शुक्रबार , फागुण १८, २०८०

हजुर बा, “म तिमीलाई पछ्याउँदै छु”

साँच्चै हजुर 'बा' र म घण्टौँसम्म गफिन्थ्यौँ । उहाँले यात्रा वृत्तान्तहरू बढी सुनाउनुहुन्थ्यो । ज्याला मजदुरी गर्न जाँदा भोगेका सुख र दुःखका कथाहरू सुनाउनुहुन्थ्यो । म प्रश्न गरिरहन्थेँ, उहाँ सुनाइरहनु हुन्थ्यो । सुन्ने र सुनाउने क्रम जारी थियो । एक दिन बिहान हामी गफिएर छुटिएका थियौँ, साँझ घर फर्कँदा उहाँ निदाउनुभएको रहेछ । सधैँका लागि। यो करिब १६ वर्ष अघिको घटना हो ।

image

हजुर ‘बा’ पिँडीमा बसेर पेरुङ्गो बुन्दै हुनुहुन्थ्यो । म नजिकै गएर बसेँ । बाँसको चोयाले मेरो आँखामा घोच्यो । सायद हजुर ‘बा’ ले म नजिकै गएर बसेको थाहा पाउनु भएन । आफ्नै ध्यानमा हुनुहुन्थ्यो । काम गरिरहेको ठाउँमा नजिकै गएर टुप्लुक्क बस्नु मेरै गल्ती थियो । म पछाडि फर्केर चोयाले भुईँ कोट्याउँदै रुन थालेँ । एकैछिनमा दुखाई कम भयो । रोएर कम भएको हुन सक्छ । रुवाइले दुःख/पिडा कम गराउँछ, यो त सत्य नै हो । दुई थोपा आँसु बगाउँदा पनि गह्रुँगो मन हलुका हुन्छ । एकैछिनको रोदनले मलाई पनि शान्त बनायो ।

“ओइ काले ! अलि उता (नजिकै रहेको पिर्का देखाउँदै) उ त्यो पिर्कामा बसेर हेर ।” मेरो रोदनको सुँक्कसुँक्क आवाज हराएपछि हजुर ‘बा’ ले भन्नुभयो । म अलि पर गएर त बसेँ । तर, हजुर ‘बा’ ले भन्नुभएको पिर्कामा बसिनँ । मैले पिँडीको अर्को डिलमा रहेको चकटी ल्याएर बसेँ । हजुर ‘बा’ ले पुलुक्क हेर्नुभयो । केही बोल्नु भएन । किनकि म उहाँसँग रिसाएको थिएँ । त्यो काठको पिर्का हजुर बा’ ले नै बनाउनुभएको थियो । चकटी चाहिँ आमाले बुन्नुभएको थियो ।

आफूले बनाएको पिर्कामा नबसेर आमाले बुनेको चकटीमा बसेको देखेपछि हजुर ‘बा’ बोल्न खोज्नु नै भएन । म जुरुक्क उठेर पिर्कामा गएर बसेँ । हजुर ‘बा’ मुसुक्क हाँस्नुभयो । मैले केही प्रश्न गरिनँ । हजुर ‘बा’ आफैँ बोल्न थाल्नु भयो, “पहिला पहिला हामी नुन बोक्न पालुङ, भैँसे, भीमफेदी जानुपर्थ्यो । त्यो भन्दा अगाडि त झन् नेपाल नै पुग्नुपर्थ्यो रे ।”

“त्यो भनेको कहाँ हो मेमे ?” मैले सोधेँ । हजुर ‘बा’ ले थुप्रै ठाउँहरूको नाम लिनुभयो । मैले सबै स्मरणमा राख्न सकिनँ । तर, डाँडेबास, पालुङ, शिखर कोट, टिस्टुङ, भैँसे, भीमफेदी, चित्लाङ आदि नामहरू चाहिँ सम्झेको थिएँ । त्यसबेला उहाँले गोपाल गाउँ र गोपाल साथीको बारेमा पनि कुरा गर्नुहुन्थ्यो । “टिस्टुङ भन्ने ठाउँमा गोपाल गाउँ छ, त्यहाँ मेरो गोपाल साथी पनि छ । उनको होटेल छ । म त्यहाँ पुगेपछि गिलास भाँडाहरू माझिदिन्छु । अनि मलाई सित्तैमा चिया खाजा दिन्छ ।” उहाँले सुनाउनुभएको थियो ।

मेरा निम्ति आमापछिको प्रिय हुनुहुन्थ्यो हजुर ‘बा’ । कान्छो नाति भएकाले हो या मेरो जिज्ञासु स्वभावका कारण, उहाँ मलाई अलिक बढी नै प्रेम गर्नुहुन्थ्यो । म जिज्ञासु थिएँ र छु । म हजुर ‘बा’ सँग प्रश्न गरिरहन्थेँ । हजुर ‘बा’ पनि उहिलेका आफ्ना अनुभवहरू सुनाउन रुचि राख्नुहुन्थ्यो । सायद बुढेसकालमा प्राय: सबैलाई त्यही इच्छा हुँदो हो, आफ्ना जीवनका अनुभवहरू सुनाउने । मलाई उहिलेका कुराहरूमा विशेष चाख लाग्थ्यो/छ । हजुर ‘बा’ सँग उहिलेका कुराहरू सोधेको देखेर/सुनेर छिमेकीहरूले मलाई ‘मेमे खेप्पा’ (तामाङ भाषामा ‘मेमे खेप्पा’ भनेको ‘बुढो बाजे’) भनेर पनि बोलाउन थालेका थिए । साँच्चै हजुर ‘बा’ र म घण्टौँसम्म गफिन्थ्यौँ । उहाँले यात्रा वृत्तान्तहरू बढी सुनाउनुहुन्थ्यो । ज्याला मजदुरी गर्न जाँदा भोगेका सुख र दुःखका कथाहरू सुनाउनुहुन्थ्यो । म प्रश्न गरिरहन्थेँ, उहाँ सुनाइरहनु हुन्थ्यो । सुन्ने र सुनाउने क्रम जारी थियो । एक दिन बिहान हामी गफिएर छुटिएका थियौँ, साँझ घर फर्कँदा उहाँ निदाउनुभएको रहेछ । सधैँका लागि । यो करिब १६ वर्ष अघिको घटना हो ।

उहाँका सुनाउन बाँकी कथाहरू कति थिए, थाहा भएन । तर, मेरा प्रश्नहरू भने थुप्रै थिए । ती सबै उहाँसँगै गए । ती अनुत्तरित प्रश्नहरू कहिल्यै सोधिने छैनन् । त्यसपछि पनि मभित्र केही नयाँ प्रश्नहरू नजन्मिएका होइनन्, तर मैले कसैलाई सोधिनँ । बरु कतिपय प्रश्नहरूको जवाफ आफैँले दिन थालेँ । हजुर ‘बा’ को मृत्यु देखेपछि मेरा प्रश्नहरू कम हुँदै गए । सायद मभित्रको मृत्युको चेतसँग प्रश्नहरू हारे । अहिले म कम प्रश्न गर्छु, यद्यपि प्रश्न गर्ने पेसामा छु । खैर, कथातिरै लागौँ ।

मलाई हजुर ‘बा’ ले आफ्नो यात्रा वृत्तान्तमा वर्णन गर्नुभएका ठाउँहरूमा उहाँको पाइला पछ्याउँदै पुग्ने मन थियो र छ । हजुर ‘बा’ ले हिँडेका गोरेटाहरू मासिए होलान्, पैतालाका डाेबहरू मेटिए हाेलान्, भारी बिसाएका चौतारीका डिल भत्किए होलान्, ढले होलान्  छहारी दिएका रुखहरू, नासिए होलान् वास बसेका पाटी पौवाहरू, बाटाका गाउँहरू बजार बने होलान् त बजारहरू सहर पनि बने होलान् । तैपनि उहाँका यात्रा वृत्तान्त सुनाउँदै गर्दा मानसपटलमा बनेका चित्रहरू मेटिएका छैनन् । हजुर बा’ को पैतालाका डोबहरू पछ्याउँदै काठमाडौँ पुग्ने संयोग केही दिन अघि जुर्‍यो । धादिङको बेनीघाट रोराङ-१ को जरूङ गाउँदेखि मकवानपुरको कैलाश गाउँपालिकाको वैकुण्ठ, खाेलाखर्क, डाँडाखर्क, चामाखर्क, गाेगने, पगनी डाँडेबास  हुँदै मकवानपुरकै थाहा नगरपालिकाको पालुङ उपत्यका, टिस्टुङ, चित्लाङ हुँदै चन्द्रागिरि डाँडा छिचोलेर काठमाडौँ उपत्यका प्रवेश गर्ने योजना बन्यो । सहयात्राका लागि तीन जना साथीहरू तयार भए । म सहित चार जना हुने भयाैँ । अभिमान, जयराम, प्रवीण र म । साइनोले अभिमान मेरा दाइ हुन् । जयराम र प्रवीण चाहिँ मामा । उहाँहरू दाजुभाइ ।

बिहान ७ बजे घरको आँगन छोड्यौँ । यात्रा अघि बढ्यो ब्राेम्दीङ डाँडातिर । तर, डेढ किलोमिटर पार गर्न नपाउँदै हामी रोकियौँ । सामुन्ने उभिएको नाङ्गी डाँडा र माछापुच्छ्रे अग्लाइको रोमाञ्चक प्रतिस्पर्धाले हामीलाई रोकेर हेर्न बाध्य बनायो ।  हामी जति माथि पुग्याैँ त्यति नै अग्लो हुँदै थियो माछापुच्छ्रे, नाङ्गी डाँडा चाहिँ झनै होचो ।  अ हो ! प्रतिस्पर्धा त खासमा माछापुच्छ्रे र हाम्रो बीचमा पो भयो । हामी जति माथि पुग्याैँ उति अग्लो । माच्छापुछ्रेसँगै अन्नपूर्ण, मनासलु, गणेश, लाङटाङ सहित दर्जनौँ चुचुराहरूले हामीलाई घेर्न आए । ब्राेम्दीङ डाँडा पुगेपछि हाम्रो प्रतिस्पर्धा सकियाे । हामी हार्याैँ । तर, त्यो हारमा मजा थियो । सबै हारले दुःखी बनाउँदैनन् । कुनै कुनै हार मिठा पनि हुन्छन् । हारकाे खुसीयालीमा डाँडाका चौर अनि थुम्काथुम्कीहरूमा लडीबुडी खेल्यौँ । मन मस्तिष्कमा आनन्दको ऊर्जा भर्दै लाग्यौँ गन्तव्यतिर ।

मकवानपुरको कैलाश गाउँपालिका-२ स्थित वैकुण्ठ गाउँमाथिको डाँडामा हामी फेरी भुल्यौँ । त्यहाँ डाँफे मुनाल पार्क छ । गुरु रिम्पाेछेकाे मूर्ति पनि छ । जसले त्यस परिसर पुग्ने जोकोहीलाई थोरै समयका लागि भए पनि भुलाइदिन्छ । पार्क र मूर्तिको सुन्दरताले लोभ्याउने नै भयो । प्राकृतिक सुन्दरताको अद्भुत संयोजनले फेरि रोकिदिन्छ । त्यति सुन्दर डाँडामा बनेको पार्क र गुरु रिम्पाेछेकाे मूर्ति सुन्दरतामाथि गहना बनेका छन् । सुन्दरतामाथि सुन्दरता थप्न झनै सुन्दर गहनाको सिर्जना गर्ने कैलाश-२ का वडाध्यक्ष राजेन्द्र घिसिङलाई धन्यवाद मनमनै धन्यवाद दिँदै हामी अघि बढ्यौँ ।

कैलाश गाउँपालिकाको वैकुण्ठ, खाेलाखर्क, डाँडाखर्क हुँदै चामाखर्क पुग्दा मध्यान्हको १२ बज्यो । पेटमा मुसा दौडिन थालेको  थियो अनि ओठ सुख्खा । एउटा पसलमा पस्यौँ । गोर्खा स्ट्रङले ओठ भिजाउँदै पेटभित्रको मुसाको लागि चाउचाउ र अण्डाको मिश्रण बनाउन अह्रायौँ ।

“यो त पहिलो तामाङ मन्त्री जन्माएको ठाउँ हो  नि !” प्रसङ्ग निकालेँ । अनि थप्दै भनेँ, “तामाङ समुदायबाट पहिलाेपटक मन्त्री बनेका तीलक बहादुर नेगीको जन्मथलोमा हामी छौँ। साबिक डाँडाखर्क गाविस हाल कैलाश गाउँपालिकामा पर्ने यही चामाखर्कमा उहाँको जन्म भएको थियो । उहाँ २०३८ सालमा सहायक श्रम तथा समाजकल्याणमन्त्री बन्नुभएको थियो । हाल काठमाडाैंकाे थानकोटमा बस्नुहुन्छ ।” साथीहरू चुपचाप नै रहेपछि भित्रबाट पसलकी दिदी बाेलिन्, “अहिले त बुढाे हुनुभयो, नब्बे वर्ष पुग्न लाग्यो होला ।”

उहाँबारे थप जानकारी पाइन्छ कि भनेर मोबाइलमा गुगल गरेँ । तर, पाइनँ । तामाङ समुदायबाट पहिलो मन्त्री बन्नुभएको व्यक्तिबारे कसैले नलेखेका रहेछन् । लेख्ने मानिस भएन वा उहाँले लेखाउनु भएन, थाहा भएन । तर, लामो राजनीतिक सङ्घर्ष गरेर एउटा समुदायबाट पहिलो पटक मन्त्री पदमा पुग्ने व्यक्तिबारे लेखिन जरुरी छ । उहाँ र उहाँका राजनीतिक सङ्घर्षलाई पढ्न जरुरी पनि छ ।

पहिलो तामाङ मन्त्री नेगीको चर्चा परिचर्चा गर्दागर्दै चाउचाउ अण्डाको झोल तयार भयो । भोक उत्कर्षमा पुगेको भएर होला, खुबै मिठो लाग्यो । भोकले खानालाई मिठो बनाउँछ । स्वादिलो बनाउँछ । साँच्चै स्वादिलो थियो, चाउचाउ अण्डाको झोल ।

पहिलो तामाङ मन्त्री जन्माएको ऐतिहासिक भूमिमा बसेर पेट भरेपछि नयाँ ऊर्जा र उमङ्ग भर्दै उकालो लाग्यौँ । करिब डेढ घण्टाको यात्रापछि डाँडेबास पुग्यौँ । एउटा सुन्दर अनि पुरानो बजार हो, डाँडेबास । उहिले धादिङको दक्षिणी भेग, मकवानपुरको पश्चिम-उत्तरी भेगका मानिसहरू पालुङ, भैँसे, भीमफेदीमा नुन बोक्न आवतजावत गर्दा बास बस्ने ठाउँ हो, डाँडेबास । ढाक्रेहरूको बाक्लो आवतजावत हुने गोरेटोमा परेकोले उहिल्यै विकास भएको सुन्दर बजार डाँडेबासमा अहिले पनि सयौँ वर्षअघि बनेका घरहरू छन् । ती अति नै सुन्दर छन् । जुन घरहरूमा मेरा  पिता पुर्खाहरू पनि बास बसेका  थिए । हाम्राे पनि पुर्खाहरूले खाने बस्ने गरेको ठाउँ डाँडेबासमा  ढिँडो खाने सल्लाह भयाे ।

बजारबीचकाे सडक छेउमा मकै निफन्दै गरेकी एक जना दिदीलाई  सोधेँ, “दिदी यता ढिँडो खाने ठाउँ कहाँ छ ?”

“कति जना हो तपाईँहरू ?” दिदीले प्रतिप्रश्न गरिन् ।

“हामी चार जना छौँ” मैले भनेँ ।

“तरकारी के खानुहुन्छ ?” दिदीले साधिन् ।

सुकुटी माछा जे भएपनि हुन्छ भनेँ । दिदीकाे आफ्नै हाेटल रहेछ । त्यही भएर ढिँडो खाने ठाउँ सोध्दा कति जना भनेर सोधेकी रहिछन् । पछि बुझेँ । दिदीकाे पसलको बोर्डमा लेखिएको थियो, थिङ खाजा घर । बोर्ड देखेपछि थाहा भइहाल्यो, दिदी तामाङ हुन् । हामीले तामाङ भाषामै बोल्न थाल्यौँ । दिदीले खाना पकाउन सुरु गर्दै थिइन् । हामी चाहिँ बजार डुल्न निस्कियौँ । उत्तरतर्फको हिमशृङ्खलालाई पृष्ठभूमि बनाएर दुई चार थान तस्बिर कैद गर्याैँ । अनि फर्कियौँ, थिङ खाजा घर । सुकुटी, माछा, मुलाको अचारसँग मिठो ढिँडो खायौँ । कहिबेर पेटभित्र पुगेको खानालाई आराम दिएपछि लम्कियौँ गन्तव्यतिर…..(यात्रा जारी रहनेछ)

सम्बन्धित समाचार