शुक्रबार , जेठ १५, २०८३

भिटाेफ गण्डकी प्रदेशको आठौँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न 

image

काठमाडाैं ।  गाउँ पर्यटन प्रवर्द्धन मञ्च  (भिटाेफ) नेपाल गण्डकी प्रदेशको  आठौँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ । गण्डकी प्रदेशको राजधानी पर्यटकीय नगरी पोखरा-२२, भुम्दीस्थित ‘भुम्दी टुनार सामुदायिक हाेमस्टे’मा फागुन १३ गते शनिवार साधारण सभा सम्पन्न भएको हाे ।

साधारण सभामा बोल्दै भिटाेफ नेपालका अध्यक्ष गोपाल थापाले भिटाेफ नेपालको इतिहास, यसले गर्दै आएका कार्यहरूबारे जानकारी दिएका थिए ।

भिटोफ नेपालले गण्डकी प्रदेशमा विगत ५/६ वर्ष देखि नेपाल सरकार, प्रदेश सरकार र पोखरा महानगरपालिकासँग नजिकमा रहेर गाउँ र ठाउँको पर्यटन प्रवर्द्धन, होमस्टे प्रवर्द्धन क्षमता अभिवृद्धि तालिम, होमस्टे मार्ट आन्तरिक भ्रमण वर्ष २०१९, अभिमुखीकरण तालिम, फाम ट्रिप लगायत थुप्रै कामहरू गर्दै आएको अध्यक्ष थापाले बताए ।

अध्यक्ष थापाले भिटाेफका कार्यक्रम र अभियानलाई सफल पार्न स्थानीय सरकार, पर्यटन बोर्ड पोखरा, पर्यटन क्षेत्रमा कार्यरत  विभिन्न सङ्घ सङ्गठनहरूको भूमिका रहेको भन्दै सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् । साथै आमजनताको घर आँगनको पर्यटकीय सम्पदा वस्तुलाई प्रचारप्रसार गरी  बजारीकरण गरिदिएको भन्दै सञ्चारकर्मी र सञ्चारमाध्यमहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।

भूकम्प, कोभिड-१९ का साथै धेरै कारणले शिथिल भएको पर्यटन क्षेत्रलाई पुनः पुर्ववत रूपमा फर्काउन अब उद्यमीहरू पुनः एक पटक जुट्न जरुरी रहेको उनले बताए । अध्यक्ष  थापाले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सबै सरोकारवाला निकायहरू, निजी क्षेत्र, समुदाय एवम् गैरसरकारी संस्था लगायत लाई परिचालित गरी अगाडी बढ्न आह्वान गरेका छन् ।

अध्यक्ष थापाले भिटाेफ नेपालले नेपालको प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता, सम्पदा, कला र गला तथा आतिथ्यताका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटकहरूको मन जित्ने कार्यक्रम ल्याउने र यसले गण्डकी प्रदेशको मात्रै नभएर सिङ्गो नेपालको पर्यटन क्षेत्रलाई उकास्न टेवा पुर्‍याउने विश्वास र प्रतिबद्धता व्यक्त गरेका छन् ।

भिटाेफ गण्डकीका अध्यक्ष उदय सुबेदीको अध्यक्षता, गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे साधारण सभा कार्यक्रमकाे सञ्चालन भिटाेफ गण्डकी सचिव, सुशिला भण्डारीले गरेकी हुन् ।

कार्यक्रममा भिटाेफ नेपालका द्धितीय उपाध्यक्ष नमराज थापा, भिटोफ कास्की जिल्ला संयोजक प्रकाश गुरुङ, भुम्दी टुनार सामुदायिक होमस्टेका अध्यक्ष रामबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष राधा गुरुङ, भिटोफ–नेपाल, गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा पोखरा पर्यटन परिषद्का उपाध्यक्ष तारानाथ पहारी, पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष कृष्ण भण्डारी, भिटाेफका सल्लाहकार प्राडा प्रेम शर्मा, भिटोफ– नेपाल गण्डकी प्रदेशका सल्लाहकार टीकाराम सापकोटा र संस्थाकी उपाध्यक्ष शोभा अधिकारी लगायत अतिथिहरूकाे उपस्थिति थियो ।

सम्बन्धित समाचार