विद्या र मदनको प्रेम झाँगिनुमा नेता अशोक राईको भूमिका पनि महत्वपूर्ण छ । राईले एक सिटमा यात्रा गराउनेदेखि खाना खाने ठाउँ एकै बनाउने काम गर्थे । राईले मदनलाई विद्याका बारेमा कुरा लगाउने काम गर्थे ।
वि.सं २०५० जेठ ३ मा चितवन जिल्लाको दासढुङ्गा दुर्घटनामा मृत्यु भएका जननेता मदन भण्डारीको मृत्यु आजसम्म पनि रहस्यको घेरामा नै छ।
बिडम्बना भनौं, उनको मृत्युपछाडिको यथार्थ पत्ता लगाउन आजसम्म कुनै पनि सरकारले पहल गरेको छैन । मदन पत्नी विद्यादेवी भण्डारी अहिले देशको सर्वोच्च पद राष्ट्रपतिमा आसीन छिन् । तर भण्डारीको हत्यामाथि थुप्रिएका पर्दाहरु उघार् भने कसैले आँट गरेका छैनन् ।
मदन र विद्याबीच प्रेम विवाह भएको थियो । कस्तो थियो त उनीहरुबीच प्रेम ?
मोतीराज भण्डारीको नामले प्रारम्भिक जानपहिचान बनाएका मदनकुमार भण्डारीको जन्म बुबा देवीप्रसाद भण्डारी र आमा चन्द्रकला भण्डारीको कोखबाट माहिला छोराको रूपमा विक्रम सम्वत् २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघु गाउँ विकास समितिमा पर्ने ठोट्ने गाउँमा भएको थियो।
बाबु रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी जेठी छोरी हुन् विद्या । जन्म ५ असार ०१८ मा भाजपुरको मानेभञ्ज्याङ गाविस २ स्थित अम्बोटे भन्ने स्थानमा भएको थियो । बाल्यकालमै उनको बाबु रामबहादुर पाण्डेको निधन भयो । गाउँकै विद्योदय हाईस्कुलबाट विद्याले एसएलसी गरेकी थिइन् । झापा आन्दोलनमा उनका काका खगेन्द्रको समलग्नता थियो । उनकै प्रभावमा परेर उनी वामपन्थी राजनीतिमा लागेकी थिइन् । ०३३ तिर पूर्वमा क्रियाशिल पूर्वको रातो झण्डा समूहसँग उनको सम्पर्क भएदेखि नै उनी कम्युनिस्ट बनिन् । क्याम्पस पढ्दै गर्दा मुलुुकमा नेकपा मालेको स्थापना भयो । त्यतिबेला बनेको मालेको पर्चा बाढ्ने काममा विद्या क्रियाशिल थिइन् ।
२०३६ सालमा राजनीतिक यात्राकैक्रममा मदन र विद्याको पहिलो भेट भएको थियो । त्यतिबेला मदन भण्डारीले पार्टी भित्रको उपनाम ‘कमरेड सागर’ राखेका थिए । विद्यालाई सागर नै मदन हुन् भन्ने थाहा थिएन । सागरको नामले मदन भण्डारी भोजपुर पुगेका थिए । त्यतिबेलै उनीहरुबीच भेट भएको थियो । त्यतिबेलादेखि नै भेटघाट बाक्लियो । करिब २ पटकसम्म विद्यासँग भोजपुरमै मदनको भेट भयो । तेस्रो भेट विराटनगरमा भएको थियो ।
विद्या र मदनको प्रेम झाँगिनुमा नेता अशोक राईको भूमिका पनि महत्वपूर्ण छ । राईले एक सिटमा यात्रा गराउनेदेखि खाना खाने ठाउँ एकै बनाउने काम गर्थे । राईले मदनलाई विद्याका बारेमा कुरा लगाउने काम गर्थे । राईकै भूमिकाबाट उनीहरुको विवाह भएको थियो ।
राजनीतिमा लागेको थाहा नहुँदासम्म विद्यालाई परिवारले राम्रै रुपमा हेर्थे तर उनी अनेरास्ववियुको पाँचौ राष्ट्रिय सम्मेलनमा सहभागी हुन काठमाडौंमा आएपछि घरका सबैले गाली गरे । काका खगेन्द्र त खोज्नका लागि भोजपुरबाट धरानसम्म आए ।
कलेजबाट प्रतिनिधित्व गरेर काठमाडौं आएकी उनलाई परिवारले विहे गर्न दबाब दियो । तर विद्याले मानिन् । पार्टीले समेत मदन भण्डारीसँग विवाह गर्न प्रस्ताव गरे, तर उनी तत्काल विहे नगर्ने सोचमा थिइन् । केहीसमय मदनसँग प्रेम चल्यो । दुई वर्षपछि पार्टीमा विहेको लागि निवेदन दिइन् । पार्टीले औपचारिक रुपमा सहमति दिएपछि ०३९ साल साउन २४ गते पार्टीकै लगानीमा विद्या र मदनको विवाह भयो । एकल निर्णयमा विवाह गरेकी विद्याको विवाहमा माइतीपक्षबाट कोहीपनि आएका थिएनन् ।
विवाहपछि विद्या पढ्नको लागि मोरङ क्याम्पसमा भर्ना भईन् । सोही वर्ष विद्या स्ववियुको कोषाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् । विवाहको केही समयपछि उनी काठ्माडौं आईन् । करिब ३ वर्षको काठमाडौं बसाईं स्थापित नहुँदै ०५० जेठमा चितवनको दासढुङ्गामा जीप दुर्घटनामा परी मदन भण्डारी र जीवराज आश्रितको निधन भयो ।
त्यसपछि विद्यालाई घरपरिवार चलाउन निकै कठिन भयो । २०५० जेठमा भएको जिप दुर्घटनामा, मदन भण्डारीको मृत्यु भएपछि काठमाडौंको क्षेत्र नम्बर १ मा सम्पन्न उपनिर्वाचनमा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि उनको चर्चा चुलिएको थियो ।
भण्डारी २०५४ सालमा नेपालगन्जमा भएको एमालेको छैटौँ महाधिवेशनदेखि एमालेको केन्द्रीय कमिटीमा रहेर काम गरेकी छन् । २०६५ सालमा बुटवलमा भएको आठौँ र काठमाडौँमा भएको नवौँ महाधिवेशनबाट भण्डारी पार्टी उपाध्यक्षमा निर्वाचित भएकी हुन् । भण्डारीले २०५४ सालमा महिला बालबालिका तथा समाजकल्याण मन्त्री बनेकी थिइन् भने पछि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिन् । उनी गणतन्त्र नेपालको दोश्रो राष्ट्रपति तथा नेपालकै पहिलो महिला राष्ट्रपति हुन् ।