काठमाडौं । काठमाडौं महानगरपालिकाले ठमेल क्षेत्रलाई पर्यटकीय हबको रूपमा विकास गर्न गुरुयोजनासहितको कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले ठमेल क्षेत्रलाई पर्यटक हबको विकास गर्न गुरुयोजनासहितका कार्यक्रम सञ्चालन हुने जानकारी दिएकी छन् ।
“ठमेल क्षेत्रलाई पर्यटक हबको रूपमा विकास गर्दै गुरुयोजना सहितको कार्यक्रम सञ्चालन गर्न तथा महानगरपालिका भित्रका बहाःबही सहितको पर्यटकीय क्षेत्रहरूको रुट सजेसन सम्बन्धी एप निर्माण समेतको पर्यटन विकास कार्यक्रमको लागि रु २ करोड ५० लाख रकम विनियोजन गरेको छु ।” उपमेयर डङ्गोलले भनिन् ।
महानगरले महानगर क्षेत्रभित्रको मूर्त–अमूर्त सम्पदाहरूको पुनः निर्माण एवम् संरक्षण कार्यलाई उच्च प्राथमिकतामा राखेको छ । सो योजनाको प्रभावकारी कार्यान्वयनका लागि “संस्कृति, सम्पदा तथा पर्यटन, महानगरको धन” योजना मार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि रु ५० करोड रकम विनियोजन गरेको छ ।
त्यसैगरी विभिन्न हिति र पोखरीको नियमित मर्मत सम्भार र संरक्षण कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न महानगर स्वर्णिम योजना अन्तर्गत २ वटा कार्यक्रमको लागि रु २६ करोड रकम विनियोजन गरेको उपमेयर डङ्गोलले जानकारी दिएकी छन् ।
महानगरपालिकाले काठमाडौं महानगरभित्रका मौलिक तथा स्थानीय जात्रापर्वलाई प्रभावकारी रूपमा सञ्चालन एवम् प्रवर्द्धन गर्न बजेट विनियोजन गरेको छ ।
बजेट सार्वजनिक गर्दै उपमेयर डङ्गोलले भनिन्, “हाम्रो मौलिक तथा स्थानीय जात्रापर्वलाई प्रभावकारी रूपमा सञ्चालन एवम् प्रवर्द्धन गर्न वडा समेतको लागि कुल रु १ करोड ८८ लाख रकम विनियोजन गरेको छु ।”
त्यसैगरी महानगर क्षेत्रको समग्र संस्कृति, सम्पदा एवम् पर्यटन कार्यक्रमको लागि गत आर्थिक वर्षको क्रमागत योजना सहित कुल रु २ अर्ब १३ करोड ७६ लाख रकम विनियोजन गरेको छ ।
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि कूल २५ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको छ ।
आइतबार राष्ट्रिय सभा गृहमा महानगरले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट महानगरकी उपप्रमुख सुनिता डङ्गोलले प्रस्तुत गरेकी हुन् ।
महानगरले सङ्घीय सरकार र प्रदेश सरकारको सशर्त अनुदानबाट १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदानबाट ८९ करोड ३६ लाख, आन्तरिक आयबाट ६ अर्ब ३९ करोड प्राप्त हुने उपप्रमुख डङ्गोलले बताइन् ।
उनका अनुसार राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब हुनेछ ।
यस्तै, १० वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरिएको छ । त्यस्तै, २५ वटा महानगर स्वर्णिम योजनाका लागि २ अर्ब विनियोजन गरिएको छ ।
महानगरले आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रमा छुट्याएको छ । शिक्षाका लागि महानगरले ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ । २०७९/८० मा २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट विनियोजन भएको थियो ।