सोमबार , असार १३, २०७९

‘बर्दियामा बसौँ भने बाघ बस्न दिँदैन, बस्दैनौँ भनेउ भने सरकार जिउँदो छोड्दैन’

राज्यले जंगली जनावरको आहाराका लागि बर्सेनि एक डेढ सय मान्छे राखेको छ । जसले 'नाइँ हामी आहारा बन्दैनौँ' भन्छ, उसलाई सरकार आफ्नो आहारा बनाउँछ । कस्तो अवस्था आइलागेको हो बर्दियामा, त्यहाँ बसौँ भने बाघ बस्न दिँदैन । बस्दैनौँ भनौँ भने सरकार जिउँदो छोड्दैन ।

image

– महेन्द्र उपाध्याय

२०७७ सालको दसैं तिहारको बिदा सकेर कालिकोट पुगेको थिएँ । साइटहरूमा काम धमाधम सुरु भइसकेको थियो । कालिकोट जिल्ला अस्पतालमा काम गर्ने बर्दिया, औराही आसपासका एक टोली कामदार आइपुगेका थिएनन् । औराही त्यहीँ ठाउँ हो,  जहाँ एक १२ कक्षा पढ्दै गरेकी बच्चिलाई सरकारले मार्‍यो ।

कामदारको प्रमुख रामकुमार चौधरी लाई फोन गरे र सोधे, “अहिलेसम्म किन आएनौ” भनेर ।
उनले भने, “सर रमेश र दिनेशलाई  बाघले खाइदियो । क्रिया सकेर आउँछौ ।”

कामदारहरू ठेकेदारका भए पनि अस्पताल, मान्म अदालत, गेस्ट हाउस र अन्य बाटोमा काम गर्नेहरूसँग मेरो राम्रो सम्बन्ध थियो । काम गर्नेहरू सबैलाई चिन्थे । धेरै जसोको फोन नम्बर मसँग अझै छ ।

रमेश र दिनेश मरिसके भन्ने खबरले मन अमिलो भयो । आँखा रसाए । पहिले  उनीहरू काम  गरिरहँदा उनीहरूको छेउमा जान्थेँ, गफ गर्थेँ । कति गफ हुन्थ्यो भने म बिदाको दिन पनि साइटमै हुन्थेँ । मेरा साथीहरू उनीहरू नै थिए ।

केही दिन पछि केही नभए झैँ गरि रामकुमार रमेश र दिनेश बाहेक सब मान्छे ल्याएर कालिकोट आइपुग्यो । र, आफ्नो काम गर्न थाले ।

यो मसँग प्रत्यक्ष जोडिएको घटना हो । चलिरहेको बाइकबाट मैले चिनेकी एक आन्टीलाई बाघले खायो । बाँके बर्दिया आउँदा हो या बाँके बर्दियाबाट जाँदा हो ? हामीले पाउने सुझाव सल्लाह भनेकै ‘माथिल्लो बाटोबाट जाने आउने नगर्नु है’ भन्ने हुने गर्थ्यो ।

यस्ता अनगिन्ती घटना घटिरहन्छन् बर्दियामा । जंगली जनावरको आक्रमणमा परि मर्नेमा ३ वर्षदेखि ७० वर्ष सम्मका सब्बै छन् । यसो भनौँ, राज्यले त्यहाँ जंगली जनावरको आहाराका लागि बर्सेनि एक डेढ सय मान्छे राखेको छ । अनि जसले ‘नाइँ हामी आहारा बन्दैनौँ’ भन्छ, उसलाई  सरकार आफ्नो आहारा  बनाउँछ । कस्तो अवस्था आइलागेको हो बर्दियामा, त्यहाँ बसौँ भने बाघ बस्न दिँदैन । बस्दैनौँ भनौँ भने सरकार जिउँदो छोड्दैन । बस्दैनौँ भन्नुको साटो चुपचाप लागेर काल किन कुर्दैनन्, यी नवीना चौधरीहरू ?

गृहमन्त्री भन्नूहुन्छ, ” गोली चलाउने कुनै आदेश छैन ।”

त्यसो भए बन्दुक थमाएर मानव बस्तीमा कुन गुन्डालाई पठाएको छ गृह मन्त्रालयले ? त्यसरी आदेश बिना गोली चलाउने प्रहरी बाघ भन्दा खतरनाक हो बर्दियाबासीका लागि ! सचेत रहौँ , न्याय माग्यौ ।

दिनरात जंगली जनावरको डरमा बसिरहेका बर्दियाली सबै जनतालाई सरकारले कुनै प्रकारको न्याय गरेको छैन । बरु उल्टै ‘रुख काट्यो, जनावर मार्‍यो’ भन्ने आरोपमा कति थारु जेल भित्र परे, त्यसको त हिसाब नै छैन । त्यही आरोपमा ज्यादती खेपी बस्नेको संख्या पनि कम छैन । मेरो भन्नु त, सरकारले हरक क्षेत्रका बफर जोनमा बसेकाको हरक तवरले सुरक्षा गर्नुपर्ने थियो । उनीहरूको गाँस, बास, कपास  र रोजगारीको सुनिश्चितता गर्नु पर्थ्यो ।

– कमाउन प्रदेश लागेको मान्छे घर पुग्दा घरको कुनै सदस्य नहोला भन्ने डर बोकिरहेका छन् ।
– बिहान स्कुल जानुपर्ने बालबालिका रातभरि हात्ती धपाइरहेका हुन्छ ।
– पाकेको अन्न बालीमा कुन बेला दशा लाग्छ पत्तै हुन्न । साँच्चै राज्यले त्यो क्षेत्रका लागि संवेदनशील बन्नै पर्छ । उचित कार्यक्रम ल्याउनैपर्छ ।

अन्यत्र संवेदनशील मात्रै नबनेको सत्ता थारुमाथि भने क्रूर बनेर उभिन्छ ।
नबिना चौधरीलाई  प्रहरीले मारेको  होइन । काठमाडौंको सत्ताले मारेको हो । ऊ माथि गोली चलाएको हो  ।

तर थारुका लागि  जुन समयमा जसको सत्ता आए पनि थारु माथि दमन अलिकति पनि कम भएको पाइँदैन । कस्तो अचम्म थारुहरूका लागी  जुन जोगी आए पनि कानै चिरिएको !

कतिपयलाई लाग्न सक्ला थारुको कुरा नबिनाको केशमा आउँदैन भन्ने एकपटक इतिहासमा हेरौँ !

२०५७/०४/०२ गते तत्कालीन प्र.म. शेरबहादुर देउवाको सरकारले धेरै थारुलाई कमैया मुक्त गरे पनि व्यवस्थापन गरेनन् । त्यही कारण धेरै कमैयाहरू सुकुम्वासी कमैया भएर नै काम गरिरहेका थिए । अहिलेका चुनावमा काङ्ग्रेस भोट किन्न तिनै कमैया बस्तीमा जान्छ । काङ्ग्रेसको सजिलो राजनीति छ, ‘गरिब छैनन् भने गरिब बनाऊ । गरिब छन् भने गरिब रहनदेऊ ।’

२०६६ मा तत्कालीन गृहमन्त्री भीम रावलले तिनै सुकुम्वासीका चार जनालाई मार्ने आदेश दिनुभएको थियो । डुडेजारीमा । उहाँले स्पष्ट देखाइदिनु भयो कि, ‘एमालेसँग तिमिहरू बोल्दाको नतिजा के हुन्छ भन्ने ।”

यहाँनेर माओवादीको चलाखीको पनि चर्चा गर्न जरुरी छ । माओवादीले थरुहट/थारुवान् जस्ता सुन्दर चकलेट देखायो थारुहरूलाई । पछि त्यही कुरा थारुहरूले माग्दा रेशम चौधरी लगायत ५८ जनालाई जेलमा कोच्यो । त्यही बेला पुलिसको स्कटिङमा थारुका ८२ घर जलाइयो र साठीभन्दा माथि चेलीबेटीमाथि बलात्कार भयो ।

आजभोलि संसद् भवनभित्र बलात्कारको मुद्दा उठिरहन्छ । तर, टिकापुरमा भएको त्यो बलात्कारको  मुद्दाको कुरा किन उठ्दैन ? यिनै नेताको निगरानीमा भएको त्यो सामूहिक बलात्कारको हिसाब थारुले कहाँ गएर माग्ने ?

यसपालि सुरक्षा चाहियो भन्दा नबिना चौधरीलाई मारिएको हो । जुन सरकार आए पनि थारुहरू मार्न किन केही मान्दैन ?

कुरा वनको थियो, वन मान्छेको गर्न थाले भनेझैँ भयो । मैले भन्न खोजेको होइन, सबै वन नासिदिऊ भनेर । मान्छे आज यहाँसम्म आइपुग्दा त्यिनै जंगली जनावरसँग बस्दै/बच्दै आइपुगेको हो । मान्छेले वन नासेर जंगली जनावरसँग बच्ने उपाय कहिल्यै अपनाएन । हामीले हिजो पनि वन जोगाएकै हौँ, आज पनि जोगाउन सक्छौँ, जोगाउनु पर्छ । मान्छेमा यत्ति ज्ञानी त छ, जथाभावी वन नासे हामी पनि नासिन्छौ भन्ने  ।

विकास भन्दा पहिलो प्राथमिकता वन हुनुपर्छ । त्यसका लागी के के गर्नुपर्छ, त्यसमा ध्यान दिनु जरुरी छ ।  वन र वस्तीलाई यसरी पनि नराखौँ, जहाँ हिँड्दै गरेको मान्छेलाई बाघ आएर मारिदिओस् । सधैँ भइरहने घटनाको न्यूनीकरणको लागि राष्ट्रिय निकुञ्ज सम्बन्धि सबै नियम पूरा भएका छन् त ?

राष्ट्रिय निकुञ्जलाई नियम अनुसार राष्ट्रिय निकुञ्जलाई तीन भागमा  छुटाइएको छ ।
१. कोर जोन, जहाँ मानव गतिविधि निषेध हुन्छ ।
२. बफर बफर जोन, जहाँ राष्ट्रिय निकुञ्ज र मानव बस्ती बिचको भाग हो । यसको दुरी बढाउने हो कि ?  वन काटेर हैन, बस्ती सारेर ।
३. ट्रान्जिसन जोन, जहाँ छेछाउमा मानव बस्ती हुन्छ  ।

हामीले राष्ट्रिय निकुञ्ज बनाउँदा यी कुरामा ध्यान दियौँ/दिएनौँ, त्यो कुरा छोडिदिऊ । तर अहिलेका लागि समस्याको समाधान गर्नतर्फ लागौँ, तलका काम गरौँ ।
– बफर जोनमा बसेको बस्तीलाई कतै सुरक्षित ठाउँतिर सारौँ ।
– नभए राष्ट्रिय निकुञ्ज र मानव बस्ती बिच अग्लो पर्खाल लगायौँ।
– राष्ट्रिय निकुञ्ज भित्र पर्ने राजमार्गमा जनावरका लागि बाटो काट्ने पुल बनायौँ ।
– बफर जोनमा ठुला ठुला लाइटको व्यवस्था गरौँ ।

तर, यसरी मान्छे नमारौँ ।

सम्बन्धित समाचार