शनिबार , बैसाख २६, २०८३

धादिङ त्रिपुरासुन्दरीको जात्रा: देवीको मूर्ति छुन र हेर्न नपाइने अनौठो परम्परा

त्रिपुरासुन्दरी गाउँपालिकास्थित सल्यानकोटमा रहेको त्रिपुरासुन्दरी भगवती माईको मूर्तिलाई न कसैले हेर्न पाउँछन्, न छुन नै पाउँछन् । यतिसम्म कि भगवती माईलाई पूजारीले समेत हेर्न पाउँदैनन् ।

image

धादिङ ।  बाग्मती अञ्चलको प्रमुख जात्राहरू मध्ये धादिङको त्रिपुरासुन्दरी जात्रा पनि एक अनौठो हो । अनौठो किनभने त्रिपुरासुन्दरी गाउँपालिकास्थित सल्यानकोटमा रहेको त्रिपुरासुन्दरी भगवती माईको मूर्तिलाई न कसैले हेर्न पाउँछन्, न छुन नै पाउँछन् । यतिसम्म कि भगवती माईलाई पूजारीले समेत हेर्न पाउँदैनन् । दर्शन गर्न पुगेका भक्तजनहरूले परैबाट पूजा गर्नुपर्ने प्रचलन रहेको छ । अन्यत्र यस्तो चलन देख्न मुस्किल छ ।

एउटा बाकसभित्र भगवतीको देवीको प्रतीक मूर्ति रहेको मानिन्छ । तर देवी कस्ती छन् अहिलेसम्म न कसैले देखेका छन्, न फोटो नै हेर्न पाउँछन् । पूजारीले भने पूजाको दिनमा लुकाएर भगवतीलाई बोकेर भगवतीकै विभिन्न मन्दिरमा पुर्‍याउने गरेका छन् । त्रिपुरा भगवतीको मूर्ति कसैले छुन नपाए पनि सबै जातजातिका भक्तजनहरूले सहज रूपमा पूजाआजा गर्न पाउने व्यवस्था रहेको छ ।

भगवतीको मूर्तिलाई रानामगर थरका स्थानीय पूजारी, सापकोटा र तिमल्सिना बाहेक अरू कसैले छुन नपाउने प्रचलन यद्यपि छ । मन्दिर प्रवेश गर्ने बेलैमा रानामगर, सापकोटा र तिमल्सिनाले ‘भगवतीको स्वरूपबारे कसैलाई जानकारी गराउँदिन’ भनेर कसम खाने पुरानो प्रचलन अहिले पनि छ ।

नेपाल एकीकरणको बेला पृथ्वीनारायण साहले यसै त्रिपुरा भगवतीको आशीर्वाद पाएपछि मात्र नुवाकोट तथा काठमाडौँको विजय सम्भव भएको हो भन्ने कथन प्रचलित रहेको छ । शाह वंश राजाहरूको कुलदेवताको रूपमा मान्ने गरिएको यस मन्दिरमा लोकतन्त्र पुनर्स्थापना हुनुअघिसम्म तत्कालीन राजपरिवारका सदस्यहरू हरेक वर्ष एक पटक मन्दिरमा आइपुग्ने गरेको स्थानीय बुढापाकाहरू बताउँछन् । प्राचीन कालदेखि शाहवंशीय राजाहरूले विशेष महत्त्वका साथ यस स्थानमा पूजापाठ गर्ने गरेको तथ्य भेटिन्छ ।

एक वर्षमा तीन ठाउँमा सारिन्छ देवीलाई

त्रिपुरासुन्दरीको नेपालका अन्य जात्राभन्दा अनौठो र रोचक छ । देवीको प्रतीकलाई एक वर्षमा तीन ठाउँमा सार्ने प्रचलन रहेको छ ।

देवीलाई  मङ्सिर महिनामा तामझामका साथ माइत सारिने गरिन्छ । त्यसपछि फागुनको अन्तिमतिर वा चैते दशैंभन्दा अगाडि विशेष साइत हेरेर फेरि कोटकै मूल मन्दिरमा लगेर भित्र्याउने प्रचलन रहिआएको छ । देवीलाई कोटमा लैजाने क्रममा पनि सोही प्रक्रियाद्वारा लैजाने गरिएको छ । देवीलाई घर फिर्ता गराउने समयमा भने भक्तजनको उपस्थिति तुलनात्मक रूपमा कम हुन्छ ।

तस्बीर : कान्तिपुर

  • सोहीअनुसार सल्यानकोटमा रहेका दुई वटा मन्दिरमध्ये दशैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ । जुन देवीको मामाघरको रूपमा प्रसिद्ध छ ।
  • मङ्सिरदेखि चैत्रसम्म भगवतीलाई आगिन्चोकस्थित बेसीको मन्दिरमा राखिन्छ । उक्त मन्दिरलाई भगवतीको माइतीको रूपमा चिनिन्छ ।
  • सल्यानकोटकै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा आठ महिनाभन्दा बढी समय भगवतीलाई त्यहीँ पूजाआजा गरिने स्थानीय पुरोहित अर्जुन सापकोटाले जानकारी दिएका छन् ।

विवाहित नेपाली नारीले धेरैजसो समय आफ्नो कर्मघरमा बिताउनुपर्ने, दशैं-तिहार जस्ता चाडबाडमा मामाघर जानुपर्ने र हिउँदमा फुर्सद मिल्ने भएकाले केही बढी समय माइतीमा बस्न पाउने चलनसँग भगवतीको विभिन्न मन्दिरको बसाइँलाई तुलना गरिएकाले यस जात्राको महत्त्व अझ बढी छ ।

भगवतीलाई माइत ल्याउँदा  भक्तजनहरूले हातमा नाङ्गो खुँडा, खुकुरी र तरबार बोक्ने प्रचलन छ । दियो, कलश, शङ्ख, घण्टसहितका नरनारी, प्रहरी र भक्तजनले हाते साङ्लोको घेरा बनाउँछन् । त्यही घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति पूजारीले बोकेका हुन्छन् । त्यही प्रतिमूर्तिलाई नै त्रिपुरासुन्दरी भगवती माईको रूपमा पुकारिन्छ ।

भगवतीलाई बेसीको मन्दिरमा लैजाने साइत दशैंको टीकाको दिन हेर्ने र तिहारको भाइटीकाको दिन त्यसलाई सार्वजनिक गर्ने चलन छ । भगवतीलाई बेसीको मन्दिरमा लैजाने अघिल्लो दिन र रातभर  गाउँको मन्दिरमा भव्य मेला लाग्दछ भने  बेसीको मन्दिरमा ल्याएपछिको दुई दिन पनि उस्तै भव्य मेला बेसीमा लाग्ने गर्दछ । भक्तजनहरूले आफ्नो मनोकाङ्क्षा पूरा गराउन जात्राको दिन फूलको डोली चढाउने परम्परा रहीआएको छ ।

न्वागी जात्रा :

त्रिपुरासुन्दरी भगवती माई घरबाट माइतीमा न्वागी खान जाने परम्परा अनुसार यो जात्रा विशेष साइत हेरेर मङ्सिर महिनामा जात्रा लाग्ने गरेको छ, यसलाई न्वागी खाने मेला या न्वागी जात्रा भन्ने गरिन्छ । यस समयमा त्रिपुरासुन्दरी भगवतीलाई गाउँको मन्दिर त्रिपुरासुन्दरी गाउँपालिका वडा न. ४, सल्यानकोबाट बेसीको मन्दिर त्रिपुरासुन्दरी गाउँपालिका वडा न. ६ सल्यानबेसीमा सार्ने गरिन्छ ।

त्रिपुरासुन्दरी भगवती माइती घरमा न्वागी खान ल्याइएको फागुन महिनासम्म यही बस्ने बस्ने गर्छिन् । फागुन महिनामा साइत हेरेर पुनः त्रिपुरासुन्दरीलाई माथि आफ्नै घर लाने परम्परा अनुसार यो भव्य मेला लाग्ने गरेको जनाएको छ । भगवतीको प्रतीक बेसी झार्दा भक्तजन र पुजारीहरूले खुँडा, खुकुरी सहित पञ्चेबाजामा नाँच देखाउँदै दियो, कलश, बोकेर शङ्ख, घण्ट बजाउँदै भगवतीको जयजयकार गाउँदै अबीर जात्रा गर्ने गर्छन् ।

तस्बीर : कान्तिपुर

बेसीको मन्दिरमा पूजापाठ गरेर नयाँ धानको चामलमा बनाइएको न्वागी खाएपछि न्वागी जात्रा सकिने गर्दछ । स्थानीयहरूका अनुसार देवीलाई न्वागी नचढाएसम्म नयाँ धानको चामलबाट कुनै परिकार नखाने चलन समेत छ । यस जात्रालाई माई स्थान जात्रा वा सल्यानवेसी जात्रा समेत भन्ने गरिन्छ ।

जिल्ला सदरमुकाम धादिङबेसीबाट चालिस किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला नुवाकोट,चितवन, काठमाडौं लगायतका मानिसहरू पनि आउने गर्दछन् ।

 

तस्बीर : कान्तिपुर

Tags:

सम्बन्धित समाचार