शुक्रबार , अषोज १४, २०७९

स्वतन्त्र उम्मेदवारहरूलाई एकै ठाउँमा ल्याउन कोसिसरत आशिष डाँगी

डाँगी स्वतन्त्र उम्मेदवार होइनन्, यसतर्फ आफूले सोचिनसकेको उनी बताउँछन् । उनी यतिखेर छरिएर रहेका स्वतन्त्रहरूलाई एकठाउँमा ल्याई छलफलको वातावरण बनाउने, आपसी एजेन्डाहरूमाथि छलफल गराउने पृष्ठभूमि तय गर्छन् ।

image

मोहनदास करमचन्द गान्धी भन्दथे, ‘सिद्धान्तबिनाको राजनीति महापाप हो ।’ तर, नेपालका राजनेताहरूले  ‘राजनीति कमाइ खाने भाँडो हो’ भन्ने कुरा व्यवहारत: देखाएएपश्चात् गान्धी मात्रै होइन, राजनीतिका सिद्धहस्त धेरै व्यक्तिहरू किनार लाग्न पुगे । नीतिनिर्माणलाई आफू\अनुकुल बनाउने हिसाबले व्यवसायीक घराना, देशका स्रोत-साधनको गलत उपयोग वा आफूअनुकुल उपयोग गर्नका लागि पार्टीगत पूँजीवादका अनुयायीहरू, पार्टीकै हकहितका लागि पक्षपोषण गर्ने र जनताप्रति  बेइमान आम कार्यकर्ताहरूका कारण ‘राजनीति फोहरी खेल’ हुन् पुग्यो । 

देश पटक-पटक गलत नेतृत्त्वको हातमा पुग्यो । यसका विरुद्ध देश पटक-पटक क्रान्तिमा होमियो पनि तर, जनताले  क्रान्तिपश्चात् आफ्ना आधारभूत आवश्यकताहरू परिपूर्ति भएको देख्न पाएनन् । किनभने व्यक्ति फेरिएका थिए, प्रवृत्तिको जस्ता तस्तै रह्यो । यहिकारण जनताको जीवनस्तर जहीँको त्यही रह्यो । हामीभन्दा पछाडी क्रान्तिमा होमिएका देशहरूले विकास र समृद्धिमा चमत्कार गरे, हामी तिनै देशमा श्रम बेच्न पुग्यौँ । प्रश्न बेगरका युवाहरू रहेको देशमा सत्ता र शक्तिको स्वार्थमा देशको मूल नीति घिस्रीरह्यो । अस्थिर राजनीतिले राष्ट्रिय विकास, समृद्धि र राष्ट्रिय जीवनको आधारभूत आवश्यकतालाई सधैं ओझेलमा पार्‍यो । 

यस वास्तविकतालाई आशिष डाँगी (२४) जस्ता संगीतसाधनामा लागिरहेका युवाहरूले बुझेका छन् । अकारण उनी स्वतन्त्र उम्मेदवारलाई एक ठाउँमा ल्याउने र आपसी छलफल गरि साझा एजेन्डाहरू बनाउने काममा लागिरहेका छैनन् । सरकारी ढुकीकुटलाई आफ्नो पुर्खाको सम्पत्ती ठानी राष्ट्र, राष्ट्रियता, स्वाभिमान लत्याउँदै जनता भन्दा पनि जीवनको लागि पार्टीलाई सञ्चालन गदैं आइरहेकाहरू विरुद्ध विरुद्ध विगुल फुक्ने काम स्वतन्त्र उम्मेदवारहरूमाफत यसपालिको स्थानीय निर्वाचनमार्फत देख्न पाएका उनी यतिखेर स्वतन्त्रहरूको छाता संगठनमा सहसंयोजकको भूमिकामा छन् । 

संगीत साधनामा रमाइरहेका डाँगी एकाएक सामाजिक कार्यतर्फ अग्रसर हुँदै राजनीतितर्फ किन मोडिए ? यो प्रश्नको जवाफ रोचक छ । बाल्यकालमा विभिन्न कारणले गर्नुनपर्ने कुकर्महरू गरेर समाज र देश दुनियाँ बुझ्न सकेको उनको जवाफ छ । सामाजिक कार्यहरू अधिकतम समय खर्चिएपश्चात् उनले राजनीतिको महत्त्व, सहि नेतृत्त्वको आवश्यकता लगायतका कुराहरूलाई राम्रोसँग चिन्न सके । 

उसो त कारण नखुलाए पनि उनी आफ्नो बाल्यकाल सहज तरिकाले नबितेको बताउँछन् । सानोमा आफूले दु:ख देखेकै कारण उनी अरूको दुख देख्न नसक्ने बन्दै गए । सानै उमेरदेखि विकसित यहि गुणका कारण उनको जीवन गोरेटो सामाजिक कार्य हुँदै राजनीतितफ डोहोरियो । 

दु:खमा परेकाले सहयोग गर्न उनी तत्पर रहन्थे । आफ्नो व्यक्तिगत फाइदालाई प्राथमिकता नदिएकामा उनलाई समयसमयमा विभिन्न संघसंस्थाहरूको सहयोग पनि प्राप्त भइरह्यो । यस क्रममा ठाउँठाउँमा उनले संगीतलाई पनि माध्यम बनाए । सडकमा गरिएका यस्ता कार्यक्रमहरूबाट जम्मा भएको रकम बालबालिकाको हकहितको लागि खर्च गरे । 

यसैक्रममा फ्यूजन नेपाल नामक संस्था (भक्तपुर) सँग उनी जोडिन आइपुगे । बालबालिकाको क्षमता विकासका लागि उनले यसै संस्थामार्फत पहलकदमी थाले । यसक्रममा सडक बालबालिका हकहितका लागि उनले आफ्नो स्वर उँचो बनाए । सडक बालबालिकाहरूको व्यक्तिगत जीवन स्तर उकास्न, सामाजिक प्रतिष्ठा फिर्ता दिलाउन यसले संस्थामार्फत उनले पनि हात बटाए । ‘बालबालिका सडकमा बस्नु पर्दैन, सडकमा बस्नु हुँदैन’ भन्ने अभियानका साथ सञ्चालन गरिएको उद्धार कार्यले बालबालिका हकहितका लागि काम गरिरहेको छ । सडक बालबालिकाको व्यवस्थापनका लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व, राष्ट्रिय बालअधिकार परिषद्को संयोजनमा नेपाल प्रहरी र विभिन्न संघसंस्थाले गर्दै आएको छ ।

“यस्ता बालबालिकाहरूलाई एकैपटक वास्तविक जीवनमा ल्याउन गाह्रो पर्ने भएकाले साहित्य, संगीत जस्ता क्षेत्रहरू उपयुक्त विकल्प हुन्छ भन्ने हामीले ठान्यौं ।  संगीत र साहित्यमार्फत उनीहरूलाई वास्तविक जीवनमा फर्काउने कोसिस गर्यौं”, उनी भन्छन्, “लागूऔषधको लत्ती भइसकेको सडक बालबालिकालाई कुटेर/पिटेर मात्रै हुँदैन । उनीहरूलाई संगीत, साहित्य र जीवनदर्शनसँग जोड्न सक्नुपर्छ ।” 

हन्ड्रेडस् ग्रुप्स भन्ने संस्थाले ‘कपडा बैङ्क’ सुरु गरेको थियो । संस्थापक बब्लु गुप्तासँग भेट भएपश्चात् डाँगी पनि ‘कपडा बैङ्क’मा आबद्ध भए ।  अनामनगर, वानेश्वर लगायत क्षेत्रमा देखिएका कपडा बैङ्कहरू भने हाल लथालिङ्ग अवस्थामा पुगेका छन् । यसमा मानिसहरूले यसको महत्त्व बुझ्न नसकेको आरोप डाँगी लगाउँछन्, “हामीले आइडिया ल्याएका थियौँ, त्यसलाई थप परिमार्जन गर्दै लाग्ने काम जनसमुदायको थियो, तर त्यो हुन् सकेन ।” पछिल्लो समय यस संस्थाले गोदाम घरमा कपडा सङ्कलन गरेर बाढी-पहिरो पीडितहरूसम्म लत्ताकपडा पुर्‍याउने काम गरिरहेको छ । यसपालि पनि सो काम भएको छ ।

कपडा बैङ्कसँग नजिक भएर काम गरिरहँदा विश्वव्यापी कोरोना कहरका कारण डाँगीले समाजमा निस्किएर सामाजिक कार्यमा हात बडाउन सकेनन् ।  तर, उनी रोकिएनन् । 

कोरोना प्रकोपसँगै लागेको लकडाउनका कारण श्रमिक एवम् मजदुर वर्गमाथि समस्या आइपरेको उनले देखिरहेका थिए । मिडिया र सरोकारवालाहरूले यसप्रति चासो व्यक्त गरेको नपाएपश्चात् उनी डेरामा बसेर ‘कठै’ भन्ने अवस्थामा रहन सकेनन् । यसपछि उनी सहितका साथीहरू ‘हाम्रो टिम नेपाल’ नामक संस्थामार्फत लकडाउनको कारण खान-बस्न असुविधा भइरहेको आममानिसहरूको हकहितको लागि बोल्न थाले । उनीहरूले यस क्रममा खाना खुवाउने कार्यक्रमहरू विभिन्न ठाउँमा गरे ।

यसक्रममा महानगरका तत्कालीन मेयर विद्या सुन्दर शाक्यबाट उनीहरूलाई हप्कीदप्की समेत प्राप्त भयो । तर, उनीहरू रोकिएनन्, आफ्नो काम निरन्तर राखिरहे ।  वार्मिङ् हट नेपाल नामक संस्थासँग सहकार्य गरेर आइसोलेसन सेन्टर पनि खोले । बानेश्वरको आरआर स्कुल पछाडि खोलिएको यस सेन्टरले नि:शुल्करूपमा अक्सिजन वितरण जस्ता कार्यहरू जारी राख्यो । तर, यस क्रममा पनि अवरोध स्वरूप  ‘नेताका मान्छेलाई अक्सिजन चाहियो’ भनेर धम्कीपूर्ण फोनहरू आउन थाले । उनीहरूले ‘त्यसो गर्न नमिल्ने’ बताएपश्चात् आइसोलेसन सेन्टर बन्द गर्नुपर्छ भनियो । यसप्रकार उनले स्वच्छ मनले गरिरहेका सामाजिक कार्यहरूको गति मत्थर पार्न कहिले नीतिनियम, कहिले राजनीतिक दाउपेच र कहिले महानगर-सरकारी पदाधिकारीहरूको दबाब बढिरह्यो । यद्यपि उनीहरूले आफ्नो कामलाई भने निरन्तरता दिलाइराखे । सिन्धुपाल्चोकको जाल्पा मा.वि.मा स्टेशनरी समानहरू वितरणजस्ता कार्यक्रमहरू केही उदाहरण हुन् । 

यहाँसम्म आइपुग्दा डाँगीले राजनीतितर्फ सोचेका थिएनन् । उनलाई कोरोना कहरको बेलामा खाना बाँडिरहँदा महसुस भयो, ‘यसरी कति दिन बाँड्ने ? र केकसरी मात्रै दिने ? श्रमिक र मजदुरको यो दुर्दशा केकति कारण निम्तिरहेको छ ?’ यसबारेमा चिन्तन/मनन गरिरहेका डाँगीले ‘नेपालको राजनीति बुझौँ र यहाँ भित्रका समस्याहरू समाधान गर्ने कोसिस गर्‍यौँ’ भन्ने कौतुहलताको बीऊ आफूभित्र उम्रिएको पाए । गर्न खोज्दा नीति नियम नै पर्खाल भएर आइदिएपश्चात् उनी राजनीतितर्फ आकर्षित भए । यसलाई उनी ‘राजनीतिमा आफू आउनुपर्छ भन्ने महसुस गरेको’ बताउँछन् ।  यसपछिको उनको यात्रा राजनीतिक रूपमा नै अगाडी बढिरह्यो ।

“म आफै राजनीतिमा आउनुपर्छ भन्ने पनि होइन, मसँग समान्तर विचार राख्ने जोकोही पनि आउन सक्नुहुन्छ । तर, उहाँले मलाई कन्भिन्स चाहिँ गर्नु सक्नु पर्छ । राजनीति मेरो होइन, हाम्रो हो”, उनी अगाडी भन्छन्, “यसै क्रममा जब बालेन शाहको उदय भयो । त्यसबाट मैले धेरै कुराहरू सिक्ने अवसर प्राप्त गरे । स्वतन्त्र उम्मेदवारहरूको यस लहरमा मैले धेरै राम्रा मान्छेहरू भेट्न पाएँ ।” 

बालेनको चुनाव प्रचारप्रसारमा संलग्न डाँगीले समयक्रममा हरिशरण लामिछाने, सुमन सायमी, डा. निकोलस भुषाल आदि व्यक्तित्वसँगको राजनीतिक सत्संगको अवसर प्राप्त गरे । यस क्रममा उनले धेरै यस्ता मान्छेहरू भेटे, जो हुबहु उनीजस्तै थिए, उनकै जस्तो विचार राख्दथे । देशका अनगिनत समस्या समाधानका खातिर एकअर्कासँग सुझाव सङ्कलन गर्ने काम यसक्रममा बढ्दै गयो । ‘राजनीतिलाई पैसा खाने भाँडो’ बनाइरहिएको तत्कालीन राजनीतिक परिवेशमा यो समूह बिल्कुल फरक थियो । यसक्रममा भेटिएका कुनै पनि दलमा आबद्ध नभएका स्वतन्त्र युवाहरू देशप्रति साँचो रूपमा चिन्तन/मनन गरिरहेका थिए । उनीहरूको लागि राजनीति विशुद्ध सेवा गर्ने थलो थियो । उनीहरू सामान्य जीवननिर्वाह गर्दै सेवा गर्नु थियो, शुटेड-बुटेड भएर घर बनाउनु, गाडी चढ्नु आवश्यकता थिएन । यो समूहसँग यसप्रकारको नैतिक इमानदारिता थियो, र आजसम्म पनि सो कुरा व्यवहारतः देख्न पाइन्छ ।

राजनीतिक स्वार्थ बेगर काम गरिरहेका स्वतन्त्र युवाहरूको यस समूहले पछिल्लो समयमा विभिन्न कार्यक्षेत्रका व्यक्तित्वसँग भेटघाट जारी राखिरहेको छ । यस क्रममा जुन खर्च हुने गर्दछ, सो स्वतः स्फूर्त रूपमा साइड जब या आफू संलग्न पेसा-व्यवसायबाट आएको रकम नै हो । यस बाहेक लेभी उठाउने कामहरू पनि भइरहेको छ ।  आफूहरूको खर्च-आम्दानीको वासलात एकदम प्रष्ट र सफा रहेको डाँगी प्रष्टाउछन् ।

डाँगी स्वतन्त्र उम्मेदवार होइनन्, यसतर्फ आफूले सोचिनसकेको उनी बताउँछन् । उनी यतिखेर छरिएर रहेका स्वतन्त्रहरूलाई एकठाउँमा ल्याई छलफलको वातावरण बनाउने, आपसी एजेन्डाहरूमाथि छलफल गराउने पृष्ठभूमि तय गर्छन् । उनी यसलाई स्वतन्त्र उम्मेदवारहरूको ‘छाता एलायान्स’ बनाउने भूमिकामा आफू रहेको भन्न मिल्ने बताउँछन् । 

स्वतन्त्रहरूलाई काम गर्न केही हदसम्म सहज वातावरण बनिरहेको परिप्रेक्ष्यमामा र बालेन शाह-हर्क साम्पाङ-गोपी हमाल लगायतका स्थानीय निकाय प्रमुखलाई जनताको साथ र सहयोग प्राप्त भइरहेको हुँदा स्वतन्त्रहरूप्रति विश्वास प्रकटीकरणको वातावरण बनिरहेको उनी बताउँछन् । टाउको भन्दा ब्युरोकेसी फोहर भएकाले, मिडिया गाइडेड भएकाले र नीतिहरू प्रदूषित भएकाले स्वास्थ्य/शिक्षा जस्ता आधारभूत कुराहरू समेत यतिविघ्न समस्या निम्तिरहेको उनी बताउँछन् । एउटा टाउको काटे पनि अर्को टाउको उम्रिन्छ । रामले रावणको पेटमा रहेको अमृत सुकाएसरह काम गर्नुपर्ने अन्यथा रावणका टाउकाहरू पलाइरहने उनी बताउँछन् । वास्तविक समस्या नचिनीकन आफूहरू राजनीतिमा नआएको समेत उनले प्रष्ट पारे ।

‘पात्र फेर्ने होइन, प्रवृत्ति फेर्ने हो । व्यापारिक घरानाहरूसँग सम्बन्ध राख्नेछौँ तर उनीहरूले नीतिनिर्माणको क्रममा व्यक्तिगत फाइदा पाउनेछैनन् भने नीतिनिमार्णको क्रममा उनीहरूद्वारा हामी प्रभावित हुनेछैनौँ । यो अठोट स्वतन्त्र रूपमा उठिरहनु भएको हरेक उम्मेदवारहरूले राखिरहनुभएको छ”, उनी भन्छन् ।

स्वतन्त्र उम्मेदवारहरूले पार्टीभित्र छिरेर पनि काम गर्ने उनी बताउँछन् । यसो गर्नुको मूल ध्येय भनेको त्यस पार्टीको आन्तरिक समस्या बुझ्नु र उसलाई सुधार्न पर्यन्त गर्नु हो । यसका लागि आवश्यक रणनीतिहरू बनिरहेको उनले प्रष्ट पारे । साथै, एक निर्वाचन क्षेत्रबाट उठिरहेका दुई भन्दा बढी उम्मेदवारहरूमध्ये को उपयुक्त हो भन्ने विषयमा समेत आगामी दिनहरूमै निर्क्योल गर्नेतर्फ आफूहरू अग्रसर भएको समेत बताए । चार साझाको प्रतिबद्धता अन्तर्गत ‘साझा उम्मेदवार, साझा चुनाव चिन्ह, साझा राष्ट्रिय मुद्दा र सबैकुरा साझा’ अनुसार ती उम्मेदवारहरू आ-आफ्नो क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा आउने उनले बताए । स्वतन्त्र रूपमा आएका हरेक उम्मेदवार उपयुक्त व्यक्ति हो कि होइन भनेर छलफल भएपश्चात् मात्रै योग्य व्यक्तिलाई चुनावमा पठाउने रणनीति आफूहरू लिएको उनको भनाई छ ।  

आफूसँग भएको यथेष्ट स्रोतसाधनमार्फत नै ‘नेपाललाई नेपाल’ बनाउन’ लागिरहेको स्वतन्त्रहरूलाई आम जनताले साथ र सहयोग दिन्छन् भन्नेमा आफू विश्वस्त भएको उनी बताउँछन् । यसक्रममा उनले आरम्भ दर्शन नामक संस्थाको उदाहरण दिँदै भने, “यस संस्थाले कला, साहित्य, इतिहास, योग र दर्शनमार्फत सामाजिक उद्विकासका लागि जेजस्तो योगदान दिइरहेको छ, यो सानो कुरा होइन । यस्ता संस्थाहरूबाट प्राप्त भइरहेको साथ र सहयोग पनि हाम्रो लागि जितको हौसला र विजयपश्चात् रूपमा इमानदार भइरहनको लागि सचेत पारिरहने तत्त्व हो ।” यस्ता संस्थाहरूले गरिरहेको गतिविधिहरूले सांस्कृतिक, सामाजिक मात्रै नभई आर्थिक रूपमा पनि राष्ट्रलाई सहयोग गर्ने उनले अगाडि बताए । स्वतन्त्र रूपमा सञ्चालित यस्ता संस्थाहरूबाट सुझाव सङ्कलन एवम् साथ सहयोग पाइरहेको उनको भनाइ छ ।

आरम्भ समूह

Tags:

सम्बन्धित समाचार