बुधबार , जेठ १३, २०८३

आज साँझ ठमेलमा भव्य सांस्कृतिक कार्यक्रमसहित ‘न्यू इयर इभ फेस्टिभल’ हुँदै

आज साँझ ६.३० बजे ठमेल त्रिदेवी मार्गस्थित कर्मचारी सञ्चयकोष अगाडी काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहकाे प्रमुख आतिथ्यतामा महोत्सव हुने छ ।

image

काठमाडाैं । नेपाली नयाँ वर्ष २०८० को पूर्वसन्ध्यामा पर्यटकीय नगरी ठमेलमा आज साँझ ‘न्यू इयर इभ फेस्टिभल’ तथा भव्य सांस्कृतिक कार्यक्रम हुँदै छ । नेपाली नयाँ वर्षलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन ठमेल पर्यटन विकास परिषद्को आयोजनामा नयाँ वर्ष २०८० शुभारम्भको पूर्व सन्ध्यामा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ हुन लागेको हो ।

आज साँझ ६.३० बजे ठमेल त्रिदेवी मार्गस्थित कर्मचारी सञ्चयकोष अगाडी काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहकाे प्रमुख आतिथ्यतामा महोत्सव हुने छ ।

महोत्सवमा विभिन्न साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम गरी २०७९ लाई बिदा गरी २०८० लाई स्वागत गरेर राती १२:३० बजे कार्यक्रम समापन गर्ने कार्यक्रम रहेको छ । साथै ठमेलको सबै क्षेत्रमा विभिन्न व्यवसायीहरूले आफ्ना वस्तु तथा सेवाको प्रवर्द्धन गरी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षक गन्तव्यको रूपमा परिचित गराउने भएकाे छ ।

महोत्सवमा विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिका साथै पर्यटन सम्बद्ध सङ्घ संस्थाका पदाधिकारीहरूकाे उपस्थिति रहने छ ।

कोरोना महामारीबाट थला परेको पर्यटकीय क्षेत्र ठमेललाई चलायमान गराउन ठमेल पर्यटन विकास परिषद् लागिरहेको जनाएको छ । परिषद्ले ठमेलभित्रका व्यवसायी, घरधनी र विभिन्न निकायको समन्वयनमा ठमेलमा पर्यटन प्रवर्द्धनमा लागिरहेको छ ।

परिषद्का अनुसार वसन्त ऋतुको आगमनसँगै ठमेल क्षेत्रमा पर्यटक आउने सङ्ख्यामा समेत वृद्धि भएको छ । पर्यटकको वृद्धिसँगै ठमेलका व्यवसायीमा नयाँ आशा पलाएको छ परिषद्ले बताएको छ ।

नयाँ वर्षकाे अवसरमा आयोजना गरेको साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रमले ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने विश्वास परिषद्ले लिएको छ।

नयाँ वर्षको पुर्वसन्ध्यामा ठमेल पर्यटन विकास परिषद्ले आयोजना गरेको ठमेल सडक महोत्सव कार्यक्रमले ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धन हुने हुँदा नेपाली नयाँ वर्ष २०८० लाई स्वागत गर्न स्वदेशी तथा विदेशी पाहुनाहरूलाई ठमेल आउन परिषद्ले अपिल गरेको छ ।

महाेत्सवमा करिब एक लाख जनाको सहभागिता रहने परिषदका अध्यक्ष भविश्वर शर्माले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार