मंगलबार , साउन १९, २०८३

एकै महिनामा भित्रिए झन्डै एक लाख पर्यटक

image

काठमाडौं । सन् २०२३ को मार्च महिनामा नेपालमा झन्डै एक लाख पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार मार्च महिनामा कुल ९९ हजार चार सय २६ जना पर्यटक भित्रिएका हुन् ।

यो सङ्ख्या अघिल्लो महिनाको तुलनामा २६ हजार एक सय ७१ जनाले बढी हो । गत फेब्रुअरीमा ७३ हजार दुई सय ५५ जना पर्यटक भित्रिएका थिए ।

सन् २०२३ को मार्च महिनामा सबैभन्दा धेरै भारतीय पर्यटक भित्रिएका छन् । मार्चमा २५ हजार नौ सय ११ जना भारतीय पर्यटक नेपाल भित्रिएका छन् ।

त्यस्तै, अमेरिकाबाट ९ हजार पाँच सय ५७, बेलायतबाट ६ हजार एक सय ३३, जर्मनीबाट चार हजार एक सय ४९ र श्रीलङ्काबाट तीन हजार आठ सय ९८ जना पर्यटक भित्रिएका छन् ।

नेपाल घुम्न आउनेमध्ये सबैभन्दा धेरै ३३.६ प्रतिशत सार्क मुलुकका पर्यटक छन् । युरोपेली राष्ट्रहरूबाट २३.४ प्रतिशत र अमेरिकी मुलुकबाट ११.३ प्रतिशत पर्यटक भित्रिएका छन् ।

सन् २०२३ को सुरुआतदेखिको तथ्याङ्क हेर्दा पर्यटक भित्रने सङ्ख्या मासिक रूपमा बढ्दै छ ।

फेब्रुअरीको तुलनामा जनवरीमा नेपाल भित्रने पर्यटक सङ्ख्या कम थियो । जनवरीमा जम्मा ५५ हजार ७४ जना पर्यटक नेपाल घुम्न आएका थिए । यस हिसाबमा पछिल्लो समय पर्यटक आगमको सङ्ख्यामा सुधार हुँदै गएको देखिन्छ ।

सम्बन्धित समाचार