पछिल्लाे ६ महिनामा भित्रियो २८ अर्ब आठ करोड रुपैयाँ
काठमाडौं । चालु आर्थिक वर्षको छ महिना अर्थात् गत साउनदेखि पुससम्ममा गत वर्षको यही अवधिको तुलनामा पर्यटनबाट हुने आम्दानी एक सय १६ प्रतिशतले बढेको छ । राष्ट्रबैंकले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार पछिल्लो ६ महिनामा पर्यटनबाट २८ अर्ब आठ करोड रुपैयाँ आम्दानी भएको छ ।
यस अवधिमा गत वर्षको यही अवधिको तुलनामा रेमिटेन्स २४.३ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा ५ खर्ब ८५ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको हो । गत वर्षको यही अवधिमा भने ४ खर्ब ७० अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो ।
वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा छ महिनामा गत वर्षको यही अवधिको तुलनामा ६४ प्रतिशतले वृद्धि भएसँगै रेमिटेन्स भित्रिने दरमा सुधार भइरहेको हो ।
चालु आर्थिक वर्षको छ महिनामा दुई लाख ७५ हजार नयाँ श्रम स्वीकृतिमा रोजगारीको लागि बाहिरिएका थिए । त्यस्तै, श्रम स्वीकृति नवीकरण गरेर जानेको सङ्ख्या पनि ९.५ प्रतिशतले बढेर एक लाख ४२ हजार नाघेको छ ।
रेमिटेन्स बढ्दा, पर्यटनबाट हुने आम्दानी बढ्दा, आयात घट्दा मुलुकको भुक्तानी सन्तुलन अर्थात् मुलुक भित्रिने र बाहिरिने रकमान्तर सकारात्मक भएको छ । यस्तो सन्तुलन ९७ अर्ब नौ करोड रुपैयाँ छ ।
त्यस्तै आयात २०.७ प्रतिशतले घटेर सात खर्ब ९२ अर्ब रुपैयाँमा सीमित भएको छ । आयात मात्र नभई मुलुकबाट हुने निर्यात पनि घटेको छ । निर्यात ३२ प्रतिशतले घटेर ८० अर्ब ८० करोड रुपैयाँमा सीमित भएको छ ।
रेमिटेन्स र नेपाल घुम्न आउने पर्यटकमा भइरहेको वृद्धिको कारणले विदेशी मुद्रा आम्दानी बढेको छ । तर, मुलुकमा विदेशी लगानीकर्ताहरूको लगानी भने बढ्न सकेको छैन ।
गत असार मसान्तमा १२ खर्ब १५ अर्ब रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति त्यसयता १० प्रतिशतले बढेर १३ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ ।
यस्तो सञ्चितिले अहिलेकै प्रवृत्तिमा आयात भएमा नौ महिना तीन दिनको वस्तु तथा सेवा आयात धान्न सक्छ ।
केही समयअघि राष्ट्र बैङ्कले आयातमा लगाएको नगद मार्जिन र सरकारले लगाएको प्रतिबन्धको कारण विदेशी मुद्रा सञ्चितिमा सुधार भइरहेको हो ।
अहिले यी दुवै व्यवस्था हटेको छ । यद्यपि बजारमा मागमा आएको कमीले आयात बढ्न सकेको छैन ।