गाउँमा विद्यालय बने आफ्ना केटाकेटीले पनि पढ्न पाइने भएपछि स्थानीयले विप्लवलाई गुहारे । विप्लवले टहरा बनाउने सामान उपलब्ध गरायो । तर, संरचना पूरा गराउन सकेन । त्यतिकै लथालिङ्ग छोडेर हिँड्यो ।
Photo by: Himal Darpan
अनकन्टार डाँडाको बिचमा एउटा जस्ताले छाएको टहरा देखिन्छ । टहरा निकै लामो छ । बार लगाइएको छैन । वरिपरि कालो ढुङ्गे बगर अनि बनमाराका बुट्टाहरू देखिन्छ । तस्बिरको देब्रेतिर चट्टाने भीर देखिन्छ । डरलाग्दो भीर ।
टहराको वरिपरि अन्य भौतिक संरचनाहरू देखिँदैनन् । हेर्दाखेरि ठाउँ निकै शान्त जस्तो पनि देखिन्छ । टहरा डरलाग्दो भीरको टुप्पोमा अवस्थित छ । त्यसैले ‘डरलाग्दो शान्त ठाउँ’ भन्न मिल्छ होला । फलामको खाँबो र डाँडाभाटामाथि जस्तापाता लगाइएको छ । टहरा बनेको छ । तर, यो लथालिङ्ग छ । पर्खाल/बार केही लगाइएको छैन । उदाङ्गो छ ।
झट्ट हेर्दा एउटा टहरा नै हो । केही लाख रुपैयाँको फलाम र जस्तापाताले बनेको टहरा । तर, यो टहराको वास्तविक कथा भने गहिरो छ । अमूल्य पनि छ किनकि यो टहरा दर्जनौँ बालबालिकाहरूको भविष्यसँग जोडिएको छ । यो टहराको लथालिङ्गपनले तीन दर्जनभन्दा बढी बालबालिकाहरूको भविष्य अलपत्र परेको छ । बालबालिकाको भविष्य भनेको उनीहरूको शिक्षा नै हो । यो टहरा लथालिङ्ग हुँदा उनीहरूको भविष्य पनि लथालिङ्ग बनेको छ । किनकि यो एउटा उदाङ्गो टहरो मात्रै होइन, यो शिक्षालय हो ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १ स्थित च्यात्रा डाँडाको तस्बिर हो यो । यो टहराको निर्माण २०७३ मै भएको हो । डाँडामा यो टहरा बनेको ६ वर्ष भयो । यसलाई टहरा किन भनिएको हो भने बनेको ६ वर्ष बित्दा पनि यसको नामकरण गरिएको छैन । उपयोगमा पनि ल्याइएको छैन । तर, यो टहरो बन्दै गर्दा जन्मिएका बालबालिका अहिले ६ वर्षका भइसकेका छन् ।
च्यात्रा डाँडामा एक दर्जन घरधुरी छन् । तीन दर्जन जति बालबालिका छन् । गाउँमा विद्यालय नभएपछि शिक्षाबाट वञ्चित भएका छन् बालबालिका छ । ‘गाउँमा विद्यालय छैन, अन्य गाउँ जान सकिँदैन’, स्थानीय प्रेम तामाङ भन्छन् ।
अहिलेको यो टहरा पनि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले दिएका हुन् । गाउँमा विद्यालय बने आफ्ना केटाकेटीले पनि पढ्न पाइने भएपछि स्थानीयले विप्लवलाई गुहार मागेका हुन् । विप्लवले टहरा बनाउने सामान उपलब्ध गरायो । संरचना पूरा गराउन सकेन । त्यतिकै लथालिङ्ग छोडेर हिँड्यो ।
टहरो निर्माण हुँदै गर्दा स्थानीय तहको निर्वाचनको तयारी सुरु भयो । चुनाव हुने भएपछि विप्लव नेतृत्वको नेकपाले चुनाव बहिस्कार गरे । चुनाव बहिस्कारको अभियानमा लागेपछि यस विद्यालयको निर्माण गर्न अघि सरेका सो पार्टीका नेता कार्यकर्ताहरू सम्पर्कविहीन बन्न पुगे ।
उनीहरू सम्पर्कमा नआए पनि स्थानीय सरकार बनेपछि आफूहरूका लागि विद्यालय बनाइदिने अपेक्षा स्थानीयले गरेका थिए । चुनाव हुँदै गर्दा ‘गाउँ-गाउँमा सिंहदरबार’ भन्ने नारा च्यात्राका स्थानीयले पनि सुनेका थिए । तर, सरकार बनेर पाँच वर्ष बित्दा पनि विद्यालयको टहराले पूर्णता पाएन । बरु भत्किन थालिसकेका छन् । टहरा मात्रै भत्केका छैनन्, टहरासँगै स्थानीयका सपनाहरू भत्किएका छन् । टहरा निर्माण हुँदै गर्दा जन्मेका केटाकेटीहरूका भविष्य अन्योलमा परेका छन् । उनीहरूको भविष्य अन्धकार बन्ने निश्चित भएको छ । विद्यालय भर्ना गर्ने उमेर नाघेका छन् ।
आफ्नो कार्यकाल सकिनै लाग्दा सो वडाका वडाध्यक्ष नन्दप्रसाद तामाङले टहराको निर्माण सम्पन्न गर्नका लागि भन्दै एक लाख रुपैयाँ दिएका छन् । तर, स्थानीय बासिन्दाले भने सो रकमले कुनै पनि काम सम्पन्न गर्न नसकिने भन्दै रकम लिन अस्वीकार गरेका छन् ।
वडाध्यक्ष नन्दप्रसाद तामाङले अहिलेको लागि अरू बजेट हाल्न नसकिने बताएका छन् । टहरालाई स्थानीय साधन बाँस, निगालो काठ आदिले बारेर विद्यालय सञ्चालन गर्न सकिने भए पनि स्थानीय जागरूक नहुँदा काम अगाडि बढाउन नसकिएको बताए । उनले विद्यालयको भौतिक संरचना तयार भए गाउँपालिकाले एक जना प्रारम्भिक बाल विकास सहजकर्ताको व्यवस्था गर्ने भनिए पनि सो कार्यलाई अगाडि बढाउन नसकिएको बताए ।
स्थानीय तहको दोस्रो निर्वाचन आगामी वैशाख ३० मा हुँदै छ । निर्वाचन नजिकिँदै गर्दा च्यात्राका बासिन्दा भेट्न नेता कार्यकर्ताहरू दिनदिनै पुग्न थालेका छन् । उनीहरूलाई विभिन्न सपनाहरू पनि बाँडेका छन् । तर, अघिल्लो निर्वाचनताका गरेका वाचाहरू पुरा नभएपछि स्थानीयबासिन्दाले त्यहाँ पुग्ने नेता कार्यकर्ताहरूसँग आक्रोश समेत पोख्न थालेका छन् ।
च्यात्राका बासिन्दाले खानेपानीको समेत चरम अभाव भोगिरहेका छन् । गगनचुम्बी अग्ला पहाडको टुप्पोमा केही फिट मिटरको भ्यु टावर बनाउँदै आफूलाई विकासप्रेमी देखाउन खोज्ने नेता र नेतृत्वको आँखामा च्यात्रा जस्ता गाउँ र बासिन्दाहरूले भागिरहेका समस्याहरू कहिले पर्ने हुन त्यो भने हेर्न बाँकी नै छ । देशलाई अर्को ग्रहमै पुर्याएको जसरी भाषण गर्ने नेता र नेतृत्वलाई सङ्घीय राजधानीबाट ८० किलोमिटरको दुरीमा रहेको च्यात्राको तस्बिरले साँच्चै गिज्याएको छ ।