना सोधभर्ना राजगुठीमा परिणत गरेपछि गुठीले दिने सहयोगले हाल ती मन्दिरको पूजा, संरक्षण प्रवर्द्धनको कामलाई निरन्तरता दिन गाह्रो भइरहेको भनाइ उनको छ ।

गुठीका अध्यक्ष राणाले गुठीका मिचिएका जग्गा फिर्ताका लागि मुद्दासमेत लड्नु परेको बताउँदै विगतका पुस्ताले बनाएको ऐतिहासिक सम्पदा संरक्षणका लागि राज्य र स्थानीयको सहयोग आवश्यक रहेको बताए । सो क्षेत्रमा बमविर विकटेश्वर महादेवलगायत गणेश, काली, कामदेव, इन्द्रभक्तेश्वर महादेव, तदिमनारायण, गुण भुवनेश्वरलगायतका मन्दिरमा नौजना पुजारीले पूजाआजा गर्दै आएका छन् । गाेरखापत्र अनलाइन 

सम्बन्धित समाचार