परापूर्वकालदेखि बनेका र प्रयोग हुँदै आएका संरचना भत्काइनुको कारण भने के होला ? हामी कहाँबाट कुन धरातलबाट, कस्तो सभ्यताबाट यहाँसम्म आइपुग्यौँ भन्ने ऐतिहासिक तथ्यलाई के हामी साच्चै नै मास्न तम्सिएका हौँ त ?
वरपिपलको चौतारी र पाटीपौवाका साथै पानी पँधेरो । पहिलेपहिले बास बस्नका लागि पाटीपौवा, आराम गर्नका लागि चौतारी र प्यास मेटाउनका लागि कुवा तथा धारो निर्माण गरिन्थ्यो । तर, संरक्षणमा पहलकदमी नहुँदा यस्ता मौलिक संरचना आजको दिनसम्म आइपुगदा झण्डैझण्डै हराइसकेका छन् । आज त्यस्ता संरचना निर्माण गर्न चासो नदिनु, हिजो बनेका मौलिक संरचनाको मर्मतसम्भार नहुनु र भइहाले पनि मौलिकता मासिनु जस्ता कारणले नेपालको मौलिक पहिचान सङ्कटमा परेको सत्य जगजाहेर छँदैछ ।
वरपिपलको चौतारी र पाटीपौवाको ओत एवं छहारी आजभोलि निकै ग्रामिण भेगतिर पुग्दा मात्रै देख्न मिल्छ । र त्यसमाथि पनि अधिकांश जिर्ण अवस्थामा भेटिन्छन् । बिडम्बना, तिनको जिर्णोद्धारमा केन्द्रीय सरकार वा स्थानीय तहले त के आम जनमानसले समेत चासो पुर्याएको पाइँदैन । यही बेपरबाहीका बीच चौतारो, पानी पँधेरो, कुवा, पाटीजस्ता नेपाली मौलिक संरचनाहरू अब आउने भावी पुस्ताहरूले इतिहासमा मात्रै भेट्ने त होइनन् भन्ने जटिल प्रश्न उठेको छ ।
खाने मुखलाई जुंगाले छेक्दैन
सडक सञ्जाल नपुगेको र होटल सुविधा नभएका समयमा यस्ता संरचनाहरुको महत्त्व बेग्लै हुने गर्दथ्यो । ठाउँठाउँमा सडक सुविधाको पहुँच पुग्नु, बजारमा होटल तथा रेष्टुरेण्ट र गाउँ-गाउँमा होमस्टे सञ्चालनका कारण यस्ता ऐतिहासिक महत्त्वका मौलिक संरचना भत्किँदै र हराउँदै जान थालेको हो । आवश्यक्ता नदेखिएका ठाउँमा नयाँ संरचना नबन्नु; यो बुझ्न सकिए पनि परापूर्वकालदेखि बनेका र प्रयोग हुँदै आएका संरचना भत्काइनुको कारण भने के होला ? हामी कहाँबाट कुन धरातलबाट, कस्तो सभ्यताबाट यहाँसम्म आइपुग्यौँ भन्ने ऐतिहासिक तथ्यलाई के हामी साच्चै नै मास्न तम्सिएका हौँ ? या हामी यो गम्भीर असरबारे होसियार नै छैनौँ ? यो ठम्याउन पक्कै जरुरी छ ।
नयाँ पनि नबनाउने र भएका पुरानालाई समेत संरक्षण नगरिँदै जाँदा पाटीपौवा अर्थात् ठाँटी आजभोलि विरलै मात्रामा देखिन्छन् । बटुवाहरू बास बस्ने, काम गरी थाकेकाले थकान मेट्ने, बाहिर निस्कँदा हावाहुरी, असिना, पानी आइलाग्दा ओत लाग्नेजस्ता आपतकालीन अवस्थामा बडो उपयोगी हुने पाटीपौवा अर्थात् ठाँटी नै संरक्षणको अभाव, बसाइँ सराइँ र आधुनिक जीवनशैलीका कारण आपतकालीन अवस्थामा पुगेका भेटिन्छन् ।
अचेल सिमेन्ट, फलाम र टिनजस्ता कच्चापदार्थले निर्माण हुन थालेपछि ढुङ्गाले छानो छाइएका, माटोका गारा हालिएका एवं कुँदिएका काठका स्तम्भ प्रयोग भएका संरचना लोप हुने क्रम बढ्दो छ । पछिल्लो समय पाटीपौवा तथा चौतारी हराए पनि सडक छेउछाउमा प्रतीक्षालय भने राम्रै संख्यामा निर्माण भइरहेका छन् । उपयोगिता पर्याप्त भएपनि पाटीपौवा तथा चौतारीहरूमा निहीत मौलिकता भने प्रतीक्षालयमा भेट्न सकिँदैन । तर, मौलिकता झल्किने गरी पुरानै शैलीमा कुँदिएका काठका स्तम्भ राखी, ढुंगाका छानो राखी प्रतीक्षालय निर्माण गरिने हो भने के त्यसले आजको आवश्यक्ता परिपूर्ति गरेर पनि हिजोको इतिहासलाई जिउँदो राख्न सक्ने थिएन र ?
यसो गर्न सकिए ‘खाने मुखलाई जुंगाले छेक्दैन’ भन्ने नेपाली मौलिक उखान पनि सायद चरितार्थ हुनेथियो ।
किन जोगाउने मौलिक संरचना ?
त्यसो त कुनै पनि काम गर्नका लागि कारण र लक्ष्य स्पष्ट भएमा काम गर्नमा तदारुकता आउने हो । मौलिक संरचनाको संरक्षण हुनुपर्छ भन्दै गर्दा तिनको महत्व के हो र तिनलाई संरक्षण गर्न किन आवश्यक छ भन्नेबारे स्पष्ट हुन सकिए संरक्षणको पहलकदमीमा दृढता थपिने थियो कि ?
गाउँभरिका मानिसहरू भेला भएर कुनै छलफल तथा मनोरञ्जनका लागि रमाइलो नाचगान गरिने स्थान हो चौतारी । यस्ता क्रियाकलापले मानिसहरूबीच सौहार्द र सहयोगी भावना उजागर गरी गाउँ-समाजमा अपनत्व र ‘हामी एक हौँ’ भन्ने मानसिकतालाई कायम राख्न अप्रत्यक्ष योगदान पुर्याउने गर्द्थ्यो । मनोरञ्जनभन्दा बाहेक पनि चौतारीको छुट्टै विषेशता रहेको छ, जहाँ मानिसहरू भेला भई गाउँघरमा परिआएका समस्या र गाउँको विकास निर्माणका कुराहरूमाथि छलफल गर्ने सुविधा उपभोग गर्दथे ।
सामाजिक स्वास्थ्यका लागि मात्र नभएर पर्यावरणीय दृष्टिकोणले पनि वरपिपलकका चौतारी महत्त्वपूर्ण मानिन्छन् । वर र पिपलमा हुने रसायनिक गुणले हानिकारक किराहरूको नास गरिदिने र बाह्रैमहिना स्वच्छ हावापानी दिने हुँदा पर्यावरणको स्वच्छताका लागि समेत मौलिक चौतारीहरूको संरक्षण हुनु आवश्यक छ ।
त्यसो त व्यक्तिगत दृष्टिकोणले पनि चौतारीका अनेक महत्व छन् । विशेष गरेर, लामो पैदल यात्राका क्रममा थकान मेटाउनका लागि चौतारीको प्रयोग लाभदायी ठहरिन्छ । हिँड्डुल गर्दा होस् या भारी बोकेर उकालो ओरालो गर्दा होस् बाटोमा भएका कुवाको चिसो पानी र चौतारीको शीतल हावाले मानिसमा भएको अनेकन थकानलाई मेटाउने गर्दथ्यो । पहिला पहिला गाउँ-गाउँमा, बस्ती-बस्ती र बाटोघाटोका छेउछाउ पाटीपौवा, चौतारीका साथै पानी पँधेरो समेत हुने गर्दथ्यो । तर, अहिले त पानी महंगिएको छ र त्यसै महंगीले व्यवसाय फस्टाएका छन् तर मौलिक संरचना भत्किने र मासिने क्रम पनि बढ्दै गइरहेको छ ।
सडक निर्माणले गर्दा ग्रामीण क्षेत्रमा इतिहासको साक्षी बनेर रहेका ऐतिहासिक पाटीपौवा,चौतारी, मठ मन्दिरहरू भत्किएका छन् भने पानी पोखरीहरू पुरिएका छन् । यसरी, पुराना संरचनाहरू मासिएपछि ग्रामीण सौन्दर्य नै हराउँदै गएको छ । सडक विस्तारले गर्दा यस्ता मौलिक सम्पदा र परम्परा निकै कम देखिनुका साथै कम उपयोग हुँदै आएको छ ।
उदाहरणका लागि, विगतमा निलकण्ठ नगरपालिका वडा नं. १० मा रहेको पाटीपौवा संरक्षणको अभावले भत्किएर बसेको छ । मानिसहरू ओहोरदोहोर गर्दा आराम गर्ने, बटुवाले बाटो हिँड्दा बास बस्न प्रयोग गर्ने पाटीपौवा हाल यातायातको विकाससँगै लोप हुँदै गएको छ । जहाँ पहिले-पहिले मानिसहरू आराम गर्ने, गोठालो जाँदा शीतलमा बस्ने, रमाइलो गर्ने गर्दथे । यसले गर्दा मानिसहरूले असहजता भोग्नपरेको छ ।
परम्परागत सम्पदा राषट्रको महत्त्वपूर्ण सम्पत्ति भएकाले हामीले यस्ता संरचनाहरूको संरक्षण गर्नुपर्दछ । मौलिक सम्पदाहरू लोप हुँदै गएकोले तिनीहरूको संरक्षणका लागि हामी सबै जागरूक हुनुपर्दछ । गाउँ-गाउँमा सडक विस्तारको नाममा पुर्खाले स्थापना गरेका यस्ता सांस्कृतिक सम्पदाहरू मासिनु गलत हो । पाटीपौवा र चौतारी भत्काइनु, पानी पँधेरो, कुवा पुरिनुजस्ता जलस्रोतको संरक्षण नगरिनु चिन्ताजनक कुरा हो ।
आधुनिकताको होडमा नयाँ शैलीका संरचनाहरू निर्माण भइरहँदा नेपालको मौलिक पहिचान के ? हाम्रै भावी पुस्ता र विश्वले नेपाललाई पृथक कसरी चिन्ने ? विश्वभन्दा किन फरक छ नेपाल ? यो गम्भीर प्रश्नको जवाफ यस्ता मौलिक संरचनाको संरक्षणबिना सम्भव छैन । त्यसैले, हाम्रो पुरातन पाटीपौवा, चौतारी र पानी पँधेरोको संस्कृतिलाई लोप हुन नदिऊँ, हाम्रो संस्कृति जीवन्त रहोस् । परिवर्तनको संघारमा उभिएको वर्तमान समाजले शताब्दीयौंदेखि चलिआएका चालचलन र रीतिथीतिहरू आधुनिकताको नाममा नबिगारोस्, नभत्काओस् !