सोमबार , फागुण १४, २०८०

बुद्धको विद्रोहपश्चात् विष्णु अग्लिए, अग्नि होच्यिए

तिथिमिति तलमाथि भए पनि भृगवंशी ब्राह्मण उट्टकले वासुदेवलाई श्राप दिएको र शिशुपालद्वारा कृष्ण निन्दित भएका घटनाक्रमहरू संयोग मात्रै होइन कि भन्ने मेरो अनुमान छ । किनभने यी दुई घटनाले वैष्णव धर्मले तत्कालीन समाजमा उपयुक्त स्थान पाउन नसकेको संकेत गरिरहेको प्रत्याभूति हुन्छ ।

image

हामीले चर्चा गरिरहेको वैष्णव सम्प्रदायको प्रादुर्भावको समयलाई बुद्धको उदयपश्चात्को समय हो भनेर मान्नुपर्दछ, जहाँ विष्णुभन्दा बढ्ता नारायण, नारायणभन्दा बढ्ता राम र रामभन्दा बढ्ता कृष्ण, कृष्णभन्दा बाल गोपाल पुजिन्छन् । र, यी सबैलाई विष्णुकै उपास्य हुनाले वैष्णव भन्न मिल्दछ ।

कुलचन्द्र कोइरालाका अनुसार, वैदिक सनातन धर्ममा यज्ञयज्ञादीको जटिलता थपिँदै गएपछि सर्वसाधारणले यज्ञ गरेर धर्म कमाउन नसक्ने अवस्था पर्‍यो । साथै अनार्य जातिको बाहुल्य भएको क्षेत्रहरूमा आर्यहरू पसेर शासन गर्न लागेपछि आर्य र अनार्य जातिको सम्मिश्रणले अनेक प्रजाति जन्मिन लागेकाले रक्त शुद्ध राख्ने प्रयत्नमा जातिवादका कडा कानून (धर्मशास्त्र) को जन्म भयो । यज्ञमा अनेकौँ पशुहिंसा र जातिवादको कडा नियमले गर्दा सर्वसाधारण त्रसित र आकुल थिए । आर्य-अनार्यको सङ्घर्षमा लाखौँ युवा गुमाएपश्चात् बिरक्तिएका आर्य ऋषि/महर्षिहरू वैदिक साहित्य भित्रै रहेका गूढ तत्त्वहरूको अन्वेषणमा उद्वेलित भए । यसक्रममा तत्त्व चिन्तनको सार ‘उपनिषद् साहित्य’को निर्माण एवम् पठनपाठन व्यापक भयो । तर, यज्ञवादको विरोध गरेर पुर्खाहरूको विरुद्ध जाने काम उनीहरूबाट हुन् सकेन । उनीहरूले यति चाहिँ भने, ‘यज्ञदेखि बाहेक हिंसा गर्नु अधर्म हो ।’ तर, यो भनाइले यज्ञको वैदिक संहिताप्रतिको विश्वासको भावना टुक्राउन सकेन । यस क्रममा कृष्ण अघि सरेर सम्पूर्ण उपनिषद्को निचोड झिकेर गीता पाठ गरे तर, उनले पनि यज्ञवादको विरोध गर्न सकेनन् । यसपछि नै हो, घोर हिंसा र जातिवादको कट्टर विरोधमा शाक्यमुनि बुद्ध र वर्द्धमान महावीर देखिन आइपुगेको ।

रक्त शुद्ध राख्ने प्रयत्नको विरोधमा निम्तिएको जातिवाद र हिंसापरक यज्ञको कडा विरोध गर्दै बुद्धले नयाँ धर्मको रूपमा बुद्ध सङ्घ नै खडा गरे । बुद्धले वेद स्वीकारेका थिएनन् भनिन्छ । यसक्रममा अनार्यबहुल क्षेत्र, कोषल र मगध बुद्ध र महावीरको कार्यक्षेत्र नै बन्न पुग्यो । उनीहरूको बढ्दो प्रभावमा वैदिक धर्मको गढ मानिएको कुरू पाञ्चाल (कान्यकुब्ज)का ब्राह्मणहरू सतर्क भए र यज्ञयज्ञादी/जातिवादको कठोरता केही मत्थर जस्तो भयो । तर, यो धेरै समय रहन सकेन नै ।

बुद्ध-महावीरको प्रभाव र पाञ्चालको हालत अलि परका गुजरातका मथुराका सात्तवत (यदुवंशी)ले नियालिरहेका मात्रै थिएनन्, कृष्णलाई नै ईश्वरको रूपमा पुजी अहिंसापरक सात्तवत धर्मको प्रचारप्रसार समेत गर्न थालिसकेका थिए । उतिबेलै कृष्णले गर्न नसकेको काम बुद्धको समयमा बुद्धको प्रभाव (डर?)का कारण यदुवंशीबाट हुन् सक्यो । उनीहरू कालान्तरमा चतुर्व्युहकृष्णा, सङ्कर्षण, प्रधुम्न, अनिरुद्ध नाम गरी चार मूर्तिहरू चार देवताका उपास्य बने । रामकृष्ण भन्डारकरका अनुसार यी चार देवताभन्दा अगाडी वासुदेव र सङ्कर्षण मात्रै उपास्य थिए, गीतामा पनि चतुर्व्युहरूपका उपासना सम्बन्धि सङ्केत पाइँदैन । व्यूहको अर्थ विस्तार भन्ने हुन्छ, यसले विष्णुको विस्तार सम्बन्धमा मार्ग प्रशस्त गर्छ  ।

(बुद्ध र महावीरका प्रसङ्ग एकछिनमा जोडौँला, त्यसपहिले यी कुराहरू सकौँ ।)

विष्णुको विस्तारसम्बन्धमा केही कुरा :

विष्णुको अवतारको सम्बन्धमा ‘वेदान्त दिग्दर्शन’मा स्वामी नरेश्वानन्दले लेखका छन्,

१. एक मतअनुसार विष्णु (परमात्मा)ले आफ्नो दिव्यमूर्तिलाई सर्वथा परित्याग गरी मनुष्य योनी या अन्य योनीमा जन्म लिन्छन् ।

२. भगवान्को अंशवतार मात्रै हुन्छ, त्यो चाहे आधा होस् एक चौथाई । बाँकी भाग चाहिँ आफ्नै स्थानमा रहन्छ ।  यस मतअनुसार अंशी र अंशले एक कालमा अलग अलग कार्य गर्दछन् ।

३. भगवान् विष्णुले आफ्नो शरीरलाई दुई रूपमा बाँड्छन्  । विभाजितमध्ये पहिलो मूर्ति आफ्नै स्थानमा रहेर दुष्कर तपस्यारत छ । दोस्रो मूर्तिचाहिँ योग निद्रालाई आश्रय गरेर प्रजाजनको सृष्टि स्थिति संहार जस्ता कार्यहरूमा संलग्न हुन्छ । एक हजार वर्षसम्म जलमा शयन गरेपछि कार्यअनुसार यो आविभूर्त (अभिव्यक्त) हुन्छ । महाभारतमा पहिलो मूर्तिलाई वासुदेव र दोस्रोलाई सङ्कर्षण नामले  व्यवहार गरिएको छ ।

४. यस मतअनुसार, नारायणका नार मूर्ति छन्, तीनमा एक निर्गुण र तीन सगुण छन् । निर्गुणमूर्तिको नाम वासुदेव हो । सगुणमध्येको पहिलो सङ्कर्षण हो । अर्को मूर्तिको नाम प्रद्युम्न हो, जो कार्यधर्मको संरक्षक र प्रजापालक रूपमा प्रसिद्ध छ । अन्तिम या चौथो मूर्तिको नाम अनिरुद्ध हो,जलशायी रूपको यो मूर्ति रजोरूपले संसार सृष्टिको कारणरूपमा प्रसिद्ध छ । बेलाबेला अवतार लिई दुष्ट दमन र धर्म संरक्षणमा सरिक बन्ने प्रधुम्न मूर्ति हो । (पृ. १००-१०१)

हामीले यहाँ चर्चा गर्न खोजिरहेको त्रिविक्रम विष्णु चाहिँ अत्यन्त व्यापक र सर्वश्रेष्ठ विष्णुको वर्णन हो, जो वैदिक साहित्यमा पाइन्छ । विष्णुको नारायण रूपको वर्णन मनुस्मृति एवम् महाभारत आदिमा पाइन्छ । ‘नारा’ भनेको जल र त्यसलाई घर बनाएर बस्ने भन्ने अर्थमा नारायणलाई सम्पूर्ण देवको रूपमा महाभारत र पुराणले वर्णित गर्दछन् । जलमा रहेको हिरण्यय गर्भ (ब्रह्माण्ड) रूप नारायणको नाभिबाट ब्रह्मा जन्मिन्छन् भने शिव विष्णुको निधारको चमकबाट उत्पन्न हुन्छन् । महाभारतको शान्ति पर्व नारायणी खण्डमा यिनै नारायणको र वासुदेव कृष्णको तादात्म्य रहेको नरनारायण सम्बन्धि कथा पनि पाइन्छ ।

यी वर्णनभन्दा अगाडीका साहित्यका अनुसार पुरुषरूप नारायणलाई बिहान, दिउँसो र साँझमा हवन गर्ने विधान थियो । यसैकारण यिनलाई अग्निको निकटतम बताइएको हुनुपर्दछ । कतै विष्णु नै अग्नि हुन् भन्ने पनि परेको छ । ‘वैदिककालमा अर्थात् ऋग्वेदमा (ई. पू. १५००) विष्णुलाई आकाशमा डुली हिँड्ने सूर्यको प्रतिरूप मानिएको छ (शुशीलकुमार अधिकारी, नेपालमा वैष्णव धर्मको प्रचार, विद्यावारिधि) । द्वादश  विष्णु सँगसँगै द्वादश सूर्य (अग्नि)को चर्चा पनि भेटिन्छ ।

चाँगुनारायणस्थित विष्णुको विश्वरुप र गरुडासान विष्णु, तस्बीर : राजु झल्लु प्रसाद

यहाँसम्म नआउनु आइसकेपछि अग्निदेवको कुरा नगरी सुखै छैन ।

अग्निदेवका सम्बन्धमा केही कुरा

एउटा रमाइलो किस्साबाट अग्निदेवको कुरा गरौँ, तपाईँहरूले आगो जोर्ने या बत्ति बाल्ने काम पनि गर्न सक्नुहुनेछ । अग्निदेवको कुरा गर्दा यसो गर्नुपर्दछ भन्ने मान्यता छ ।

अँ, रमाइलो कुरा के भन्दाचाहिँ- अग्निदेवलाई एकपटक अपच भएछ अर्थात् पेट खराब भएछ । पखला चलेछ कि गोटा परेछ चाहिँ थाहा भएन ।

कथनअनुसार, राजा श्वेतकीले एकसमय निकै लामो समयसम्म यज्ञ गरेकाले वायुमण्डल धुवाँले ढाकिन पुग्दा ऋषिहरूले ‘थप चरु होम्न’ अस्वीकार गरे । राजा रोकिएनन्, उनले ऋषि दुर्वाशालाई बोलाएर थप १२ वर्षसम्म वायुमण्डल ढाकिरहे अर्थात् यज्ञ कार्य जारि राखे । यति लामो समयसम्म आगोमा होमिएको चरु खाँदाखाँदा अग्निदेवको पेट बिग्रियो । अपच नै भयो । पखला नै चल्यो । अनेक उपाय गरे, तर हात लाग्यो शून्य । अग्निदेव ब्रह्माकहाँ विन्तीभावसहित पुगे । ब्रह्माले खान्डव वन डाह गर्न सके अग्निको पेटको उपचार हुने बताइदिए । सोही अनुरूप महाभारतको आदिपर्वमा अग्निदेवले कृष्ण र अर्जुनलाई आफूले वरुणद्वारा प्राप्त गरेको गाण्डीव धनु, वाण खाली हुँदै नहुने थोक्रो, ४ वटा सेतो घोडाले तान्ने सुन्दर रथसमेत प्रदान गरिदिन्छन् ।

यस कथाले वैदिक समयमा यज्ञयज्ञादी कर्म कुन अनुपातमा हुन्थ्यो भन्ने कुरा बताउँदछ । यसकारण यस कथा यहाँ उल्लेख गर्नु आवश्यक परेको हो ।

अब अग्निका सम्बन्धमा केही कुरा गर्नुपर्दछ । अग्निको सन्दर्भमा धेरै वटा कुराहरू छन् । अग्नि र इन्द्रको राजा शिविसँगको मजाक (परेवा र बाज रूप लिएर), भृगी ऋषिको गर्भवती पत्नी पुलोमाको श्राप र श्राप मुक्ति (अग्निले जे छोयो त्यो पवित्र हुने), अग्नि र सुदर्शनाको प्रेम (ओठले छोएपछि मात्रै अग्नि प्रज्वलित हुने), अग्नि र पत्नी स्वाहाको प्रसङ्ग आदि । यी यावत प्रसङ्गका क्रममा कतै उनी तीन नेत्र लिएर शिवजसरी वर्णन हुने गर्दछन् भने कतै चार हात लिएर विष्णुसरह । मत्स्यपुराणमा अग्निको प्रतिमा बनाउने नियमहरू तोकिएकाले उनी वैदिक देव हुन् भन्ने प्रष्ट भइजान्छ । अर्को कारण चाहिँ, अग्निलाई यज्ञको आगोमा चढाइने विभिन्न वस्तुहरूलाई पृथ्वीलोकदेखि स्वर्गलोकसम्म पुर्‍याउने संवाहक(मध्यस्थकर्ता)को रूपमा चित्रित गरिएको पाइन्छ । स्वाहा भन्दा चाहिँ चढाइएको अन्न नडढ्ने अन्यथा डढ्ने भन्ने त सर्वव्यापी कुरा नै हो । वैदिक युगमा यज्ञ नियमित थियो भन्ने कुरा रहेकाले वैदिक संस्कृतिको मुख्य प्रतीकको रूपमा अग्निलाई बुझ्दा कुनै हानी छैन ।  (वीणा पौड्याल, अग्निदेव र उनको प्रतिमा, प्राचीन नेपाल, २०५४)

यी कथनहरूले अग्नि र विष्णु एकै भएको वा नभएको भन्नेबारेमा खुलस्त पार्न नसकेपनि अग्निको विरोधमा विष्णु नआइदिए वा विष्णुले आफूलाई नसुधारिदिए बौद्ध र महावीरले वेदलाई ‘सक्ने थिए ।’ अतः त्यसो गर्नतर्फ वेदमार्गीहरू लाग्नै पर्दथ्यो । पौराणिक घटनाक्रमहरू पनि सोही बाटो हिँड्छन् ।

विष्णुको अग्ल्याई र अग्निको होच्याई

माथि कतै परेको छ, ‘ऋग्वेदकालिक विशिष्ट शक्तियुक्त देवता विष्णु थिए ।’ विष्णु वैदिक देवता तथा १२ आदि मध्येका एक हुन् । मन्त्रद्वारा त्रिविक्रम विष्णु आफ्नो तेजोमय पाउले तीनै लोक ढाक्दछन्, उनको दुई पाउ देख्न सकिन्छ तर तेस्रो पाउ पशुपंक्षीहरूको उडान भन्दा पनि माथि छ, जहाँ विष्णुको परम पद छ, मधुको छहरा छ, जहाँ देवगण सदा आनन्द पाउँछन् । यो बुद्ध र महावीरको विरोधभन्दा धेरै अगाडी अर्थात् वैदिक कालका विष्णुको प्रशंसा गान हो ।

यस्ता विष्णुमाथि एकाएक पशुहिंसा र यज्ञवादको आरोप लाग्छ, यो वैदिकमार्गीहरूको लागि सानो झड्का होइन । बौद्ध र महावीरको प्रभावका कारण यदुवंशीले सात्तवत मार्ग (भागवात् पनि भनिन्छ) अपनाइसकेका थिए भनेर माथि परेकै छ । तर, ती बाहेक बाँकी ठीँट थिए, उनीहरूले  यत्तिकै बुद्ध र महावीरलाई टेर्ने वाला थिएनन् । यसप्रकार जिद्दी कस्नेहरूले यज्ञयज्ञादी गर्दै एउटै देवता (विष्णु या अग्नि, शिव आदि ?) लाई छाडेर भक्तिमार्ग (मूर्तिपूजा- सात्तवत) तर्फ अग्रसर भएनन् नै, बुद्धको आस्था र मान्यतालाई प्रचारप्रसार गरिरहेकाहरूलाई साथसहयोग समेत उपलब्ध गराइदिएनन् । यसमा जनसामन्यको पनि सहयोग पक्कै रह्यो होला ।

यहिनेर एउटा कुरा जोडौँ, तिथिमिति तलमाथि भए पनि भृगवंशी ब्राह्मण उट्टकले वासुदेवलाई श्राप दिएको र शिशुपालद्वारा कृष्ण निन्दित भएका घटनाक्रमहरू संयोग मात्रै होइन कि भन्ने मेरो अनुमान छ । किनभने यी दुई घटनाले वैष्णव धर्मले तत्कालीन समाजमा उपयुक्त स्थान पाउन नसकेको हो कि भन्ने संकेत गरिरहेको प्रत्याभूति हुन्छ । जे होस्, यज्ञवाद कायम राखिरहँदा विष्णुको पद स्वभावतः खस्किने निश्चित जस्तै भएको थियो भनेर मान्न करै लाग्छ । अतयव: अग्निलाई निचो देखाई विष्णु (वैष्णव?) ले उँचो पद प्राप्त गर्नै पर्ने भयो ।

यसरी वैदिक कालका विष्णु, ब्राह्मण कालका नारायण, उपनिषद् कालका परमोच्च स्थानमा बस्ने ‘विष्णु’ र महाभारतकालका वासुदेव कृष्णको एकात्मकतापछि वासुदेव सम्प्रदायको जन्म हुन्छ, जो अग्निलाई छाडेर अहिंसावादी विष्णुलाई पुकार गर्न थाल्दछ । यसप्रकार सम्प्रदाय सात्तवतहरूमा चलिरहेको बखतमा नै बुद्ध-महावीरको जन्म भएको हो ।

निष्कर्षमा हामी यो भन्न सक्छौँ- यज्ञयज्ञादीको पशुहिंसा, जातिवाद, ब्रह्माण्डहरू लोभ/घमन्ड बुद्धको धार्मिक दर्शन(चार आर्यसत्य, अष्टाङ्गिक मार्ग र उपदेश आदि)का कारण चकनाचुर हुन् पुग्दछ । बुद्धको शेषपछि अशोक आदिको व्यापकता झनै बढ्न पुग्छ र वैदिक कार्य लगभग ठप्प जस्तै हुन्छ । एकाएक आइपरेको यसप्रकारको हैरान-परिसान (बुद्ध धर्मसँगको मुकाबिला) गर्नका लागि वासुदेव सम्प्रदाय अगाडी सर्न करै लाग्छ र विष्णु, नारायण, कृष्ण आदि नाउले सम्बोधित हुँदै विविधीकरणको विधि अपनाउने कम गर्छ । यसलाई वासुदेव सम्प्रदायको ‘साम, दाम, दण्ड, भेद’को ‘अवतारवाद नीति’ भन्न मिल्छ । बुद्धलाई विष्णुको नवौँ अवतार भन्नु यसैको उदाहरण हो ।

यता शैव परम्परामा आगम-निगम (तन्त्र विधि) चलिरहेको थियो । यतापट्टि लहसिएर तन्त्र-मन्त्र, उपासना पद्धतिका विभिन्न विद्याहरू सँगाली वैष्णव सम्प्रदायले पन्चरात्राग्राममार्फत आफ्नो व्याख्या बढायो । यसैताका उसले त्रिविध (शैव, शाक्त र वैष्णव) मार्फत आफूलाई एउटा लोकप्रिय र प्रभावकारी धर्म बनाउन सक्यो । अतः ऋग्वेदिक कालमा अप्रेक्षाकृत गौण स्थितिमा रहेका विष्णुले उपनिषद्क एवम् ब्राह्मणकालमा आफ्नो महत्त्व निरन्तर बढाई महाकाव्य एवम् पौराणिक कालमा आएर पूर्ण प्रतिष्ठा कायम गरे ।

यस सम्बन्धमा कुलचन्द्र कोइरालाले लेखेका छन्, “ब्राह्मण कालमा आइपुग्दा विष्णु अझ शक्तिशाली  हुन्छन् । यस क्रममा, वैदिक कालमा परम देवका रूपमा रहेका अग्नि होचिन्छन् र विष्णु सर्वोच्च देवताको रूपमा प्रतिष्ठित हुन्छन् । तथा यज्ञको अन्त प्राप्त गरेकाले विष्णु समस्त देवतामा श्रेष्ठ कहलाउँछन् । यसप्रकार पौराणिक साहित्यमा आइपुगेर विष्णुले सर्वव्यापी, सर्वेश्वर, प्रभु परमात्माको रूपमा एकाधिपत्य प्राप्त गर्दछन् ।

तिलगंगाका विष्णुविक्रान्तको अनुहार चिन्न सकिन्न, तस्बीर : राजु झल्लु प्रसाद

अहिंसावादी वैष्णवमार्गीका पछिल्ला कदमहरू :

धन्नै त्याज्य जस्ता हुन् पुगेका बौद्धकालीन विवादास्पद विष्णुले पुनः उच्चतम प्रतिष्ठा प्राप्त गर्नुको पछाडि बौद्ध धर्म अनुकूल मौर्यवंशलाई समाप्त पारेर सत्तामा आएको शुंगवंशले वैदिक धर्मको पुनरुत्थानमा खेलेको भूमिका पनि महत्त्वपूर्ण छँदै छ । यस शुंगवंशको काँधमा यज्ञवाद र कर्मकाण्डका विविध पक्षलाई जगाउने तर बौद्ध धर्म प्रभावित सर्वसाधारण आन्दोलित नहुने हिसाबले नवीन धर्मको सिर्जना गर्नुपर्ने काम आइलागेको थियो । यसो गर्दा वैदिक पक्षसँग सम्बन्ध टुट्नु हुँदैन थियो भने जनसामान्यको सरल जनजीविका चलिरहनु पर्दथ्यो । भारतीय इतिहासलाई निहार्दा यो काम उसले सफलतापूर्वक गर्न सक्यो भनेर मान्नुपर्ने हुन्छ ।

बुद्धले मूर्तिपूजाको पनि विरोध गरेकाले सात्तवतहरूमाथि यो चुनौती छँदै थियो तर यस चुनौतीलाई हल गर्न उनीहरूलाई खासै गाह्रो भने परेन किनभने ‘बुद्धले मूर्तिपूजाको विरोध’को विरोधमा उनीहरू मूर्ति पूजा गरिरहेकै थिए । यसैताका, वैदिक आर्यहरूले नगर्ने यस थितिमा अल्मलिरहेका जनसामन्यहरूमाथि वैष्णव सम्प्रदायले ‘एकोहं बहुस्याम’ नामको वैदिक मन्त्रको तत्त्व व्याख्या प्रभावकारी रूपमा गर्न सफल भयो । धेरै देवताको एउटै रूप मानेपछि कुरा खल्लास भइगयो अनि यसप्रकार अवतारवाद ‘फुत्रुक्क’ जन्मियो । (जसलाई डार्बिनले पछि आएर सविस्तार वर्णन गरेकै छन् ।)

यसपछि त के थियो ? विभिन्न अवतारको मूर्तिकल्पना, मन्दिरको स्थापना अनेकौँ देवतालाई एकै ठाउँमा ल्याई उपासना गर्न जनसामन्यलाई सजिलो भयो । फेरी जनसामन्यहरू- बुद्धको दार्शनिक विचार र प्रतिकोपासनाले मात्रै सन्तुष्ट थिएनन्, किनभने वैदिक आर्यहरूकहाँ जस्तो देवताहरू पृथ्वीमा आई मानिससँग सुखदु:खका गफ गरिरहेका थिएनन् । यसकारण आफ्नो दुःख पुकारा सुनाउने, सुनाएर मन नअघाए माग्ने, मागेर नपाए देलान् नि त भनेर आस गरिरहने (विष्ट यसलाई भाग्यवाद भन्छन्) जस्ता मानव अभिलाषाहरूले टिकाराम यात्रीको भाषामा पुष्पपन, पल्लवन हुन् पाए । यसपछि नै हो- पूजाआजा, शङ्ख-घण्टाको निनाद, आरती, वन्दना, स्तुतिपाठ, भजन ह्वारह्वारती देखा परेको ।

जनसामान्यहरूलाई यतिले मात्रै पुगिरहेको थिएन, उनीहरूलाई आफ्ना आराध्य देवताको महत्त्व दर्शाउने कथा, स्तोत्र, सेवाद्वारा फलप्राप्ति भएको उपाख्यान, व्याख्यान आदि चाहियो । अनि नयाँ-नयाँ पुराणहरू जन्मिए । यसपछिको इतिहास विदित नै  यिनै पुराणका कारण यस लेख पनि विवादास्पद बन्न पुग्ने ‘टन्नै सम्भावना’ छ । खैर, पुराणहरूमा परिवर्तन, प्रवर्द्धन र संशोधन चल्यो, चलिरहेछ । यसो हुँदा पौराणिक तर, ‘नयाँ धर्म’लाई वैदिक मान्यता दिलाउनुमा सन्तोष मान्नेहरू पनि देखिए किनभने समयक्रमअनुसार चल्नु नै पर्दथ्यो । यसकारण ‘मजस्ता’लाई पनि पौराणिक व्याख्या गर्ने छुट प्राप्त भयो तर, मजस्ता माथि खनिनेहरूको कमी नभएको पनि होइन । तर, मजस्ताहरूले मिथकको मिथकीकरणलाई कसरी लिन्छन् भन्ने पनि मूल प्रश्न हो ।

यी सब व्याख्यान वैष्णव (वासुदेव) -बुद्ध- शैव द्वन्द्व देखाएर शान्ति खलल निम्ताउनु कदाचित होइन । एक-अर्काका राम्रा-नराम्रा कुराहरूलाई आत्मसात् गरी शैव, वैष्णव र बौद्ध धर्मबीचको समन्वयात्मक भावनालाई प्रतिबिम्बित गर्नु हो । अपितु हामी बुद्धको नाममा ‘बुद्ध वाज बर्न इन नेपाल’, शिवको नाममा ‘ओ माई गाँजा बेबी’ र विष्णुको नाममा ‘१६०० गोपिनी’ च्याँपेर बसेका छौँ, यसकारण सो लाग्नु पनि स्वाभाविक नै हो । (धर्म निरपेक्ष राष्ट्रको बहस भने फेरी पनि आवश्यक छ नै ।)

पुनश्च : त्रिविक्रमको मूर्तिले के कुरा बताउँछ ?

उसो त यी सबै कुरा नै यस मूर्तिले बताएको कुरा हो, यसबाहेक केही कुरा छन् जो बताउनु आवश्यक छ । यसो गर्दा विष्णुविक्रान्तको स्वरूपको अन्तर्य, लिच्छवीकालीन राजनैतिक मानसिकता, मूर्तिको कलात्मक पक्ष एवम् मूर्तिकारको धार्मिक समझ सबैलाई एकसाथ एकैठाउँमा चर्चा गर्नु छोटोमिठो हुने लागेकाले यहाँ सोही गरिएको छ;

१. पहिलो कुरा त नेपाली समाज वैष्णव धर्म सापेक्ष थियो नै । तर यहाँनेर यस तथ्यलाई पनि बिर्सनु हुँदैन कि लिच्छवी राज्यको सुदृढीकरणमा प्राचीन ब्राह्मण र पौराणिक गन्थहरूमा वर्णित विष्णुले दैत्यराज बलीको सेखीलाई ध्वस्त गरेको उपाख्यान जोडेर बौद्ध धर्मलाई पाखा लगाउन खोजिएको चाहिँ थियो नै । अतः यस मूर्तिको महत्त्वलाई यस मानेमा पनि हेरिनुपर्दछ ।

२. माथिल्लो बुँदालाई यसप्रकार पनि हेर्न सकियो, वामन रूप विष्णुले बाउन्ने रूप फुलाएर समस्त पृथ्वी ढाकिदिएकाले शर्तमा हारेका असुरहरूले पृथ्वी देवतालाई छाड्नुपर्‍यो । यो बताउनुले पनि विष्णुको उच्चता कायम हुने नै भयो । विष्णुको उच्चता बढेको कारण इन्द्रले उनको शिरोच्छेद गरेको हुनुपर्दछ, जसको प्रभावस्वरूप प्रकट भएको कथा दोलागिरी (चाँगुनारायण)का नारायण मूर्तिलाई लिन सकियो भने इन्द्रले विष्णुको शिरोच्छेदन गरेको कुरा शतपथ ब्राह्मणमा उल्लेख भएको हरिराम जोशीले बताएका छन् । (जोशी, नेपालमा विष्णुविक्रान्त, प्राचीन नेपाल ) चाँगुनारायणको यस मूर्ति लिच्छवीकालमै निर्मित हुनुले विष्णुको उच्चता कायम गर्ने सवालमा ती मूर्ति बनेको हुनुपर्दछ । यसै कुरालाई ‘शिवले म पशुपतिमा बस्छु, तपाईं दोलागिरीतिर जानु भनेकाले नारायण यता आएका’ भनेर मन्दिरका पुजारीले पङ्क्तिकारलाई बताएका थिए । सो कथनले कसोकसो लिच्छवीहरूमा वैष्णव मत प्रचारप्रति ज्यादा आशक्ति थियो कि भन्ने अनुमान गर्न सकिन्छ ।

३. विष्णुको देवताहरूमा सर्वोच्च स्थान प्राप्त भएको कुराको पत्तो तिनको वामनावातारमा स्पष्ट परिलक्षित हुन्छ । पौराणिक कथनअनुसार दैत्यराज बलिद्वारा पीडित इन्द्रसमेत देवताहरूको प्रार्थनामा विष्णुले अदितिको छोरा वामन भई जन्मेर एक जना सौम्य स्वरूप लिएको ब्रह्मचारीको भेष लिई छलद्वारा बलिको सेखी झारेर देवताको रक्षा गरेका  थिए । वराहपुराणमा वर्णित छ- त्रिविक्रमको पाद जसै स्वर्गीय जगत् नाप्नको लागि उठेको थियो, ब्रह्माण्ड फुटेर त्यहाँबाट सांसारिक पानी निस्क्यो । उक्त उल्लेखले विष्णु नै विश्वको सिर्जनामा स्थितिको कारण भएको बुझिन्छ । शक् संवत् ३८६ (४६४)को चाँगु स्तम्भलेखमा विष्णुलाई तीनै लोकको कलपूर्जा घुमाउनेको रूपमा ‘त्रैलोक्ययभ्रमयन्त्रबत्तिविविध व्यासंगनित्योव्यय’ भनी वर्णन गरिनु तथा ऋग्वेदमा विष्णुले मनुलाई क्षेत्र दिने इच्छाले यस पृथ्वीको संक्रमण गरि विस्तृत क्षितिलाई सुन्दर जनहरूले युक्त गराएको उल्लेखले पनि उक्त तथ्यको पुष्टि हुन्छ । अर्थात्, वामन अवतारमा हामी विष्णुको वामन अर्थात् सौम्य र त्रिविक्रम अर्थात् विराट दुई स्वरूप देख्न सक्छौँ । विष्णुको उक्त दुई स्वरूपमा दुष्टको संहार गर्नुमा तिनको कूटनीति स्पष्ट रूपले देख्न सकिन्छ । अनि शत्रुलाई दमन गर्ने साम, दाम, दण्ड भेद मुख्य उपायको अतिरिक्त माया, उपेक्षा, इन्द्रजालहरू पनि महत्त्वपूर्ण उपायको रूपमा लिन सकिने कुराको यकिन जानकारी मिल्दछ ।  (हरिराम जोशी, नेपालमा विष्णुविक्रान्त प्राचीन नेपाल) साथै, मानदेव  (वि.स. ५२१–५६२)ले सोही शिला मार्फत आफू वैष्णव धर्मावलम्बी भएको बताएको कारणले त्यस समयमा वैष्णव धर्म राजकीय धर्म वा राष्ट्रिय धर्मकै रूपमा रहेको अनुमान पनि गर्न सकिने आधार तयार हुन्छ ।

४. पुराणमा वर्णित सारगर्भित विष्णुविक्रान्तको गाथालाई एउटै ढुङ्गामा यति सफलतापूर्वक देखाउनु मूर्तिकारको चानचुने खुबी होइन । यो एक सजीव चित्रण हो ।  यस सम्बन्धमा दुई विद्वानको विचार राखौँ;

क. मोहनप्रसाद खनाल यस मूर्तिको प्रशंसा गर्दै लेख्छन्, “सम्पूर्ण आयुधसहितका विष्णुले तीनै लोकलाई ढाकेका छन् । विक्रान्तस्वरूप विष्णुका मुनिराजा बलि हातमा जलधारासहितको कलश लिएर दाङ दिन प्रतिज्ञाबद्ध हुँदै वमनका अगाडी खडा छन् । राजा बलिकी रानी आफ्ना पतिका साथ नमस्कार मुद्रामा देखिन्छन् भने आश्वमध यज्ञको प्रतीक घोडा देखाइएको छ । यसै गरि असुर-पुरोहित शुक्राचार्य तथा अन्य कतिपय आकृतिहरू यस मूर्तिमा स्वाभाविक ढङ्गले कुँदिएका छन् ।  (खनाल, ऐ. पृ. १०९)

ख. सत्यमोहन जोशीले यही मूर्तिको कारण नेपाली प्रस्तर-कलाको विकास इसाको पहिलो, दोस्रो शताब्दीमै सुरु भइसकेको सहजै अनुमान गर्न सकिने भनेको कथन माथि परिसकेकाले उनैले उल्लेख गरेका  भारतीय कलाका आलोचक डा. स्टीला क्रामरिसको कथनलाई यहाँ उल्लेख गर्नु मुनासिब हुन्छ । क्रामरिसका अनुसार, “त्रिविक्रमको यी मूर्तिहरूमा अपूर्व किसिमको मूर्तिकला पाइन्छ, जुन भारतीय ढाँचाका विष्णुविक्रान्त त्रिविक्रमको मूर्ति सरि छ भन्ने अनुमान पनि हुन्छ । तर यी मूर्तिको शैली भारतमा प्रचलित छैन यद्यपि यी मूर्तिहरूले यस्तो मूर्तिकलाको शैलीलाई प्रकाशमा ल्याइदिए, जुन त्यतिबेलाको प्रारम्भिक भारतलाई थाहा नै थिएन ।” (जोशी, पृ. २१)

५. नेपाली कलाकार सिर्फ हतियार र वस्तुको प्रयोग गर्ने कलाकार मात्रै नभई ऊ स्वयं एक धर्मभीरु औँ शास्त्र परिचित प्राणी भएको प्रमाणित हुन्छ । शास्त्रको गूढ रहस्यबाट आफू राम्ररी परिचित भएकोले नै उसले आफ्नो कलाकृतिलाई यति सजीवता दिन सकेको हो ।

६. नेपाली कलाको सार-शैली समकालीन भारतीय कलाको सार-शैलीसित मिल्दो-जुल्दो देखिएता पनि नेपाली कलाकारहरूले आफ्ना कृतिमा मौलिक तत्त्वका छाप स्पष्ट छाडेका छन् । विषयवस्तु र शैलीको मेल भएतापनि नेपाली कला भारतीय कलाको प्रत्यक्ष प्रभावबाट मुक्त छ । यसलाई नेपाली कलाको गतिशीलताको रूपमा बुझ्नुपर्दछ । (जुन कुरा बूँदा ४ (ख) मा पनि परिहाल्यो ।)

निष्कर्ष : 

यी सबै चर्चा गर्नुको कारण मूर्ति एउटा ढुंगा मात्रै होइन भन्नु र विष्णुविक्रान्तको मूर्तिले संरक्षण पाओस् र नेपालको इतिहासको बृहत्तर पाटो जोगिओस् भन्ने हार्दिक सदिच्छाबाहेक अरू केही पनि होइन । अतः बाँकी कुरा समयकै मर्जी !

अस्तु !


अघिल्ला भागहरू :

ढलमा डुबिरहेछन् १५ सय वर्ष पुराना विष्णुविक्रान्त

पशुपतिका विष्णुविक्रान्तले बताइरहेका ‘वैष्णव-शैव’बीचको द्वन्द्व र मेलमिलापको कथा

Tags:

सम्बन्धित समाचार