बुधबार , साउन ९, २०८१

दबु अर्थात् डबली

टोल टोलमा बनाइराखेको दबुको छुटै महत्त्व रहेको हुन्छ ।

image

  • जीआर रञ्जित

आधुनिक समयमा मनोरञ्जनका विभिन्न माध्यमहरू छन् । मनोरञ्जनका निमित्त राज्य स्तरबाट वा नागरिक स्तरबाटै विभिन्न हल, थ्रेटर, QFX आदि बनाएका छन् तर मल्लकालमा यस्ता माध्यमहरू थिएन । तसर्थ त्यस समयमा मनोरञ्जनका निमित्त ठाउँ ठाउँमा दबुहरू बनाएको थियो । त्यसै दबुहरूमा विभिन्न प्रकारको देवी प्याखं, भैल प्याखं, ख्यागोरा प्याखं, कवांचा प्याखं, ख्यालहरू, प्रस्तुत गर्ने गर्दथ्यो जुन हाल सम्म पनि प्रस्तुत हुँदै आएको छ । उक्त प्याखंहरू हेरेर मानिसहरू निकै रमाउने गर्दछन् ।

विशेषगरी यस्तो प्याखं गाईजात्राको समयमा मञ्चन गर्ने गर्दछन् । मध्यरातको ११-१२ बजे सम्म मञ्चन हुने यस नाचहरू हेर्नेहरूको लर्को नै लाग्ने गर्दछन् । टोल टोलमा बनाइराखेको यस प्रकारको दबुको छुटै महत्त्व रहेको हुन्छ । भक्तपुरमा पनि यस्ता दबुहरु टोल टोलमा पाइन्छन् । तर विशेष गरि भक्तपुरको पाँच ठाउँमा रहेको यो दबुको विशेष महत्त्व रहेको छ । १. टौमढी दबु, २. नासमना दबु, ३. दरबार स्कवायरको भण्डाल पुखु अगाडिको दबु, ४. दत्तात्रयको भीमसेन मन्दिरको अगाडिको दबु र ५. सुर्यमढी दबु ।

यी ५ वटा दबुहरूको अवलोकन गर्ने हो भने एकरुपता पाइन्छ । यी दबुहरूको मुख भागतिर ढुङ्गाको ५ वटा कचौरा आकारको कलात्मक सम्पदा रहेको छ । यस दबुमा विशेष गरि अजाजुद्य:लाई पञ्चदान र सम्यकदान गर्ने कार्य हुँदै आएको छ भने करिब ३०-३५ वर्ष देखि लोप भैसकेको ख:प्याखं (महाभारतकालीन कथाको प्रस्तुति) मञ्चन गर्ने गर्थ्यो । यो प्याखं १२ वर्षको एक पटक मात्र प्रस्तुत गर्ने चलन थियो जुन प्याखं ४ देखि २८ दिन सम्म प्रस्तुत गर्ने गरिन्थ्यो ।

त्यसैगरी टौमढी दबुमा मल्लकालीन “मल्लयुद्ध” पनि सञ्चालन गर्ने गर्दथ्यो । यसको लागी राज्यले मल्लयुद्ध कर समेत सङ्कलन गर्ने गर्दथ्यो भने अर्को एक सार्वजनिक क्रियाकलाप हुने गर्थ्यो जसलाई “मु पुइकेउ” भनिन्छ । यसको मतलब कसैले लिएको ऋण चुक्ता गर्न आनाकानी गरेमा सार्वजनिक रूपमा यस डबुमा उभ्याएर ऋण माफी गर्न लगाउने हो । यसको तात्पर्य सार्वजनिक रूपमा बेइज्जत गर्नु हो र पछि कसैले विश्वास गरि ऋण प्रदान नगर्नु भन्ने सन्देश दिनु समेत हो ।

Source: Raj Suwal, Rajesh Gaiju

सम्बन्धित समाचार