बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयले रायका लागि सार्वजनिक गरेको पर्यटन नीतिको खाकामा 'ग्रामीण पर्यटनलाई पर्यटन व्यवसायको उपक्षेत्रको रूपमा अघि बढाइने' उल्लेख छ ।
काठमाडाैं । बागमती प्रदेश सरकारले ग्रामीण पर्यटनलाई पर्यटन व्यवसायको उपक्षेत्रको रूपमा अघि बढाइने भएको छ । बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयले रायका लागि सार्वजनिक गरेको पर्यटन नीतिको खाकामा ‘ग्रामीण पर्यटनलाई पर्यटन व्यवसायको उपक्षेत्रको रूपमा अघि बढाइने’ उल्लेख छ ।
पर्यटन क्षेत्रको लाभलाई ग्रामीण तहसम्म पुर्याउन होमस्टेलाई एक प्रमुख माध्यमको रूपमा विकास गरिने भएको छ । जैविक कृषि तथा होमस्टेसहितको कृषि पर्यटनलाई बढावा दिने कार्यक्रम सञ्चालन गरिने पर्यटन नीतिको खाकामा उल्लेख छ ।
त्यसैगरी प्रदेश सरकारले घरेलु तथा हस्तकलाको प्रवर्द्धन गरी आयआर्जनको लागि बजारीकरणको सुविधा विस्तार गरिदिने भएको छ ।
नीतिको खाकामा भनिएको छ, “स्थानीय समुदायहरूद्वारा उत्पादित मौलिक परम्परागत हस्तकला तथा अन्य उपहार सामग्रीको बिक्री वितरणको लागि बजार व्यवस्थापनको उचित प्रबन्ध मिलाइने छ ।”
नयाँ पर्यटन नीतिको खाकाअनुसार ‘पर्यटकलाई आकर्षण गर्न सक्ने स्थान विशेषका स्थानीय कृषि उत्पादनमा विशेष सहयोग गरी बजारीकरणको सहजीकरण सरकारले गर्ने व्यवस्था मिलाइने’ छ ।
विकास प्रक्रियामा समेट्न नसकिएका महिला, मधेसी, दलित, आदिवासी जनजाति लगायतका विपन्न समूह समेतमा पर्यटन व्यवसायबाट प्राप्त लाभको बाँडफाँड गर्न समावेशी र सहकारीको माध्यमबाट उपयुक्त संरचनाको निर्माण र विकास गरिने भएको छ ।
त्यसैगरी स्थानीय उत्पादनलाई पर्यटन प्रवर्धनसँग आबद्ध गरी पर्यटनबाट प्राप्त लाभलाई स्थानीय समुदायसम्म पुर्याउने प्रबन्ध मिलाइने भएको छ । साथै महिलाको नेतृत्वमा वा महिला समूहद्वारा सञ्चालन गरिने पर्यटकीय क्रियाकलापहरूलाई विशेष प्रोत्साहनसहित प्रवर्धन गरिने भएको छ ।
ग्रामीण क्षेत्रका पर्यटकस्थलबाट प्राप्त भएको आम्दानी निश्चित हिस्सा स्थानीय स्तरमा पर्यटन पूर्वाधार, वातावरण संरक्षण लगायत सामाजिक क्षेत्रमा खर्च गर्ने व्यवस्था पनि मिलाइने भएको छ ।