बुधबार , बैसाख १९, २०८१

अवैध अफिम खेती नष्ट: विकल्प देऊ सरकार ! 

प्रत्येक वर्ष फडानी, तैपनि खेती गर्न छाड्दैनन् । आम्दानीको वैकल्पिक स्रोत खोज्न जरुरी ।

image

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय धादिङले जिल्लाको बेनीघाट-रोराङ गाउँपालिका-१, मा लगाइएको अवैध अफिम खेती नष्ट गरेको छ । वडामा दुई सय पन्ध्र रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर धर्मजङ्ग थिङले हिमाल दर्पणलाई जानकारी दिएका छन् ।

ईलाका प्रहरी कार्यालय गजुरीबाट प्र.ना.उ. मदन बहादुर कुँवरको कमाण्डमा २५ जनाको टोली, जिल्ला प्रहरी कार्यालय धादिङबाट प्र.नि. युवराज जंग कार्कीको कमाण्डमा १४ जनाको टोली र राजमार्ग हाईवे सुरक्षा पोष्ट आदमघाटबाट स.प्र.नि.सुमन अधिकारीको कमाण्डमा २८ जना गरी जम्मा ६७ जनाको संयुक्त टोलीले जिल्ला धादिङ बेनिघाटरोराङ गा.पा. वडा नं. १ स्थित सिमटार, जरुङ, बगरखोले, पैनटार र चिम्वाङ लगायतको एरियाहरुमा अवैध रुपमा लगाइएको अं २१५ रोपनी अफिम खेती फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।

प्रत्येक वर्ष नष्ट गरे पनि त्यस क्षेत्रका किसानले अवैध अफिम खेती नत्यागेको भन्दै यस वर्षदेखि कडाइका साथ निरन्तर फलाेअप गर्ने र नष्ट गर्ने प्रहरीले बताएको छ ।

प्रत्येक वर्ष फडानी, तैपनि खेती गर्न छाड्दैनन्

सो क्षेत्रमा प्रहरीले प्रत्येक वर्ष अफिम खेती नष्ट गर्दै आएको छ । प्रहरीले नष्ट गरे पनि स्थानीयले खेती गर्न छाडेका छैनन् । त्यस क्षेत्रमा विगत एक दशकदेखि अवैध अफिम खेती गर्न थालिएको हो । स्थानीय समुदायको आम्दानीको अन्य स्रोत नभएका कारण अवैध अफिम खेती गर्न बाध्य भएको हो । त्यहाँका स्थानीय समुदायको प्रमुख पेसा कृषि भए पनि गुजारामा आधारित परम्परागत कृषि प्रणालीका कारण कृषिबाट लाभ लिन सकेका छैनन् । अन्य खेती बालीबाट तुलनात्मक लाभ लिन नसकेपछि अवैध खेती गर्न बाध्य भएको हो ।

फल्नेबेला नष्ट गर्नुभन्दा रोप्नै नदिनु

त्यहाँका किसानले बर्सेनि ऋणधन गरेर भए पनि अवैध अफिम खेती लगाउँछन् । तर फल टिप्नेबेला प्रहरी गएर फडानी गर्ने गरेको छ । त्यसो गर्दा किसानको आर्थिक एवम् श्रम लगानी खेर गइरहेको छ । यसरी फल्ने बेलामा फाल्नुभन्दा सुरक्षा प्रशासनले खेती लगाउने बेलामा नै कडाइ गरिनु राम्रो हुने देखिन्छ । यसो गरिए किसानको श्रम र पसिना खेर जाँदैन ।

कतिपयले यो अवैध हो भन्ने जान्दाजान्दै खेती गरिरहेका छन् भने कतिपय किसानले अरूले गरेको देखेर खेती गरिरहेका छन् । यो खेती अवैध हो, कानुनी बन्देज छ भन्ने कुराको जनचेतना जगाउन आवश्यक छ । चेतनाको कमीका कारण अवैध खेतीमा लगानी गरिरहेका छन् ।

आम्दानीको वैकल्पिक स्रोत खोज्न जरुरी

आम्दानीको वैकल्पिक स्रोतको व्यवस्थापन गर्न सकिए किसानले अवैध खेती गर्ने छैनन् । यसका लागि स्थानीय सरकारले पनि ध्यान दिन जरुरी छ । रोजगारी सिर्जना गर्ने, उद्योग धन्दा खोल्ने, साना घरेलु उद्योगहरू सञ्चालन गर्ने, सीपमूलक तालिमहरू सञ्चालन गर्ने आदि गर्न सकिएमा आम्दानीको वैकल्पिक स्रोत बढ्दै जाने थियो तर स्थानीय सरकारले यस विषयमा खासै ध्यान दिएको पाइँदैन । स्थानीय समुदायका लागि वैकल्पिक आम्दानीको स्रोत व्यवस्था गर्न नसकिए अवैध खेती रोक्न नसकिने वडाध्यक्ष जीवन सिं तामाङले बताए । यसका लाग तीनै तहको सरकार गम्भीर बन्न जरुरी रहेको अध्यक्ष तामाङले बताए ।

गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले वैकल्पिक आम्दानीको स्रोतको खोजी तथा व्यवस्थापनमा लाग्नुको सट्टा उल्टै “अफिम फाल्न प्रहरी आयो भने मलाइ फोन गर्नु” भन्दै हौस्याउने गरेको किसानहरूको गुनासो छ । गाउँपालिका अध्यक्षले फाल्न दिन्नौँ भनेकाले आफूहरू ढुक्क भएर खेती लगाएको तर, फल टिप्नेबेला प्रहरी आएर नष्ट गरिदिएको किसानहरूको दुखेसो छ ।

त्यहाँको कृषि प्रणाली परम्परागत शैली र प्रविधिमा आधारित छ । जसका कारण किसानले कृषिबाट लाभ लिन सकेका छैनन् । कृषिलाई आधुनिकीकरण गर्न आवश्यक छ । उत्पादन वृद्धि गर्ने र तुलनात्मक लाभ हुने किसिमका बाली लगाउने, प्रविधिको प्रयोग बढाउने, कृषि तालिमहरू सञ्चालन गर्ने, कृषिलाई व्यवसायीकरण गर्ने लगायत विषयमा जानकारी दिन सकेमा अवैध खेती गर्नबाट किसानहरू पछि हट्नेछन् ।

सम्बन्धित समाचार