आफूले आफूलाई आफैजस्तो स्विकार्न सक्यो भने मानिसको कमजोरी पनि ताकत बनिदिन्छ ।
Photo by: Himal Darpan
यमनाथ मैनालीसँग पहिलो अंकमा हामीले यसप्रकार कुरा गरेका थियौँ,
यम आफ्नो बाँकी किस्सा सुनाउन थाल्छन् ।
तीन महिनाको अस्पताल बसाइँपछि स्कुल फर्किएँ । सबै खुसी भए । मैले देब्रे हातले नै लेखेर पढाउन थालेँ । आफ्नो एम.एस.सी.को परीक्षा पनि रेगुलर साथीहरूसँग बसेर नै दिएँ । परीक्षामा ५५ प्रतिशत आयो । जसरी भए पनि मैले मास्टर्स फस्ट डिभिजनमा पास गरेँ । तर, रिसर्च गर्न सकिनँ । ल्याब वर्कलाई प्राक्टिकलमा चेन्ज गरेर एम.एस.सी. सकाएँ ।
स्कुलमा म खुसी थिएँ, पेन भुलाइरहेको थिएँ । तर, मेरा साथीहरू सबैले पिएचडी सकिसक्न लागेका थिए । म भने रोकिएको थिएँ । मैले पहिल्यै सोसोलोजि पनि भर्ना गरेको थिएँ । त्यसको पनि परीक्षा आयो । देब्रे हातले लेखेर मैले अर्को विषयमा पनि मास्टर्स गरेँ । दुई वटा मास्टर्स त गरेँ, तर इच्छा पिएचडी को थियो । मेरो अपाङ्गताले मलाई धेरै ठाउँमा रोक्यो । म आफूलाई लायक मान्छु, पढेलेखेको पनि छु! र त मलाई कानुनले छेक्छ । जो जन्मजात अपाङ्ग छन् यिनीहरूको भविष्य त झन् के होला भन्ने लाग्न थाल्यो । आफू पनि अपाङ्ग भएकै कारण राज्यले कानुनले छेकबार लगाइरहँदा आफूजस्तैहरूका लागि केही गर्न सकिन्छ कि भन्ने विचार आयो । यो विचार आएसँगै भृकुटीमण्डपमा रहेको राष्ट्रिय अपाङ्ग कोषमा म छिरेँ । त्यहाँ मैले सदस्य सचिव भएर चार वर्ष काम गरेँ ।
म त्यहाँ छिर्दै गर्दा राष्ट्रिय अपाङ्ग कोष सरकारले हेला गरेको ठाउँ थियो । जो अहिले सरकारको हरेक पोलिसीमा चिनिएको छ । राष्ट्रिय अपाङ्ग कोषले अहिले हातखुट्टा बनाउँछ साथै अन्य थुप्रै संस्थाले पनि हातखुट्टा बनाउँछन् । यिनीहरू सबैले अङ्ग पुनर्स्थापनको लागि काम गर्ने यो काम प्राइमरी हेल्थ केयरमा पर्छ । अहिले म यही सम्बन्धी काम गर्ने देशभरिका संस्थाहरूलाई एकैठाँउमा जोड्ने काम गर्ने ‘नेशनल एसोसिएसन अफ सर्भिस प्रोभिडेन्स रिह्याबिलिटेशन’ भन्ने संस्थाको अध्यक्ष छु । म अपाङ्ग मानिसहरूको क्षमता अभिवृद्धिकालागि के के कामहरू गर्न सकिन्छ हेर्ने, खोज्ने र गर्ने काम गरिरहेको छु । यो सँगसँगै एक्टिभ नेपाल भन्ने संस्थाबाट पनि सामाजिक कार्यहरू गरिरहेको छु । साथसाथै, स्वास्थ्य सेवा विभागको सरुवा रोग नियन्त्रण महाशाखा अन्तर्गत कुष्ठरोग तथा अपाङ्ग व्यवस्थापन शाखासँग नजिक भएर काम गरिरहेको छु ।´
उनले कुरा बिसाउनासाथै मैले आफ्नो जिज्ञासा पनि राखिहालेँ, ‘एउटै मात्रै हात भए पनि धेरैतिर हात हाल्नु भएको रहेछ । थुप्रै कामहरू एउटै हात हुँदा पनि गर्न सक्नुभएको छ । अब अर्को नयाँ AIM के छ ‘एम’ मैनालीको?’ उनले मुसुक्क हाँस्दै भने, ‘अब चाहिँ आफ्नै सपना र आफ्नो लागि, पिएचडी गर्ने सोचमा छु र छिट्टै सुरु गर्छु ।’
सकारात्मक ऊर्जा
दुर्घटना हुनुभन्दा अघि देखि उनी सङ्गीतमा निकै रुचि राख्ने रहेछन् । नोस्टाल्जिक हुँदै भन्छन्,`सानैदेखि नाच्ने, गाउने र बजाउने कुराहरू रमाइलो लाग्थ्यो । किबोर्ड, गितार, कङ्गो बाजा, जिम्मेहरू बजाउँथेँ । अहिले अब देब्रे हातले बजाउन ठ्याक्कै उल्टो हुन्छ । त्यही पनि कोसिस गरिरहेको छु । मलाई हरेक कुराहरूमा देब्रे हातको बानी लगाउन अप्ठ्यारो पनि भयो । शरीर पनि ब्यालेन्स नभएको महसुस हुन्छ । कहिलेकाहीँ कसैले केही चिज दिँदा दाहिने हात अघि जान खोज्छ । त्यो कुराले पनि कहिलेकाहीँ हिट गर्छ । बिर्सिन खोज्यो यस्तै कुराले याद दिलाउँछ । बाइक चलाउने मान्छे, गिटार बजाउने मान्छेलाई दाहिने हात नहुँदा के होला? त्यो कुराहरू थियो तर पनि म त्यो कुरालाई चेन्ज गरेर अहिले देब्रे हातले किबोर्ड चलाउँछु ।
हुन त, केही लिन समात्न खोज्दा दाहिने हात आफसेआफ अघि सर्न खोज्दा मलाई यो कुराले खुसी पनि दिन्छ कि मेरो मानसपटलमा भने म अझै जस्तो जन्मेको थिएँ त्यस्तै नै रहेछु, मेरो मस्तिष्कलाई कहिल्यै म अपाङ्ग भएको महसुस नै भएनछ । यो कुराले भने सकारात्मक ऊर्जा दिन्छ । अब बिस्तारै आर्टिफिसियल हातले गितार बजाउन सिक्ने प्लानमा छु ।
उनका कुरा सुनिरहँदा भित्रैबाट सकारात्मक भाइब्सहरू आउने रहेछ । यति सकारात्मक ऊर्जाले भरिएको मान्छे उनी, मलाई त्यसपछि उनले कोरोनाको लकडाउनको समय कसरी बिताए जान्न मन लाग्यो । उनले कोरोनाको लकडाउनका समय फेसबुक लाइभमा देब्रे हातले किबोर्ड बजाएर एउटा च्यारच्यार इभेन्ट गरेछन् । र च्यारिटीबाट उठेको पैसाले पशुपतिका बाँदर, बाटोमा हिँड्ने गाई, चराचुरुङ्गी, माछाहरूलाई खानेकुरा खुवाउने काम गरेछन् । काम एक व्यक्ति एक सहयोग (one person one support)भन्ने उद्देश्यसहित एक रुपैयाँ सहयोग गर्नुस् भन्ने अवधारणाले उनले त्यो च्यारच्यार इभेन्ट गरेका रहेछन् ।
क्यान्सर एजुकेशन प्रोग्राम
‘स्वास्थ्य रहे नै जीवन रहन्छ’ भन्ने उनी नेपालमा स्कुल बेस्ड ‘क्यान्सर एजुकेशन प्रोग्राम’ हुनुपर्छ भन्ने अवधारणा अघि ल्याउने पनि उनी नै रहेछन् ।
भन्छन्: म सन् २००८ देखि क्यान्सरको प्रोजेक्टमा हिँड्थेँ । नेपालमा धेरै महिलाहरू पाठेघरको मुखको क्यान्सर लागेर मर्ने गरेको थाहा भयो । पुरुषबाट सर्ने भाइरसले पाठेघरको मुखको क्यान्सर हुन्छ । यति नै कुरामा जानकारी नभएर एउटा मान्छेको कारणले अर्को मान्छेले मृत्युवरण गर्नु परेको छ । आफ्नो कुरा खुलेर भन्न नसक्ने स्थितिले पनि धेरै आमा, दिदी-बहिनीको ज्यान गइरहेको रहेछ । त्यही कारण नेपालमा यो अभियान नै चलाइयो ।
बच्चालाई आमाको संवेदनाले बढी छुन्छ । र पाठेघरको मुखको क्यान्सर कसै न कसैको आमालाई नै हुने हो । स्कुलमा पढाएपछि उनीहरूले आफ्नो आमालाई पनि एकपटक चेक गराउन भन्छन् नै त्यही कारण यो प्रोजेक्ट केही हदसम्म सफल पनि भयो । अहिले पाठेघर जँचाउने चलन आयो खुसी लाग्छ । यही कुराको प्रसङ्गमा नै थाहा भयो उनले दुर्घटनापछि मास्टर्समा गर्न नसकेको रिसर्च पनि क्यान्सरकै रहेछ । नयाँ नयाँ तरिकाले काम गर्न रुचाउने उनी हाल आफू पुनः स्थापनकै कामहरूमा व्यस्त रहेको बताउँछन् ।
लुक माइ नो आर्म!
सानैदेखि नदीजस्तै, बतासजस्तै, समयको गतिजस्तै जीवनलाई प्राकृतिक गतिमै कुद्न छोडिदिने उनी आर्टिफिसियल हात खासै प्रयोग गर्न रुचाउँदैनन् । भन्छन्, ‘आफूले आफूलाई आफैजस्तो स्विकार्न सक्यो भने मानिसको कमजोरी पनि ताकत बनिदिन्छ । त्यसैले, आफूले आफूलाई स्विकार्नु पर्छ ।’
उनी भन्छन्, ‘मान्छेहरू अरूको भएको सबै चिजमा हेर्दैनन् तर नभएको एउटै चिजमा मान्छेको आँखा परिहाल्छ । मैले अमेरिका जाँदा आफैले प्रिन्ट गरेर टिसर्टमा ‘लुक माइ नो आर्म’ लेखेँ र पछाडि पट्टी लेखेँ, ‘लाइफ इज ब्युटिफुल’ । यता पनि त्यो टिसर्ट लगाएर म हिँड्ने गर्छु तर यता त म आवतजावत गर्ने सबैलाई मेरो यथार्थ पुरानो लागिसक्यो । अमेरिका मेरा लागि नौलो ठाउँ थियो, आर्टिफिसियल हात लगाएर म त्यहाँका नौला मान्छेका नजरबाट आफ्नो यथार्थ लुकाउन सक्थेँ । तर, मैले लुकाइनँ । मलाई हेर्ने आँखाहरूले सधैँ मेरो नभएको हातमा हेर्छन्, त्यही कारण मैले मलाई हेर्नेहरूलाई च्यालेन्ज दिएँ ।
‘देखाउनको लागि कस्मेटिक लाइफ ठिक छ । तर, मेरो हरेक दिनको लाइफ त्यसले चल्दैन । मैले मेरो जीवन स्वीकारेको छु यही कारणले म बलियो छु ।’ यत्ति भनेर उनी स्कुलबाट घरतिर फर्किँदै गरेका आफ्ना विद्यार्थीलाई बिदाइ गर्न लागे । बच्चाहरू खुब मनपर्ने उनी स्कुलको छुट्टी हुने समयमा स-साना बच्चाहरूलाई बिदाइ गर्न सधैँ आफै हाजिर हुने रहेछन् । एम मैनालीलाई पिएचडीको लागि अग्रिम शुभकामना!