नयाँ वर्षको दिन, काठमाडौंको माइतीघर मण्डलामा केही युवाहरूको पोस्टर र पम्पलेट बोकेर भुईँमा बसिरहेका छन् । बाटोमा हिँड्नेहरू एक पटक रोकिएर उनीहरूतिर हेर्छन् र आफ्नो बाटो लाग्छन् । ‘ढाड दुख्दा लाउने बेल्ट आयो, बेल्ट आयो..’ हात भरी ढाडमा लगाउने बेल्ट बोकेर एक व्यक्ति माइतीघरबाट थापाथलीतिर लाग्छन् । बेल्ट बोक्ने दाइ र ती सडकमा बसिरहेका युवाको कथा उस्तै छ ।
बेल्ट बोक्ने दाइ पनि बिरामीकै सेवाको लागि नयाँ वर्ष पनि नभनी हिँडिरहेका छन् भने ती युवाहरू पनि बिरामी र अस्पतालको सुधारका लागि लडिरहेका छन् ।
लामो समयदेखि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको बेथिति विरुद्ध गत ८ दिनदेखि युवाहरू सडकमा छन् । उनीहरूले यो शान्तिपूर्ण आन्दोलनलाई ‘सेभ घोपा क्याम्प‘को नाम दिएका छन् । काठमाडौंसँगै धरानमा विगत १३ दिनदेखि र पोखरमा तीन दिनदेखि हरेक दिन शान्तिपूर्ण आन्दोलन भइरहेको छ ।
हामी नेपाल संस्थाको अगुवाइमा घोपा बचाउ अभियानको घोषणा गरी युवाले दिउँसो ४ बजेदेखि ६ बजेसम्म काठमाडौँ माइतीघर, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेन्टल गेट अगाडिको सडकमा र पोखराको सहिद चोकमा शान्तिपूर्ण आन्दोलन गरिरहेका छन् ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानवासीहरूका लागि ‘घोपा क्याम्प’ नामले चिनिन्छ । पहिलेको घोपा गाउँ पञ्चायत र बाँझगरा गाउँ पञ्चायत मिलेर धरान बनेको थियो । घोपा क्षेत्रमा ब्रिटिस लाहुरे भर्ती केन्द्र खुलेपछि त्यसलाई ‘घोपा क्याम्प’ भन्न थालियो । भर्ती केन्द्र पोखरा सरेपछि २०५० सालमा त्यो ठाउँमा प्रतिष्ठान स्थापना भयो । तर, स्थानीयवासीले त्यसलाई घोपा क्याम्प भन्न छाडेनन् ।
हुन त गत असार १ गतेदेखि प्रतिष्ठानको बेथिति र अनियमितताबारे अस्पतालका चिकित्सक, कर्मचारी र नागरिक समाजले आन्दोलन गर्दै आएका थिए । तर, यो पटक धरानका स्थानीय पनि आन्दोलित भएका छन् ।
यो अभियानलाई नाम दिने सुदन गुरुङ केही दिन अघि धरानस्थित अस्पताल पुग्दा इमर्जेन्सीका बिरामी भुईँमा थिए । बिरामी बोक्ने ट्रली नभएर आफन्तहरूले बिरामीलाई बोकेर सारिरहेका थिए । अस्पतालमा यो दुर्गति देखेर उनी छक्क परे । उनले अस्पताललाई आफूले केही सहयोग गर्न सक्ने कुरा एक डाक्टरलाई बताए । तर, अस्पतालको सहयोगको लागि आएको सामान प्रशासनले बेचिदिने कुरा डाक्टरबाट सुनिसकेपछि उनी झन् अचम्ममा परे ।
यसअघि पनि भएका आन्दोलन र आन्दोलनपश्चात् छानबिन समितिले बुझाएको प्रतिवेदनको अध्ययन गरिसकेपछि उनले अब अर्को आन्दोलन नगरी नहुने देखे । ‘देशको यती ठुलो अस्पतालमा बेथिति हुँदा चुप लागेर नबसौँ’ भनेर धरानवासीलाई पनि जगाएको उनी बताउँछन् ।
अहिलेको आन्दोलनले प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि मापदण्ड तोकेर सक्षम व्यक्तिलाई नियुक्त गर्नुपर्ने, पदीय जिम्मेवारी पूरा नगर्ने पदाधिकारीले राजीनामा दिनुपर्ने, भ्रष्टहरूलाई कानुन अनुसार कडा कारबाही गर्नुपर्ने, उपचार सेवामा अत्यावश्यक पर्ने उपकरणको टेन्डर गरेर चाँडो खरिद गर्नुपर्ने र प्रक्रिया पारदर्शी बनाउन सम्पूर्ण विवरण वेबसाइटमा राख्नुपर्ने, वैकुण्ठ अर्यालको नेतृत्वमा तयार गरिएको समस्या पहिचान तथा छानबिन कार्यदलको प्रतिवेदन तुरुन्त लागू गर्नुपर्ने, हरेक विभाग व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्ने फार्मेसी पूर्णरूपमा सञ्चालन गरेर आवश्यक पर्ने औषधी सहज रूपमा उपलब्ध हुने वातावरण तयार गर्नुपर्ने लगायत माग गरेका छन् ।
यी सबै समस्या समाधान नभएसम्म आन्दोलन जारी रहने गुरुङ बत्ताउँछन् ।
हुन त २०७० सालदेखि नै प्रतिष्ठानभित्र व्याप्त अनियमितता छानबिन हुनुपर्ने भन्दै विभिन्न किसिमका आन्दोलन भएका थिए । ती आन्दोलनहरू वार्ता र सम्झौतामा टुङ्गिँदै आए पनि सम्झौता अनुसारको काम भने अहिलेसम्म भएको छैन ।
प्रतिष्ठानको बेथिति र अनियमितताबारे छानबिन गर्न आधा दर्जनभन्दा बढी समिति बनिसके ।
चार वर्ष पहिले प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव केदार बहादुर अधिकारीको संयोजकत्वको छानबिन टोलीले नीतिगत र आर्थिक अनियमितता ठहर गरेको थियो । त्यसको एक वर्ष पछि तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वको टोलीले उक्त प्रतिष्ठानमा देखिएको बेथिति र भ्रष्टाचारबारे छानबिन गरेका थिए । २०७८ को साउनमा प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव वैकुण्ठ अर्यालको संयोजकत्वको कार्यदलले प्रतिष्ठान सुधारका लागि पुससम्मको समय सीमा निर्धारण गर्यो ।
त्यसको एक महिनापछि चिकित्सा शिक्षा आयोगका सदस्य जगदीशप्रसाद अग्रवालको नेतृत्वमा फेरी अध्ययन टोली गठन भयो । उक्त अध्ययन टोलीले चिकित्सा शिक्षा ऐनको प्रावधानअनुसार पदाधिकारी नियुक्त गर्न सुझाव दियो ।
भदौमा नै नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष नारायणविक्रम थापाको नेतृत्वमा एक अध्ययन टोली बनेको थियो । उक्त टोलीले पनि प्रतिष्ठानको स्वास्थ्य सेवा विस्तार खस्किएको बतायो ।
गत कात्तिकमा स्वास्थ्यमन्त्री तथा सहकुलपति विरोध खतिवडाको संयोजकमा फेरी अर्को छानबिन समिति बन्यो । त्यो समितिले त्यहाँका पदाधिकारीलाई कारबाहीको सिफारिस गर्दै सिनेट बैठकको माग गर्यो तर, बैठक रोक्न प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरी र निर्देशक गौरीशङ्कर शाह सर्वोच्च अदालत पुगे । सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश जारी भएपछि कारबाहीको सिफारिस रोकिएको छ ।
हरेक दिन काठमाडौँमा भइरहेको आन्दोलनमा सहभागी हुने प्रतिका महर्जनले यो आन्दोलन हामी सबैको लागि भएको बताइन् । ‘ हामीले दिएको थोरै समयले अस्पतालको प्रशासन सुधारमा दबाब सिर्जना हुन्छ र बिरामीहरूले राम्रो सुविधा पाउनमा सहयोग हुन्छ । त्यही कारण अब अस्पतालको सुधारको लागि आवाज उठाउन जरुरी छ’, उनले भनिन् ।
समाजसेवी अर्थात् भिडियो क्रीयटर एन्जल महर्जन सामाजिक सञ्जालमार्फत प्रतिष्ठानमा भएको अनियमितताको बारेमा बुझाइ राखेका छन् । उनी आफैँ पनि धरान पुगेर त्यहाँको अवस्था हेरेर आएका हुन् । उनी भन्छन्, “मानिसहरूको स्वास्थ्य जस्तो महत्त्वपूर्ण विषयसँग जोडिएको कुरालाई हेलचेक्र्याइँ गर्नु हुँदैन, हामी सबैले यस विषयमा आवाज उठाउन जरुरी छ ।”
निरन्तर शान्तिपूर्ण आन्दोलन गरिरहेका उनीहरूलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राईले भने गत सोमबार आन्दोलन स्थलमा पुगेर सुधार अभियानप्रति आफ्नो समर्थन रहेको बताएका थिए । उनीहरूले धरानका स्थानीयहरूको साथ मज्जाले पाइरहेका छन् । अस्पतालको अवस्था सुधार नभएसम्म र आफ्ना मागहरू पुरा नभएसम्म उनीहरू आन्दोलन नरोक्ने बताउँछन् ।
नेपाली समाजमा एउटा भनाइ छ, ‘नयाँ वर्षमा जे गर्यो, वर्षेभरि त्यही गर्नुपर्छ ।’ सोही भनाई अनुसार यस्ता बेथिति विरुद्ध आवाज उठाउन युवाहरूलाई कुनै पर्वले नछेकोस् । तर, घोपा क्याम्पको बचाउमा सरकारले छिट्टै केही कदम उठाओस् र, वर्षेभरि आन्दोलन गर्न नपरोस् भन्ने युवाहरूको चाहना छ ।