बुधबार , बैसाख १९, २०८१

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय २०औँ वर्षमा प्रवेश 

पोखरा महानगरपालिका–१७, रातोपैरोस्थित सङ्ग्रहालयमा हिमाल र हिमाली क्षेत्रका सम्पूर्ण गतिविधिको पहिचान झल्किने सामाग्रीहरू राखिएका छन् ।

image

काठमाडौं । पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय २०औँ वर्षमा प्रवेश गरेको छ । नेपाल पर्वतारोहण सङ्घले एक महत्त्वपूर्ण परियोजनाको रूपमा सन् १९९५ निर्माण अघि बढाएको सङ्ग्रहालय ५ फेब्रुअरी २००४ देखि अवलोकनका लागि खुला गरिएको थियो । अवलोकन भ्रमणका लागि औपचारिक रूपमा खुला गरिएको दिनलाई स्थापना दिवसको रूपमा मनाउँदै आएको छ ।

पोखरा महानगरपालिका–१७, रातोपैरोस्थित सङ्ग्रहालयमा हिमाल र हिमाली क्षेत्रका सम्पूर्ण गतिविधिको पहिचान झल्किने सामाग्रीहरू राखिएका छन् । यस सङ्ग्रहालयमा अध्ययन अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरू निकै पुग्ने गरेका छन् ।

हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिहरूको रीतिरिवाज, भेषभूषा, कला र संस्कृतिका साथै भौगोलिक अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले यो सङ्ग्रहालयलाई सञ्चालनमा ल्याइएको हो । सङ्ग्रहालयमा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जनजीवन झल्कने सामग्रीलगायत विश्वका हिमचुचुरामा आजसम्म भए/गरेका गतिविधि, पर्वतमाला, जलवायु परिवर्तनको असर, चट्टान तथा जीवजन्तुलगायतको प्रदर्शनमा राखिएको छ ।

करिब साढे ४ रोपनी क्षेत्रफल ओगटेको सङ्ग्रहालय भवनमा पर्वतारोहण, पदयात्री, हिउँचिप्लेटी, शिकार, अनुसन्धान, मानवीय गतिविधिका महत्त्वपूर्ण तथा ऐतिहासिक पक्षको प्रदर्शनी, उपकरण सङ्कलन र जानकारीमूलक सामग्रीसमेत प्रदर्शनमा राखिएको छ । नेपाल पर्वतारोहण सङ्घले खरिद गरेको १ सय रोपनी क्षेत्रफल जग्गामा फैलिएको यस सङ्ग्रहालयको बाहिरी भागमा मनासलु हिमालको प्रतिरूप निर्माण गरिएको छ । उक्त मनासलु मोडल अध्ययन अवलोकनकर्ताका लागि छुट्टै आकर्षणको केन्द्र समेत रहेको छ ।

  तस्बिर/विभिन्न अनलाइनबाट

सम्बन्धित समाचार