शुक्रबार , साउन २२, २०८३

उहिलेका भरिया र अहिलेका भरिया

‘‘हाम्रा त छोराछोरीलाई पढाउने पेशा पनि यही हो, अब यो सडकले हाम्रो पेशा जोखिममा परिसक्यो, त्यसपछि के गरेर कमाउने ?’’

image

  • विवश कुलुङ राई

“उहिलेका भरियाहरू साहुको भारीमाथि पनि बाटोका लागि खानेकुरा, खाना पकाउने भाँडा र ओढ्ने ओछ्याउने कपडा बोक्थे । नाम्लो र खकानले मात्र नभ्याएपछि तोक्माको सहाराको समेत खाँचो पर्थ्यो । तर समय फेरिएको छ । अहिलेका भरियाहरूले न खानेकुरा बोक्नुपर्छ, न बासको समस्या हुन्छ, जहाँ पुग्यो त्यहीँ बस्न पाइन्छ । ठाउँ-ठाउँमा बिसाउने चौतारो निर्माण भएका कारण अहिले त तोक्माको समेत जरुरत पर्दैन ।”

भरियाको दुःखको कुरा गर्नसाथ पाका भरियाहरू यसै भन्न थाल्छन् । प्रायः मानिसले दुःखको पेशा भनिने गरेको भरिया पेशा यी पाका भरियाको कुरा सुन्दा भने वर्तमान समयमा सजिलै रहेछ भन्ने दर्शाउँछ ।

हुन पनि कुनै समय दोलखाको मैनापोखरी र उदयपुरको कटारीदेखि नुन र चामलको मुरीका मुरी भारी बोकेरै जहान परिवार धानेका बुढापाकाहरु अहिलेका पुस्ताले त्यत्तिको दुःख झेल्नुपरेको भए जीवनदेखि हारेर मर्ने चुनौति दिन्छन् ।

‘‘मुरीको भारीमाथि ओढ्ने ओछ्याउने कपडा, भाँडाकुडा र यात्राभरिका लागि आवश्यक सामलतुमल बोक्नुपरेका उनीहरूले लगभग २४ पाथीको भारी बोक्नुपर्थ्यो । भनेको ठाउँमा खाना पकाउन नपाइने, बास पनि सबैले दिन मान्दैनथे । अधिकांश बास ओढारमै हुने र उनीहरूलाई कथंकदाचित कसैले बास दिइहाले भने पनि भरिया भनेर हेप्ने गर्थे ।’’ उनीहरुको कुरा सुन्दा यस्तै लाग्छ ।

शुरुमा दोलखाको मैनापोखरीदेखि महिनौं लगाएर नाम्चेसम्म भारी बोकेका सोताङका धनबहादुर योन्जन भन्छन्, ‘‘जिरीसम्म मोटर आएपछि जिरीदेखि भारी बोकेँ, थोरै भए पनि नजिक भएको महसुस त गरेँ तर, भारीसँगै सामलतुमल र पकाउने भाँडाकुडा बोक्नुपर्ने चलन भने हटेन ।’’

यता कटारीको बाटो पनि सरेर अलि वर आयो । उदयपुरकै घुर्मीसम्म गाडी त आयो तर, हर्कपुरदेखि १७-१८ दिन लगाएर भारी बोक्नुपरेका उनीहरुको जीवनशैलीमा भने कहिल्यै परिवर्तन आएन । बल हुन्जेलसम्म मुरीका भारी बोकेर बालबच्चा पालेका उनीहरू भारी बोक्न नसक्ने भएपछि घरमै थन्किएका छन् र कुराकानीका क्रममा पहिलेको भारी बोक्ने पेशा र अहिलेको भारी बोक्ने पेशाका बीच तुलना गर्छन् । भन्छन्, ‘‘अहिलेको भरिया र उहिलेको भरियामा आकाश पातलको फरक छ ।’’

‘‘उहिलेका भरिया एकातर्फी बीस दिनसम्म त निरन्तर भारी बोक्थे । अहिलेका भरिया पाँचदेखि सात दिनभन्दा धेरै लगातार भारी बोक्न सक्दैनन् । उहिलेका भरियाले बाटोका लागि आवश्यक पर्ने सामलतुमल, पकाउने भाँडाकुँडा र कपडा बोक्थे अनि अधिकांश वास ओढारमै हुन्थ्यो । अहिलेका भरियाले खाजा समेत बोक्दैनन् । होटलमा पसेर खाजा खान सजिलो ठान्छन् तर, आफूले बोकेको खाजा खान उनीहरू अफ्ठ्यारो मान्छन् । खाना पनि होटलमै खान्छन् र होटलमै सुत्छन् ।’’ बल हुञ्जेल भारी बोक्ने पेशा नै अपनाएर वृद्ध भइसकेका गुदेलका पञ्चराम कुलुङले स्वर कमाउँदै भने ।

सय वर्ष अन्तरालको भरिया पेशाको विकासक्रमलाई तीन भागमा बाँडेर हेर्ने हो भने भरियाको जीवनशैली कति परिवर्तन उन्मुख छ भनेर थाहा पाउन सजिलो हुने पञ्चरामको भनाई छ । ‘‘शुरुका पचास वर्ष सवारी साधनबीनाको भरियाको अवस्था, त्यसपछिको पैतालीस वर्ष सवारी साधन र विस्तारै परिवर्तन हुँदै गरेको सूचना प्रविधिको विकासक्रमको अवस्था र पाँच वर्ष यताको भरियाको जिन्दगी पूरै आधुनिकतातिर उन्मुख छ’’, पञ्चरामले भने ।

भरिया पेशामै जुनी बिताएका पञ्चराम कुलुङकै भनाइमा शुरुका पचास वर्षमा भरिया पेशा अपनाएकाहरू धेरै हुन्थे । लामो बाटो महिनौँ लगाएर भारी बोक्नुपर्ने भएकाले मानिसका आवश्यकता आपूर्ति गर्नका लागि पनि त्यति नै भरियाको खाँचो पर्थ्यो र धेरैले पैसाको मुहार देखिरहने पेशाको रूपमा भरिया पेशा नै सम्झन्थे । त्यो बेलाको भारी बोक्ने पेशा अति नै कष्टकर थियो । महिना दिन भारी बोक्दा पनि उनीहरूको हातमा सय रुपैयाँ पर्न पनि मुश्किलै हुन्थ्यो ।

त्यसपछिका पैतालीस वर्षको अवधिमा देशका केही भागमा सडक निर्माण भए । गाडी गुड्न थाले । जसका कारण भरियाले भारी बोकेर पार गर्नुपर्ने दूरी कम हुँदै गयो । देशमा केही विकास निर्माणका कामहरू सुरु भएपछि कतिले भारी बोक्ने पेशालाई त्याग्दै पनि गए । जत्ति भरियाले यो पेशालाई अँगालिरहे, उनीहरूको व्यक्तिगत जीवनशैली भने विस्तारै फेरिँदै गयो । फलस्वरुप ओढ्ने, ओछ्याउने र भाँडाकुँडाका सट्टा टेपरेकर्ड र साउडबक्स् बोक्न थाले । करीब सात आठ वर्षअघि भरिया हिँड्ने बाटोहरू यस्तो हुन थालेका थिए कि मानौँ त्यो गीति क्यासेटहरू बिक्री गर्ने स्थल हो वा गीत बजाएर नाचगान गर्ने कार्यक्रम थलो ।

समयले कोल्टे फेर्यो । भरियाले बाटो सार्नका लागि सहायता लिएका संगीतका साधनहरू वाल्कमेन, टेपरेकर्डर, साउण्डबक्स विस्तारै विस्थापित भए र त्यो ठाउँ मोबाइलले लिन पुग्यो । अहिले त उनीहरू गीत सुन्नु परे मोबाइलमा मेमोरी हालेर नयाँ नयाँ गीत सुन्छन् । होटलमा अगाडि नै खाना तयार पार्न होस् वा साथीभाइ संग सरसल्लाह गर्न मोबाइलकै प्रयोग गर्छन् ।

‘‘पहिलेका भरियाहरु जस्तो मरी-मरी भारी बोक्दैनन्”, अहिलेका भरिया केरुङ सोलुखुम्बुका माइला बम्जन गफिन थाले, “उनीहरूले भारी बोकिहालेमा पनि पहिलेको जस्तो कष्टकर पटक्कै छैन, हामीले बास बस्न प्रयोग गरेका ओढारहरूमा अहिले कोही बस्दैनन् । त्यो बेला ओढारमा बस्ने ठाउँ नपुगेर झगडा समेत पर्थ्यो ।’’

बम्जनका अनुसार भारी बोक्नेहरूले पहिलेका भरिया जस्तो जीउ नै माया मारेर भारी नबोक्ने मात्र होइन, भारी बोक्ने तरीका समेत बदलेका छन् । अहिलेका भरियाले भारी त बोक्छन् तर ढाकरमा खकान हुदैन । एकादुईले तोक्मा प्रयोग गरे मात्र, नत्र तोक्मा समेत त्यागिसकेका छन् ।

भरियाकै भरमा सामान ओसारपसार गर्ने बेला बाटाबाटामा बनाएका पाटीपौवा र ओढारहरू हिजोआज गाईभैंसीले ओत लाग्ने स्थानको रूपमा प्रतिस्थापित भएका छन् । जो ओढारमा वा पाटीमा बास बस्छन्, उनीहरुलाई असभ्यको भिल्ला भिराइन्छ अहिले । त्यसैले पनि वर्षौं पहिले ओढारमै सुतेका भरियाहरु पनि ओढारमा बास बस्न चाहँदैनन् । पहिले पहिले बास बसेको ठाउँको हैसियतले माया लागेको भए पनि ओढारमा बस्दा अरूले गिल्ला गरेका कारण सरासर होटलतिरै हान्निने गरेको भरिया आसमान राई बताउँछन् ।

सडकले थन्क्याउदैछ भरिया पेशा

जिरीबाट सगरमाथा जाने पैदलयात्रीका भारी बोक्ने भरियाहरू स्याङबोचेको हेलिकप्टर उडानले बेराजगार भए । उदयपुरको कटारीदेखि ओखलढुङ्गा सदरमुकामसम्म गाडी चलेपछि हर्कपुर ओखलढुङ्गा सोलुखुम्बु भारी खेप्ने भरियाहरू ओखलढुङ्गा सोलुखुम्बुमै सीमित भएका थिए ।  झनै, जिरी हुँदै रामेछापको भण्डारसम्म सवारी साधन आएपछि भण्डार—नाम्चे भारी बोक्ने भरियाहरू अहिले ओखलढुंगा सोलुखुम्बु सडकले जोडेपछि यतै सारिएका छन् ।

ओखलढुङ्गा सल्लेरी भारी बोकेर जीविकोपार्जन गर्दै आएका भरियाहरु पनि सदरमुकाम केन्द्रित भएका छन् । उनीहरू अहिले खच्चडले बोक्न नमिल्ने भारीहरू: जस्तापाता, बिस्कुट, चाउचाउ जस्ता सामग्रीहरू सल्लेरी—नाम्चे, सल्लेरी—बासा, सल्लेरी—सोताङ्ग, नेले—जुबु, तथा नेले—सोताङ, र नेले—छेस्काम भारी बोक्नमै ठिक्क भएका छन् ।

करीब दुई वर्ष पहिले नै ओखलढुङ्गा—सल्लेरी जोडिएको सडक विस्तारै गाउँ-गाउँमा विस्तार हुने क्रम र निकट भविष्यमा गाउँसम्मै सडक पुग्ने कुराले उनीहरू विचलित भएका छन् । खासगरी भारी बोक्ने पेशा अपनाई जहान परिवार धान्दै आएका भरियाहरु यसबाट त्रस्त छन् । मोटरबाटो गाउँसम्मै पुग्ने खबरले जो कोहीलाई खुशी तुल्याए पनि मोटरबाटो बनेमा आफूहरूको रोजगारी गुम्ने डरले उनीहरू चिन्तित बनेका हुन् ।

ओखलढुङ्गा केत्तुकेका रामे तामाङ सदरमुकाम सल्लेरी हुँदै जुभिङसम्म मोटरबाटो पुग्ने कुराले चिन्तित छन् । मोटरबाटोले भारी खेप्ने गन्तव्य परिवर्तन गर्दै आएका तामाङ्ग कुनै समय जिरीदेखि नाम्चे भारी खेप्ने गर्थे । जिरीदेखि सिधै स्याङबोचे विमानस्थलमा हेलिकप्टर चलेपछि उनले कटारी, ओखलढुङ्गा नाम्चे भारी बोक्ने यात्रा तय गरेका थिए । सडकले खुम्च्याउँदै ल्याएको उनको बाटो विस्तारै घुर्मी—नाम्चे, हर्कपुर—नाम्चे, ओखलढुङ्गा—नाम्चे हुँदै अहिले आएर सल्लेरी नाम्चेमा सीमित भएको छ ।

सल्लेरीदेखि नेलेसम्म सडक पुगेपछि सल्लेरी—छेस्काम भारी ओसार्ने छेस्कामका विर्खराज कुलुङ गाडीकै पछाडि दौडिएर नेले पुगेका छन् । विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रमले छेस्कामसम्म सडक पुर्याउने हल्लाले यतिबेला विर्खराज जस्ता कैयौंलाई बेचैनी भएको छ । सल्लेरी—रातनाङ्गे—घुम्नेमेरा—बासा सडक यसैवर्ष जोडेपछि सल्लेरी—बासा भारी खेप्ने वाकुका चमर मगर जस्ता धेरैको भारी बोक्ने पेशाको अन्त्य भएको छ । अब उनीहरूको लागि आफ्नो जीवनमा भारी बोकेको स्मरण भन्दा बढ्ता केही हुने छैन । किनकि अब उनीहरूले भारी बोक्ने पेशा अंगाल्न पाउने छैनन्, उनीहरूसँग भारी बोक्ने पेशाको प्रमाणको रुपमा आफूहरूले प्रयोग गरेको तोक्मा, खकान लगाएको ढाकर भन्दा अरू केही छैन ।

खुला आकाशमुनि थाप्लोको भरमा पुषको कठङ्ग्रिने जाडो होस् या जेठको टन्टलापुर घाम अथवा असार साउनको मुसलधारे वर्षात् नै किन नहोस् ? दुई कुममा खकान, एक हातमा तोक्मा र टाउकोमा नाम्लो अड्याएर आफूलाई पूरै किच्ने गरी खाँदिएको भारी बोकेर पसिनाले निथ्रुक्कै भिजेको शरीरलाई दिनभर अगाडि बढाउनु पर्ने भारी बोक्ने काम त्यति सजिलो हुँदैन । तर उनीहरुलाई यी मौसमी झन्झट र पीडा भन्दा पनि सडकले रोजगार खोसिन्छ भन्ने चिन्ताले बढी सताएकाे छ । उनीहरू भन्छन्, ‘‘हामीलाई त गाडीले पेलेर अब घरकै आँगनमा धकेलिसक्यो, अर्को सालदेखि त काम पनि पाइँदैन होला ?’’ आफूहरूले नपढेका कारण दुःख पाएको बताउने छेस्कामका सौबीर कुलुङ भन्छन्, ‘‘हाम्रा त छोराछोरीलाई पढाउने पेशा पनि यही हो, अब यो सडकले हाम्रो पेशा जोखिममा परिसक्यो, त्यसपछि के गरेर कमाउने ?’’

पेशा विस्थापित हुन लागेकोमा चिन्ता व्यक्त गर्ने अर्का भरिया वीरमान भुजेल भन्छन्, ‘‘हामीले जानेकै भारी बोक्ने काम थियो, अब भारी बोक्ने काम पनि पाइएन भने हाम्रा जहान परिवार कसरी पाल्ने ?’’

हुन पनि उनीहरूको पक्षमा विचार पुर्याउने कोही छैन । भरिया पेशा नै विस्थापित भएमा उनीहरुको वैकल्पिक पेशाका बारेमा सोच्ने कोही छैन । छोटो बाटो नै किन नहोस् उनीहरूले पाउने उचित ज्यालाका बारेमा बोलिदिने पनि कोही छैन । उनीहरूको पक्षमा बोलिदिने कुनै पनि संगठन नभएकै कारण उनीहरू पारिश्रमिकबाट पनि ठगिएका छन् ।

काम गर्ने स्थान, अवधि र रोजगारदाताको स्थायित्व पनि छैन । यही बाध्यताका कारण उनीहरू जति पायो त्यत्तिमै काम गर्ने मनस्थितिमा पुगेका छन् । उनीहरुको कुरा सुन्दा ज्याला कम पाइयो भन्ने भन्दा पनि भोलिका दिनमा भारी बोक्ने काम बन्द हुने हो कि भन्ने चिन्ताले ग्रसित देखिन्छन् । कतिपय भरियाहरूको ढाकर थन्किएबाट उनीहरुको पेशा जीवित नरहने सम्भावना पनि प्रशस्तै छ ।

आफ्नो गाउँको विकास होस्, बिजुली, मोटरबाटो, रोपवे आदि पुगोस्, गाउँ झिलीमिली होस् भन्ने उनीहरू पनि चाहन्छन् । ‘‘बिहान बेलुकी हातमुख जोड्ने समस्याको समाधान होस्, छोराछोरी शिक्षित हुन्, सीप सिकुन् र वैकल्पिक रोजगारीको सिर्जना होस्, भारी नै बोक्नुपर्ने विवशता नदोहोरियोस्, हाम्रा श्रीमतीले सुत्केरी भएको महिना दिन नबित्दै भारी बोकेर हिड्न नपरोस्’’, धेरैजसो भरियाहरु जानी नजानी यही कुरा व्यक्त गर्छन् ।

चेतनाले नछोएका र अत्यन्तै जोखिमपूर्ण जीवन बिताइरहेका भरिया समुदायको लागि वैकल्पिक व्यवसायको व्यवस्था गर्न सक्नुपर्छ । विकासले कसैको गाँस खोसिनुहुन्न । यसो भएमा मात्र गाउँसम्म सडक पुगेकोमा, हवाई मैदान बनेकोमा र हेलिकोप्टर चलेकोमा अन्य नागरिक सरह भरिया समुदायले समेत खुसी व्यक्त गर्ने दिन आउनेछ ।

कम आम्दानी बढी खर्च

सूचना प्रविधिको बढ्दो विकासले भरियाको जिन्दगीलाई सहज बनाए पनि उनीहरूको कमाइले धान्न मुश्किल परिरहेको छ । प्रविधिको विकासले खर्चमा ल्याएको बढोत्तरीका कारण स्वयं भरियाको जीवनशैलीमा परिवर्तन आए पनि उनीहरूको पूरै परिवारले भने अभावग्रस्त जिन्दगी जिउनु परेको छ । भन्छन्, ‘‘तीन महिनामा तीन हजार रुपैयाँ पनि घर पुर्याउन सकदेनौं, मासिक एक हजार रुपैयाँले हाम्रा परिवारले कसरी घर खर्च धान्न सकोस् र ?’’

खासगरी मोबाइलका कारण उनीहरुको कमाइको तुलनामा खर्च बढिरहेको छ । सदरमुकाम सल्लेरीबाट भारी बोक्दा सात दिनको अवधिमा पाँच हजार रुपैयाँसम्म कमाए पनि प्रत्येक तीन दिनको फरकमा सय रुपैयाँ रकम सक्ने गरेको सोताङ्ग सोलुका भरिया पदम नाछिरीङ्गको भनाई छ । प्रायः दिउँसोको खाना अर्डर गर्न र बासको निधो गर्न तथा पर्देशीको सुखदुःखको खबर परिवारलाई सुनाउन उनीहरु मोबाइल प्रयोग गर्छन् ।

रिचार्जकार्ड बाहेक उनीहरुले मेमोरी कार्ड भर्नका लागि पनि उत्तिकै खर्च गर्छन् । बजारमा आउने नयाँ नयाँ गीत भरिरहन मन लाग्ने र यसका लागि प्रति गीतको तीन रुपैयाँले महिनामा तीन सय रुपैयाँ जत्ति गीतमै खर्च हुने विगत दश वर्षदेखि भारी बोक्दै आएका लोखिमका जीवन तामाङ बताउँछन् । संगीत भए बाटो काट्न सजिलो हुने र यसका लागि मोबाइलको मेमोरी कार्डमा गीत भरेर सुन्ने गरेको उनको भनाइ छ । शुरुका दिनहरुमा सानो वाकमेनमा गीति क्यासेट हालेर साउण्ड बक्स मार्फत् ठूलो आवाज बनाएर सुन्दै आएका जीवनले मोबाइलमा सुन्न थालेको डेढ वर्ष मात्र भएको बताए ।

गीत नबजाई हिँड्दा बाटो काट्न बढी समय लाग्ने भएकाले गीतका लागि खर्च गरेर गीत बजाउँदै हिँड्दा नै फाइदा पुग्ने उनको धारणा छ । ‘‘गीत नबजाई हिँड्दा पाँच दिन लाग्ने बाटो सात दिन लाग्न सक्छ । बरु गीत बजाउँदै हिँड्दा बचेको दुई दिनमा गीत किन्न पुग्ने पैसा त कमाइन्छ’’, जीवनले बताए ।

भरियाको संगठन छैन

भरियाकै हकहितका लागि आवाज उठाउने कुनै संगठित संस्था छैन । अखिल नेपाल ट्रेड युनियन मजदुर संघ भनेर गठन त भएको छ तर, त्यसले सबै भरियाहरुलाई समेटेर लैजान नसकेको ट्रेकिङ्ग भरिया सुन्दर कुलुङ्ग बताउँछन् । संगठन नभएका कारण आफूहरूले भरियाको साझा समस्या उठाउने गरेको भए पनि सुनुवाई नभएको र कम पारिश्रमिकमै भारी बोक्नुपरेको उनको दुःखेसो छ ।

संगठन नभए कुनै पनि कुराको सुनुवाई नहुने भन्दै उनले ट्रेकिङ भरियाहरूको साझा समस्याको हल गर्नका लागि भरिया एकताको आवश्यकता औँल्याए । भरियाको हकहितका लागि बन्ने त्यस्तो संगठन राजनीतिक पार्टीको भ्रातृ संगठनको रूपमा नभई सारा भरियाको साझा संगठन हुनुपर्ने उनको तर्क छ । कुलुङका अनुसार उच्च हिमाली क्षेत्रमा जाँदा भरियाहरु लेक लागेर मृत्यु हुने हुँदा दुर्घटना बीमा, चित्तबुझ्दो पारिश्रमिक, बिरामी पर्दा औषधी उपचारको व्यवस्था लगायतका माग भरियाका साझा मागहरू रहेका छन् ।


यो पनि पढ्नुहोस्,

भरियाको दु:ख कम भएन मनसरा !

सम्बन्धित समाचार