शुक्रबार , जेठ १५, २०८३

तिलाैराकाेट र रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचिमा सुचिकृत गरिने

image

काठमाडौं । सरकारले कपिलवस्तुकाे तिलाैराकाेट र धनुषाकाे रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गरिने घाेषणा गरेकाे छ ।

शुक्रवार आगामी आर्थिक वर्ष २०८०/०८१ को सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका छन् ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पाैडेलले भने, “कपिलवस्तुको तिलौराकोट र जनकपुरधामको रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गरिने छ ।”

त्यसैगरी सांस्कृतिक पर्यटनकाे विकासका लागि “एक प्रदेश, एक सांस्कृतिक ग्राम”को अवधारणा अघि बढाइने र सातै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान र विकास गरिने राष्ट्रपति पौडेलले बताए ।

राष्ट्रिय संस्कृति नीति तर्जुमा गरिने र नेपाली सांस्कृतिक सम्पदाहरूको अध्ययन अनुसन्धान संरक्षण, संवर्द्धन एवम् पुस्तान्तरण गरी जीवन्तता दिइने भएको छ ।

ऐतिहासिक, पुरातात्त्विक स्थलहरूको अन्वेषण, उत्खनन र संरक्षण कार्यलाई निरन्तरता दिइने, पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका सबै प्रकारका अभिलेखहरूको आधुनिक प्रविधिबाट संरक्षण गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यसैगरी गोरखा जिल्लाको उपयुक्त स्थानलाई नेपालका सम्पूर्ण जातजातिहरूको संस्कृति र पहिचान झल्कने गरी जीवन्त सङ्ग्रहालयको रूपमा विकास गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने सरकारले घोषणा गरेको छ ।

धार्मिक तथा सांस्कृतिक स्थलहरूलाई सुन्दर र आकर्षक बनाइ हाम्रो सम्पदा, राम्रो सम्पदा कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ । धार्मिक सांस्कृतिक परिपथको विकास गरी पर्यटन सञ्जाल विस्तार गरिने छ ।

प्रकृति र संस्कृतिको सम्मिश्रणलाई आधार बनाइ विश्व पर्यटन बजारमा सबैका लागि सधैँका लागि आकर्षक गन्तव्यको रूपमा नेपालको ब्रान्डिङ गरिने छ ।

राष्ट्रिय मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनका साथै स्रष्टाहरूको वृत्तिविकास अनुसन्धानका निम्ति स्रष्टा वृत्ति अनुसन्धान वृत्ति जस्ता कार्यक्रम लागु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सूचिकृत पर्यटकीय गन्तव्यहरूको विश्वव्यापी प्रचार गरिने छ र अत्यावश्यक पूर्वाधारहरूको विकास, सुरक्षा प्रबन्ध र नयाँ पर्यटकीय गन्तव्यहरूको विस्तारमा जोड दिइने छ ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गरिने भएको छ ।

सम्बन्धित समाचार