शुक्रबार , अषोज १४, २०७९

चुङ्बा शेर्पाले खिचेका अति दुर्लभ जंगली याकको तस्बीर हेर्नुहोस्..

सम्भवतः नेपालमा भेटिएकाे वाइल्ड याककाे उत्कृष्ट तस्वीर यही नै हाे ।

image

काठमाडौं । वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले अति दुर्लभ जंगली याकको तस्बीर खिचेका छन् । हुम्लाको लिमी भ्यालीको जंगली क्षेत्रमा उनले जंगली याकको तस्बीर खिचेका हुन् ।

हिमाली ब्वाँसोमा अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्दै गरेकी स्वीस जन्तुविद् जेराल्डिन वेरहान र वन्यजन्तु अनुसन्धानकर्ता नरेश कुसीको टीमले यस्तै याकको तस्बीर २०१४ मा खिचेको थियो, जुन फोटोलाई पछि पाँच रुपैयाँको नोटमा अङ्कित गरिएको थियो । त्यसयता जङ्गली याकलाई आफ्नो क्यामेरामा कैद गर्ने अवसर कसैले पाएको थिएन । ८ वर्षपछि वाइल्डलाइफ फोटोग्राफर शेर्पा जङ्गली याकको तस्वीर खिच्न सफल भएका हुन् । सम्भवतः नेपालमा भेटिएकाे वाइल्ड याककाे उत्कृष्ट तस्वीर यही नै हाे ।

अति दुर्गम क्षेत्रमा हेलिकोप्टरमार्फत पुगेका शेर्पाले आफ्नो यात्रा सफल भएको बताएका छन् । “नेपालमा विलुप्त भइसकेको मानिएको तर हिमालयन ब्वाँसाहरूमा अनुसन्धान गरिरहेको टोलीले सन् २०१४ मा पुनः पत्ता लगाएको स्तनधारी प्राणीलाई क्यामरा कैद गर्न पाउँदा खुसी छु । यसअघि नरेस कुसीको टोलीले खिचेको तस्विरले नयाँ ५ रुपैयाँको नोटमा ल्याएको थियो । त्यस पछि कतै कतै देखिन सकेको थिएन तर ३ दिनको अन्तरालमा १, २ वटा होइन ४ वटा हिमालयन वाइल्ड याक्स (बोस मुटस)लाई क्यामरामा समात्न पाएकोमा म आफूलाई भाग्यमानी ठान्दछु”, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

याकसँग मिल्दोजुल्दो जंगली चौरी याकभन्दा झण्डै डेढ गुणा ठूलो र प्रायः कालो रंगको भेटिएका छन् । जंगली याकको भुत्ला घरपालुवा याकको तुलनामा लामो र कालो हुने गर्दछ । याक र जंगली याक एउटै पूर्वज ‘बस् प्रिमिजेनियस्’ बाट छुट्टिएका हुन्, जुन संसारबाट लोप भइसकेको बताइन्छ ।

जंगली याकलाई विश्व प्रकृति संरक्षण संघ (आईयूसीएन) ले अति संवेदनशील (भल्नरेबल) सूचीमा राखेको छ । विभिन्न अध्ययन प्रतिवेदनले नेपालबाट जंगली याक लोप भइसकेको देखाइरहँदा लिमीमा जंगली याक भेटिनु सुखद जानकारी हो । तर, कुनै पनि बेला पुनः लोप हुनसक्ने खतरा भने टरेको छैन । यसकारण यथातर्फ सोचिहाल्नुपर्नेछ ।

सम्बन्धित समाचार