बिहिबार , फागुण १७, २०८०

अस्तित्व संकटमा गुप्तेश्वर गुफा (भाग-१)

गुफा सहित गुफा परिसरको भजनमण्डली, तल्लो सत्तल, गुफामाथि रहेको गायत्री मन्दिर परिसर सहितको पाखा भासिने जोखिम टड्कारै छ ।

image

पर्वत । पुरातात्त्विक र वैदिक परिचय दिने ‘भालु दुलो’ नामले परिचित कुश्मा नगरपालिका वडा नं ४ स्थित गुप्तेश्वर गुफाको अस्तित्व सङ्कटमा परेको छ । कमिसनको लोभमा अनेकन् शीर्षकमा हचुवामा सञ्चालित योजनाहरूबाट नगरपालिकाको उत्तर–पश्चिम कालीगण्डकी तटमा अवस्थित गुप्तेश्वर गुफा संकटासन्न रहेको हो ।

गुफा प्रवेशद्वारको ज्यानमारा विद्युत् ट्रान्सफर्मर, डौँडारे खोलाले बर्सेनि निम्त्याउने जोखिम, खुलेआम जग्गा अतिक्रमण, ग्रील र कङ्क्रिटको थुप्रो (निर्माणाधीन शिव-पार्वती पार्क) लगायत अविवेकी गतिविधिहरूले आदिम युगलाई बचाइरहेको गुफालाई तथानामको विकासले आपतविपतको स्थितिमा पुर्‍याएको हो ।

गुफा प्रवेशद्वारमाथि कंक्रिटको ‘भव्य संरचना’ ओढाइएको छ

इतिहास:

ज्ञात इतिहास अनुसार, कालीगण्डकी नदीमा नुहाएर फर्कँदै गर्दा वि.सं. १९९१ चैत्र ६ गते स्थानीय रत्नबहादुर कार्की, दलबहादुर राना मगर, रूपनारायण श्रेष्ठ, सर्वजीत खत्री र श्यामप्रसाद जोशीसहित पाँचजना युवा प्रथमपटक गुफामा प्रवेश गरेका थिए । यसपछि गुफाले स्थानीय समाजसँग परिचय साट्यो र आफू विराट र अलौकिक रहेको एकपछि अर्को प्रमाण पेश गर्‍यो ।

फरक भौगोलिक विशेषता बोकेको जिल्ला सदरमुकाम कुश्मा (कुमुपुर/कुशुमपुर)लाई तत्कालीन समयमा भोट-मधेश गर्ने नाकाको रूपमा  लिइन्थ्यो । उतिबेलै काठमाडौँ-पोखरा हुँदै मुक्तिनाथ, दामोदरकुण्ड, मानसरोवरसम्म जाने स्वदेशी-विदेशीहरूको आगमनसँगै कुश्मामा आर्थिक चहलपहल बढ्दै गयो । फलतः गुफा जनमानससम्म पुग्यो ।

यसैक्रममा, राजा महेन्द्र पनि कुश्मा आइपुगे । ०१५ सालमा तत्कालीन राजा महेन्द्रको पश्चिम क्षेत्रको भ्रमणको सिलसिलामा यहाँ आइपुगेका बताउँछन्, स्थानीय जगदीश श्रेष्ठ । “त्यतिबेला तीन तले गुप्तेश्वर गुफालाई राजा महेन्द्रले एक हजार मुरी माटो दान दिएका थिए”, उनले भने । हाल भक्तजनहरूले क्रमशः पहिलो तलालाई स्वर्गलोक, दोस्रोलाई ब्रह्मलोक जस्ता नाम दिएको पाइन्छ ।

गुफाभित्र अन्गीनत यस्ता पुरातात्त्विक आकृतिहरू छन्

२०१९ साल माघ १६ गते पोखरा मल्टिपल हाइस्कुलका प्रधानअध्यापक नवीनकुमार श्रेष्ठसहित सातजना कुश्मा आइपुगेको स्मरण गर्छन्, साहित्यकार एवम् गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाका पूर्व अध्यक्ष शान्तिनारायण श्रेष्ठ (जन्म:१९९६) । उनीहरूलाई गुफा घुमाउने जिम्मा श्रेष्ठले पाए । “उहाँहरूलाई गुफा छ भन्ने थाहा भएको तर, कहाँ छ/कसरी जाने थाहा रहेनछ । म कालीगण्डकीमा पौडी खेलेर फर्कँदै थिएँ, उहाँहरूसँग भेट भयो”, उनी आफ्नो युवावय सम्झँदै भन्छन् ।

२००१ सालमै आफ्ना केही साथीसहित गुफाको तीन तलासम्म उक्लिएर गुफाको कुना-कुना चहारिसकेका श्रेष्ठले कुशलतापूर्वक आफ्नो भूमिका निभाए । “गुफाको प्रचारप्रसार खासै नहुँदा पनि उहाँहरू यहाँ आइपुग्नुभयो । गुफा घुमिसकेपछि उहाँहरूले गुफा अलौकिक रहेको तर यसको प्रचारप्रसारका लागि पुस्तक, ब्रोसर, पम्पलेट, गाइड पुस्तकको आवश्यकता औँल्याउनुभयो”, श्रेष्ठ भन्छन् ।

साहित्यकार एवम् गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाका पूर्व अध्यक्ष शान्तिनारायण श्रेष्ठ (बायाँ)

‘गुप्तेश्वर खण्डकाव्य’ले दिलाएको गुफाको परिचय

यसपछि गुफाको प्रचारप्रसारकै खातिर श्रेष्ठले १० दिनमै अर्थात् २०१९ माघ २६ गते ‘गुप्तेश्वर खण्डकाव्य’ तयार पारे ।

त्यतिबेला स्थानीयस्तरमा स्थानीय सामग्री अध्ययन, अनुसन्धान, प्रकाशन गर्ने प्रेस थिएन । पाण्डुलिपि त्यसै रहिरह्यो । पछि, २०२४ सालमा उनी चितवन (सहकारी सब इन्स्पेक्टर, भूमिसुधार कार्यालय) मा रहँदा साक्षातकार प्रेस, नारायणघाट पुगी १००० प्रति पुस्तक (रु. १० मोल) प्रकाशन गरे । यस पुस्तकले गुफाको प्रचारप्रसार तथा विकासमा मनग्य टेवा पुर्‍याएको दाबी श्रेष्ठको रहेको छ ।

छन् राम, सीता, लक्ष्मण, साथै निहुरेका हनुमान ।
भरत अनि शत्रुधन पनि, ठीक मिल्ने अनुमान ।।
चौतर्फी हेर्नुस् पखेरा भीर, बीचमा चौका छ ।
त्यसैमा राम विराजमान, हेरने मौका छ । (गुप्तेश्वर खण्डकाव्य, पृ.१९)

यसप्रकार, गुफाको वृहत् आकार, गुफामा खोपिएका उत्सुकता, रहस्य, सपना, आशा र सम्भावनाका दृश्यहरूको चामत्कारिक वर्णन प्रचारमा आयो । फलतः टाढाटाढाबाट दर्शनार्थीको घुइँचो लाग्न थाल्यो । र, लागिरह्यो ।

बिडम्बना, गुफाले त्यो प्रचार र परिचय लामो समयसम्म स्थापित गर्न सकेन, जो देशका अन्य गुफाले कायम राखे । अव्यवस्थापन र आर्थिक अकर्मण्यताका कारण बर्सेनि गुफाको मौलिकता मासिँदै गयो । पोखराको महेन्द्र गुफासहित अन्यत्रका गुफाहरू परिचयमा आउँदै गर्दा गुप्तेश्वरका गुहालेख, गुहाचित्र, शिलानिर्मित मूर्ति, चट्टान अभिलेखको अन्वेषण, अनुसन्धान त परको कुरा, यथेष्ट प्रचारप्रसार समेत हुन पाएन ।

आक्कलझुक्कल गुप्तेश्वर गुफा पुग्ने बाह्य पर्यटकहरू कहिलेकसो भन्ने गर्छन्, “बाफरे, क्या बेजोड ।”  तर, यी आवाजहरूले त्यो सामूहिक स्वर पाएन । अतः गुप्तेश्वर गुफाका दुखाइ, हेपाइ, चेपाइ र लुटाइका अनगिनत कथाहरू आजसम्म भनिएका छैनन्, सुनिएका छैनन् ।  र, यहाँ अब त्यही गरिनेछ –  गुफाका दुःखका पहाडहरू, अप्ठ्याराका अङ्कुसेहरू, कोपरिरहने कर्कसे काँडाहरूको यथार्थ वर्णन ।

बन्जी हान्नुभन्दा गुफा छिर्नु साहसिक 

कुश्मा हाल बन्जी जम्पका लागि प्रख्यात थलो बन्दैछ । द क्लिफ प्रा.लि.ले विश्वकै दोस्रो अग्लो बन्जी जम्प ( २२८ मिटर/९,७४८ फुट) सहित अन्य साहसिक गतिविधि सञ्चालनमा ल्याएसँगै कुश्मा पर्यटकीय हबको रूपमा जुर्मुराउँदैछ ।

दुर्भाग्य, बन्जी हान्न ओइरिने लर्कोमध्ये सीमित व्यक्तिमात्रै गुफा छिर्ने गरेका छन् । क्लिफ प्रा.लि.मा आएका पर्यटकहरूमध्ये १ प्रतिशतमात्रै गुफा छिर्ने आँकलन छ । उनीहरूलाई गुफासम्म पुर्‍याउन सामान्य होर्डिङ बोर्ड, सूचनापाटीसम्म यहाँ देख्न पाइँदैन । केही ठाउँमा भएता पनि तिनीहरू वैज्ञानिक छैनन् । मानिसहरू गुफा पुग्न अलमलिन्छ्न् ।

बन्जी हान्ने ठाउँदेखि ५ मिनेटकै दूरीमा रहेको तीन तलाको विराट र अलौकिक गुफाबारे थाहा दिने संयन्त्र विकास नहुनु लाजमर्दो कुरा छ ।बन्जी सरह नै गुप्तेश्वर एवम् अल्पेश्वर गुफा छिर्नु पनि साहसिक कार्य नै हो । 

netra prasad parajuli

द क्लिफ प्रा.लि.का सञ्चालकमध्ये एक नेत्रप्रसाद पराजुली

द क्लिफ प्रा.लि.का सञ्चालकमध्ये एक नेत्रप्रसाद पराजुलीका अनुसार, बन्जी हान्न मात्रै दिनमा १०० जनासम्म कुश्मा पुग्ने गरेको रेकर्ड छ । यसबाहेक अन्य साहसिक गतिविधिका लागि दिनहुँ ५ सयसम्म जिल्ला, जिल्लाबाहिर र विदेशका साहसिक पर्यटकहरू कुश्मा आउने गर्छन् ।

बन्जी हान्न आएका आन्तरिक-बाह्य पर्यटकहरूलाई गुफासहित समग्र पर्वत जिल्लामा पुर्‍याउन आफूहरू कोसिसरत रहेको पराजुली बताउँछन् । “बन्जी हान्न आउनुभएकाहरू बेलुका नै पोखरा फर्किनुहुन्छ । आएका कसैले सोध्नुभयो भने हामीले गुप्तेश्वर, अल्पेश्वर, दुर्लुङकोट, मोदी-बेनीघाटबारे बताउने गरेका छौँ । मलाई लाग्छ, यस कार्यमा पालिकाको समन्वयकारी भूमिका देखिनुपर्छ”, उनी भन्छन् ।

पर्वतमा आएका पर्यटकको बसाइँ लम्बाउन पूर्वाधार निर्माण गर्नुपर्नेमा स्थानीय तह चुकेको र अन्यत्रै भुलेको उनले बताए कुश्मा सेरोफेरोका विविध पर्यटकीय गन्तव्यस्थलहरूको छनौट र पहिचान गर्न नसक्ने राजनीतिक व्यवस्थाको सिकार भई गुफा गुमनाम हुनपुगेको पराजुलीले बताए ।

गुफा प्रवेशद्वारमाथि ओढाइएको कंक्रिटको भवन, जसको जग डौँडारे खोलाले बर्सेनि काट्दै छ

२. गुफा प्रवेशद्वारको ज्यानमारा विद्युत् ट्रान्सफर्मर

गुफा छिर्ने बाटोछेउमै विद्युत् ट्रान्सफर्मर उभिएको छ, जसले अनगिनत बाँदरको प्राण मात्रै होइन, हालसालै एक बालकको हातसमेत लुछ्यो । नेपाल विद्युत् प्राधिकरण (पर्वत) को लापरबाहीले गत वैशाख ४ गते परीक्षा सकेर विद्यालयबाट फर्किँदै गरेका आठ वर्षीय सनम परियारले आफ्नो दाहिने हात सधैँको लागि गुमाए ।

होटेलमा सरसफाइको काम गर्ने आमा फूलमाया परियार ‘गुफा जाने बाटो छेउमै जोखिमपूर्ण अवस्थामा रहेको विद्युत् ट्रान्सफर्मर तुरुन्त नहटे यसले कयौँ सनमको ज्यान लिने बताउँछिन् । “हामीले पटक–पटक जोखिमपूर्ण ट्रान्सफर्मर लाइन यहाँबाट हटाउन पहल गर्‍यौँ, विद्युत् प्राधिकरणले चासो दिँदैन । ऊ गुफाभित्र गरिएको लाइटिङबाट उठेको रकममै आँखा लगाइरहेको छ”, परियार भन्छिन् ।

यसैगरी, गुफाभित्र बिछ्याइएको तारका कारण पनि गुफा छिर्ने पर्यटकहरूमाथि जोखिम बढेको छ । गुफा प्रवेश गर्दा शरीर र टाउकोमाथि तार जेलिने जोखिम र तीर्थयात्रुहरू एक चिहान हुने खतरा पनि उत्तिकै छ । अर्कोतर्फ, गुफामा राखिएका बत्तीहरू गुफाका प्राकृतिक आकारप्रकार देखाउन असमर्थ छन् ।

गुफा प्रवेश गर्दा शरीर र टाउकोमाथि तार जेलिने जोखिम र तीर्थयात्रुहरू एक चिहान हुने खतरा उत्तिकै छ

गुफाभित्र रहेका सयौँ चमेराहरूले उस्तै संकट झेलिरहेका छ्न ।  सहरका बिजुलीको तारमा बस्ने क्रममा पनि चमेरा मर्ने गरेको चमेरामाथि अनुसन्धान गरेका युवा विद्यार्थी वसन्त शर्मा बताउँछन् ।

गुफा क्षेत्रवरपरका विजुलीका पोलले यहाँ बर्सेनि सयौँ चमेराको ज्यान लिइरहेको बताउँछन्, गुफाका पुजारी खेमनाथ पौडेल । “यहाँ त समितिपिच्छेका लहडी सोच/योजनामा काम हुन्छन् । वर्षौदेखि करोडौँको खर्च भयो भन्छन्, गुफाको जोखिम ज्यूकात्यू छ”, उनी हामीसँग चिन्ता बिसाउँछन् । 

३. स्थानीयलाई हिँड्नै सकस

घाँसपात गर्न कालीगण्डकी नदी तटतिर ओर्लँदै गरेका स्थानीयवासी गुफा वरपर खसेको पैह्रो र विद्युत् ट्रान्सफर्मर लाइनले थप दुर्घटना निम्ताउन सक्ने त्रासमा आफूहरू बाँचिरहेको बताउँछन् ।

स्थानीय पदम नेपाली विद्युत् ट्रान्सफर्मर मात्रै नभई आफूहरूले घाँसपात गर्ने मूल बाटो नै जोखिमपूर्ण रहेको बताउँछन् । “विद्युत् ट्रान्सफर्मरले मात्रै होइन, कुनबेला यो बाटोले पनि हाम्रो ज्यान लिन्छ । भित्ता कोपरेर हिँड्नु पर्छ । काली किनारसम्मै यही हालतको जोखिम छ । गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थालाई बाटो बनाइदिन कति आग्रह गर्‍यौँ, सुनेको नसुन्यै गर्छ”, उनी भन्छन्, “पहुँचवालाहरू गुफाछेउमा अन्गीनत व्यापारिक भवन ठड्याउँछन्, हुने नहुने काम गर्छ्न् । तर, हामी स्थानीयलाई त्यसको लाभांश छुट्याउँदैनन् । उनीहरूको विकासले हाम्रो विनाश हुने भयो ।”

ता, घाँसदाउरा गर्न जाने गोपाङ, अर्मादी र कालीघाटसम्म आउजाउ गर्ने बाटोहरू समेत ठाउँठाउँमा अवरुद्ध छन् । “पैदल ओहोरदोहोरगर्न पनि निकै कठिन छ, हामी त दिनहुँ घाँसदाउरा गर्न यही बाटो हिँड्नुपर्छ । आज हो या भोलि यो बाटो खस्ला भन्ने डर छ, वर्षायाम त झन् कसरी हिँड्ने ?”, स्थानीय सुमन जिसी प्रश्न गर्छन् ।

संरचनामुखी विकास खर्चले मानिसको दैनिकीलाई सम्बोधन गर्न नसकेको यो दोस्रो दृश्य हो ।

यो पनि पढ्नुहोस्: कङ्क्रिट र ग्रीलको थुप्रो: कुश्माको शिव-पार्वती पार्क

डौँडारे खोलाले बर्सेनि निम्ताउने जोखिम

गुप्तेश्वर गुफा छेउ भएर बग्ने डौँडारे खोलाले निम्ताउने जोखिम बर्सेनि बढ्दो छ । पाखाथरवासीहरू के हिउँद के वर्षा, पहिरोको सन्त्रास भोग्न अभिसप्त छन् । नगरपालिकाले अभ्यास गरेको गलत विकासका कारण बर्सेनि दुर्लुङ डाँडादेखि नै जमिन भासिँदै छ ।

वर्षा सहकाल हो, तर कुश्मावासीका लागि महाकाल हुँदैछ । हिउँदमा डोजर लगाएर सडक खन्ने र अबीर जात्रा गर्नेहरूले वर्षामा त्यही अव्यवस्थित सडकले निम्त्याएको पहिरोका कारण गाउँ-पाखो खसिरहेको चुपचाप हेरिरहेका छन् । पहिरो दशकौँदेखि खसिरहेको छ । पानीका मुल मुहान सुक्ने समस्याहरू बढ्दो छ । वर्षेनी आउने लगानि प्रत्युत्पादक छैन ।

“निर्माण व्यवसायीहरू पहिरोले बगाएको ढुङ्गा/गिट्टी (ग्रेगरको थुप्रो) सोहोरेर अकुत कमाइरहेका छन्”,  कालीगण्डकी बचाऔँ अभियन्ता एवम् प्रकृति चिन्तक आरके अदीप्त गिरि भन्छन्, “नगर तटबन्ध गर्नतर्फ सोच्दैन, तिनै व्यवसायीसँग कमिशन माग्छ ।” डौँडारेको सौम्य प्रवाहको लागि राजनीतिक प्रजाति (राज्यले लाज ढाक्ने)का सिसौ-सल्लो एवम् मिचाहा प्रजातिका रुख-बुट्यान, झाडीहरू हटाउनुपर्ने एवम् अवैज्ञानिक बस्ती विकास र शहरीकरणको उन्मत्तता थाम्नु पर्ने उनको भनाई छ । 

आरके अदीप्त गिरि

“कुश्माको जमिन अत्यन्तै कमजोर छ । शहरीकरण तीव्र छ । वातावरणीय प्रभावको ख्याल नै नगरी हामी काम गरिरहेका छौँ । यस्तो लाग्छ, आफ्नै खुट्टामा बन्चरो हानिरहेका छौँ । विकास योजनामा सकेसम्म वातावरणीय अध्ययनै नगर्ने, गरे पनि कार्यान्वयन भए/नभएको निगरानी नहुँदा कतिपय प्राकृतिक स्रोत समूल मासिँदै छन् । बाढी पैर्होले वर्षेनी क्षति पुर्याएको छ । तर, हामी टुलुटुलु हेर्नबाध्य छौँ”, उनी भन्छन् ।

“कालीगण्डकी नदीको दोहन अझै धेरै छ । दुर्लुङमा सल्लो रोपिएको छ, त्यसले जमिनलाई कमजोर बनाउने र वातावरणीय विनाश निम्ताउनेमा उनको तर्क छ । जसको संकट गुफाले बेहोरेको छ । विकासका सन्दर्भमा हामीले हाम्रा लागि दीर्घकालीन महत्त्व के हो, अहिल्यै खुट्ट्याउन सक्नुपर्छ । वातावरण तथा जैविक विविधता संरक्षण सहितको विकासले मात्र समाज दिगो रूपमा समृद्ध बनाउन सक्छ”, गिरी भन्छन् ।

कालीगण्डकी करिडोर एवम् दौडारे खोलाले वर्सेनी निम्ताउने जोखिम

गायत्री मन्दिर सहितको पाखा भासिने जोखिम टड्कारै

गुफा परिसरको भजनमण्डली, तल्लो सत्तल, गुफामाथि रहेको गायत्री मन्दिर परिसर सहितको पाखा भासिने जोखिम टड्कारै छ । डौँडारे खोलाले बर्सेनि निम्ताएको जोखिमप्रति चिन्ता नहुने हो भने निकट भविष्यमै गुप्तेश्वर गुफा पुरिन सक्ने चिन्ता व्यक्त गर्छन्, गायत्री मन्दिरका महन्त राजेन्द्र गिरि ।

कुश्माको उपल्लो बजार (पुरानो ७ र ९ नम्बर वडा) को नालीको फोहोर डौँडारे खोलामा फ्यालिँदा गुप्तेश्वर गुफा परिसरमा दुर्गन्ध बढेको गिरि बताउँछन् । गुफाको बाह्य परिसरमा यत्रतत्र फ्यालिएको फोहरको यथोचित व्यवस्थापन प्रणालीअझै विकसित हुन् नसकेकोमा उनी चिन्ता व्यक्त गर्छन् । “यहाँ पैसा आउँछ भनेर ३/३ वटा अनावश्यक शौचालय बनाइयो । गुरुकुल शिक्षा पद्धतिको आड लिएर ‘इस्कुल’ खोलेर नक्कली विद्यार्थी खडा गरियो । अनावश्यक भवन निर्माण गरियो तर कमजोर सामग्रीका कारण ती चर्किसके । यहाँ मनलाग्दी चलेको छ, बेकामी शीर्षकका खर्चहरू धेरै गरिए तर पहिरो रोकथामतर्फ सोचिएकोछैन”, उनी भन्छन् ।

गायत्री मन्दिरका महन्त राजेन्द्र गिरि

लामो समयदेखि नेपालको हिमाली तथा पहाडी गुफा अध्ययन गरिरहेका गुफा अध्येता जोनाथन मोरिस हालैको वर्षमा गएको भीषण पहिरोले मध्यपहाडी लोकमार्ग (कुश्मा हुँदै अगाडी बढ्ने) को भू-बनोट कति कमजोर रहेछ भनेर दर्शाउन गतिलो उदाहरण पेश गर्छन् । “यहाँको माटोको अवस्थिति खुकुलो र कमजोर छ । सदियौँदेखि भित्री पाटो खिइँदै गएको छ । चुनको बगाइले वरिपरिका ढिस्काहरू खसि/भत्किरहेका छन् ।

गायत्री मन्दिर सेरोफेरो र  पहरामा अड्किएका ‘ह्याङ्गिङ’ ढुङ्गा/ढिस्काहरू गुफामाथि खस्ने जोखिम बढ्दो छ”, मोरिस भन्छन् । “यसैगरि डौँडारे खोला बौलाउँदै गयो भने कालीगण्डकी थुनिने जोखिम छ”, उनी भन्छन्  । मोरिस भूगोल नचिनी विकासका गतिविधि सञ्चालन नगर्न सुझाउँछन् ।

मनोमानी रूपमा गुफाको जग्गा अतिक्रमण:

गुप्तेश्वर गुफाको विकास, संरक्षण र संवर्द्धनका लागि आएका विभिन्न स्रोतका रकमहरू भौतिक संरचना निर्माणमै खर्चिएको पाइएको छ ।निर्मित संरचनाको लगानी एवम् खर्चको वासलात पारदर्शी छैन ।

नगर, पुरातत्त्व विभाग, संस्कृति मन्त्रालयको ध्यान पुग्न सकेको छैन । हालसालै स्थानीय घनश्याम पौडेलले गुफा छिर्ने मुखैको कान्लोलाई ताँसेर निजी व्यापारिक थलो बनाइरहेका छन् । पूजा सामाग्री राख्न उनले समितिसँग स्वीकृति समेत लिएका छैनन् । यसमा स्थानीय नगर र गुफा समितिको चासो र ध्यान पुग्न सकेको छैन ।

गुफा छिर्ने मुखैकोकान्लोलाई ताँसेर निजी व्यापारिक थलो बनाइरहेका पौडेल

गुफा संस्थाका पूर्व अध्यक्ष शान्तिनारायण श्रेष्ठका अनुसार, वि.सं. २०२४ सालमा प्रशासकीय भवन निर्माण गरिँदा भवन निर्माणमा जग्गाको शोधभर्नामा यही गुप्तेश्वर गुफाको गुठी ३४८ मुरी माटो अर्थात् ७४ रोपनी जग्गा विभिन्न व्यक्तिका नाममा अतिक्रमणमा पर्‍यो । हाल ३८ रोपनी पाखा पखेरु भएको जग्गा मात्रै गुफाको नाउँमा कायम छ भने हाल गुफा उठाइएको क्षेत्र १ रोपनी पनि रहेको छैन ।

गुफा जग्गा अतिक्रमण भएको चर्चा श्रेष्ठले आफ्नो खण्डकाव्यमा यसरी गरेका छन् :

अन्यत्र पनि सार्वजनिक जमिन थिए नि ।
गुप्तेश्वरकै गुठीको जग्गा सोधभर्ना लिए नि ।।
सुकुम्वासी भनेर फेरी केहीलाई बाँड्दिए ।
मामाको धन फुपूको श्राद्ध झैँ गुठी गर्दिए ।।

अब बाँकी जगंल भएर अठ्तीस रोपनी ।
बेवास्ता गरि बस्ने हो भने हड्प्लान त्यो पनि ।।
गुप्तेश्वर प्रति अनास्था गर्‍यौँ भने त अवश्य ।
उन्नति होइन दुर्गति होला कुश्माको भविष्य ।।

अनियमितताको दलदलमा फसेको संस्थाले आयव्यय सार्वजनिक गर्दैन

गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थामा हरेक दुई वर्षमा आयव्यय सार्वजनिक गर्ने प्रावधान छ । तर, अघिल्ला कार्यसमितिले सन्तोषजनक रूपमा सो काम गरिरहेको पाइएको छैन । गुफा हेर्न आउनेहरूबाट जनही २० रुपैयाँ शुल्क गरिएको छ,  त्यसको लेखापरिक्षण हुँदैन ।

यद्यपि, संस्थाका अध्यक्ष तुलसी पौडेल लेखापरिक्षण भइरहेको दाबी गर्छन् । “सोमबार र दान पेटिकामा आउने केही रकम बाहेक संस्थासँग कुनै सहयोग छैन । यसैबाट पूजारीलाई तलब दिइरहेका छौँ । १७ मनोनीत सदस्य रहेको यस संस्थामा ११ जना कार्यसमितिमा रहेका छौँ, हाम्रो हिसाब पारदर्शी छ”, उनी भन्छन् । पौडेल नगरले जोगीको खर्च भने कहिलेकसो १५/२० हजार दने गरेको त्यसबाहेक कुनै सहयोग प्राप्त नभएको उल्लेख गर्छन् । पौडेलले गुफाले बजेट अभाव खेपिरहेको समेत बताए ।

गुफालाई सबैको गन्तव्य, पहुँचमा पुर्‍याउन र यसको विकास, संरक्षण, प्रवर्द्धन गर्न ०४३ सालमा ११ सदस्यीय ‘गुप्तेश्वर धार्मिक तथापर्यटकीय संस्थाको स्थापना गरि विधिवत् काम हुँदै आएको हो । ०५८ सालमा गुफामा बिजुली जडान गरियो  तर, समितिको दुष्नियतर बदमाशीका कारण लामो समयसम्म बिजुलीको बिलसम्म तिरिएन ।

०६४/०६५ मा शान्तिनारायण श्रेष्ठले गुफा संस्थाको अध्यक्षता सम्हाले । उनले संस्थाको कोष वृद्धि गर्नेदेखि सरकारी, गैरसरकारी व्यक्ति एवम् संस्थासँग पहलकदमी गरि गुफाको स्तरोन्नति गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरे । आफूले अध्यक्षता सम्हाल्दा समिति ऋणमा डुबेको एवम् विद्युतको बिलसम्म तिर्न नसक्ने स्थितिमा रहेको श्रेष्ठ बताउँछन् ।

चैत्र २८, २०६४ देखि गुफा प्रवेश शुल्क (रु. ५) राख्न थाले । प्रथमतः धार्मिक थलोमा कर लगाउने भनेर स्थानीयवासीले विरोध गरे तरश्रेष्ठ रोकिएनन् । एक जना कर्मचारीको व्यवस्था गरि उनलाई उठेको रकमको २५ प्रतिशत दिने व्यवस्था बसाले । पहिलो महिना ५,८००जति उठ्यो । यसरी उठेको रकम श्रेष्ठले विद्युत् प्राधिकरणलाई बुझाउन थाले र त्यो ऋण चुक्ता गरे ।

“खान पल्किएको समितिले दिनभरिको पैसाले बेलुका रोटी, खिर बनाएर खाएर सिद्ध्याइरहेको रहेछ । म र तत्कालीन कोषाध्यक्ष बाहेक पराना पदाधिकारीले दानभेटीको रकममा पारदर्शितता देखाएनन्”, उनी भन्छन् ।

श्रेष्ठका अनुसार यसपछि जिल्ला विकास समितिबाट डौँडारे खोलाले बर्सेनि निम्ताउने जोखिम र सङकटलाई जोगाउन गुफा परिसरमा तारजाली गरि व्यवस्थापन गरियो । त्यसपछिको समितिले सत्तल, मठ मन्दिर बनायो तर त्यसमा मौलिकताको ख्याल राखेन ।

गुफालाई प्राचीन स्वरूप सहित संरक्षण गर्नुपर्नेमा व्यापारिक दृष्टिकोण अपनाई पछिल्ला समितिले मनोमानी ढङ्गले ठेकेदार पोसेको श्रष्ठ बताउँछन् । “संस्था अनमियतताको दलदलमा फस्यो र गुप्तेश्वरको अस्तित्व सङ्कटमा पुग्यो”, उनी भन्छन् ।

श्रेष्ठले बताएअनुरूप नै यहाँ पुजारी निवास, सत्तल, व्यवस्थित मन्दिरलगायत पूर्वाधार निर्माण भएको देखिँदैन ।  बनाइएका संरचनालाई डौँडारे खोलाले बर्सनि खोतल्दै छ, तर संस्था पहिरो व्यवस्थापनपट्टि नलागी अनावश्यक संरचना निर्माणमै जोड दिइरहेको छ ।

गुफा परिसरमा ग्रिल र कंक्रिटको अत्याचार बढिरहेको छ

गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाले भक्तजनको सुविधाका लागि भन्दै निर्माण गरेको सिमेन्टेड सिँढी, गुफालाई पुरेर बनाइएको असुहाउँदिलो भवन एवम् सत्तलले गुफाको आदिम स्वरूप त ध्वस्त पारेको छ नै, बाटो पुनर्निर्माण एवम् सरसफाई लगायतका सामान्य काम समेत नगरेको देखेर चिन्ता व्यक्त गर्छन्, गुफाका महन्त रामअवतार गिरि । बोलबम गिरि (घुङरु बाबा) ले जलसमाधि लिएसँगै गिरि असारदेखि यस गुफामा आएका हुन् ।

गुफाका महन्त रामअवतार गिरि 

उनी गुफा दर्शनसँग जोडिएको धार्मिक आस्थाहरू नष्ट हुने क्रम रहेकोमा चिन्ता व्यक्त गर्छन् । “साधु सन्तको वास हुन् छाड्यो । कसरी संरचना बनाउने र व्यापार बढाउने भन्ने प्रवृत्ति बढ्दो छ । यसले प्रकृति दोहन त गर्‍यो नै, गुफाको चमक पनि खोस्यो ।” उनी गुफाभित्र बिछ्याएको ग्रीलसँग पनि सन्तुष्ट छैनन् ।

बोलबम गिरि (घुङरु बाबा)


गुफाभित्र बिछ्याएको ग्रीलको कथा अर्को भागमा..

गुप्तेश्वर गुफाको विकास कि विनाश ? (भाग-२)

सम्बन्धित समाचार