शुक्रबार , अषोज १४, २०७९

‘नागी गुम्बा’ जहाँ बिसाउन सकिन्छ अनेकौँ दिक्दारीहरू

image

  • सिर्जना लामिछाने

यो दैनिकी बिहान उठ्यो कलेज गयो ।  त्यसपछि हतार-हतार गर्दै अफिस गयो । दिनभर काम गर्यो । बेलुका घर फर्कंदा दिनभरको कामको थकान हुन्छ अनि आराम गर्न पल्टियो । यसरी नै हरेक दिन बित्दै थियो । मेरो हरेक दिन यही रूटीङ बनिसकेको थियो । मलाई यो थकान मेटाउनको लागि यस शहर देखि कतै टाढा सुनसान वातावरणमा जान मन थियो जसको निम्ति म आफ्नो रुचिसंग मेल खाने साथीको खोजीमा थिएँ ।

एकदिन अफिसमा कुरा चलिरहँदा मैले आफ्नो दैनिकीको दिक्दारिता सबैलाई बताएँ । मलाई लाग्थ्यो यो दैनिकी यो विरक्तिएको दिनचर्या बाट म मात्र पीडित भएकी छु तर त्यस्तो होइन रहेछ । म सँगै काम गर्ने साथीहरूमा पनि यही समस्या रहेछ । त्यसपछि हामीले कतै यो शहर भन्दा बाहिर निस्किने योजना बनायौँ । जसको निम्ति हामीले बुढानीलकण्ठ हुँदै नागी गुम्बा सम्म पुग्ने बाटो तय गर्यौँ । त्यसपछि हामी सात बजे चक्रपथ भेटुम् भनी अफिसबाट सबैजना आ-आफ्नो घरतर्फ लाग्यौँ ।

यो शहरको भीडभाड र रमझमबाट अलग्गै कतै जाने भएर होला म मा एक किसिमको उत्सुकता छाइरहेको थियो । त्यो चराचुरुङ्गीको आवाज संगै उदाउँदै गरेको सुर्यको पर्खाइमा म निदाएँ । बिहान् अलार्मको टिङटिङ आवाज संगै मेरो निन्द्रा खुल्यो । र, म हतार हतार गर्दै ठीक भएर काभ्रेस्थलीबाट माछापोखरी हुँदै चक्रपथ पुगेँ । साथीहरू कोही भक्तपुर त कोही कलंकीबाट आउँदा ढिला भएकोले हामी त्यहाँबाट ठीक साढेँ सात बजे आफ्नो गन्तव्य स्थल बुढानीलकण्ठ तर्फ लाग्यौँ ।

साथीहरू सबैजनाले आ-आफ्नो मनको कुरा सुनाउँदै जाँदा हामी एकैछिनमा बुढानीलकण्ठ पुग्यौँ । बसबाट झर्ने बित्तिकै त्यहाँ एउटा मन्दिर रहेछ जहाँ हामी एकछिन घुम्यौँ । त्यस मन्दिर वरपर धेरै परेवाहरू थिए । ति परेवाहरू खुल्ला आकाशमा स्वतन्त्र भएर उडिरहेको थिए । त्यो दृश्य देख्दा मलाई पनि एकैछिन भए नि त्यसरी नै स्वतन्त्र भएर उड्न मन लाग्यो । एकैछिन घुमेर मन्दिरको दर्शन गरी हामी त्यहाँबाट नजिकैको तपेस होटलमा गयौँ । त्यस होटल अत्यन्तै सुन्दर र सफा थियो । हामीले त्यहाँ चिया नास्ता गरी नागी गुम्बातर्फ लाग्यौँ । बुढानीलकण्ठबाट लगभग बीस मिनेट हिँडेपछि हामी निकुञ्जको मुख्य प्रवेशद्वारमा पुग्यौँ । त्यहाँ टिकट काटेपछि सजिलै भित्र छिर्न सकिन्छ । हामी पनि छिर्यौँ ।

त्यहाँ भित्र छिर्दा एउटा छुट्टै आन्नद मिल्छ । स्वच्छ हावा शान्त वातावरण चराचुरुङ्गीको त्यो आवाज जसमा बेग्लै अनुभव हुन्छ । त्यो झिलीमिली शहरदेखी अलिक टाढा शान्त ठाउँ जसमा छहराहरू संग रमाउँदै, चराचुरुङ्गीहरूको आवाजमा आफ्नो आवाज मिलाउँदै, ती रुखहरूसंग कुराकानी गर्दै, मनभित्र गुम्सिरहेको हजारौँ कुरालाई यी सबको अगाडि खुल्ला मनले पोख्दै जान पाउँदा म एकदम खुसी थिएँ । त्यसपछि हामी उक्त गुम्बा जाने रुट हेर्दै हेर्दै अघि बढ्यौँ ।

शिवपुरीको सम्पूर्ण डाँडा उपोष्ण तथा शीतोष्ण क्षेत्रमा पर्दछ । काठमाडौँ शहरबाट नजिक रहेको यो निकुञ्ज । पूर्वमा चिसापानी देखि पश्चिममा ककनीसम्म फैलिएको छ । सन् २००२ मा यसलाई शिवपुरी राष्ट्रिय निकुञ्ज नाम दिइयो भने वि.सं. २०६५ सालमा नागार्जुन क्षेत्रको १५ वर्ग कि.मि. क्षेत्रफल समेटेर १५९ वर्ग कि.मि. क्षेत्रफलको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज बनाइएको छ । यहाँको हावापानी, भू–बनोट, माटो तथा जैविक तत्वहरूले गर्दा प्राकृतिक वनको संरचनामा विभिन्नता ल्याएको पनि देखिन्छ ।

निकुञ्जको वनजङ्गल पूर्णरूपमा संरक्षण गरिएकोले यहाँ ३१८ किसिमका चरा, १०२ किसिमका पुतली र १२९ किसिमका च्याउ पाइन्छन् । साथै यो निकुञ्जमा दुर्लभ ध्वाँसे चितुवा, भालु, चितुवा, रतुवा, बँदेल, जङ्गली बिरालो, लंगुर लगायत विभिन्न जङ्गली जनावरहरूको आश्रयस्थल हुन पुगेको छ । यीलगायत यस निकुञ्जमा हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूका महत्वपूर्ण धार्मिक स्थलहरू रहेका छन् । बाघद्वार, जामाचो, विष्णुद्वार, तारेभिर, नागी गुम्बा आदि प्रमुख तीर्थस्थल हुन् ।

सानो-सानो खोल्सामा पानी मस्त बगिरहेको थियो । आँखा भरिएर पोखिन नपाएको आँसु ति पानी संगै बगाउँ जस्तो लाग्छ । मलाई पनि ति पानीमा मिसीएर बग्न मन लाग्छ । चराचुरुङ्गीको  चीरवीर चीरवीर आवाज गुञ्जीरहेको थियो । मन भरि रहेको कुराहरू ति आवाजमा मिसाई आँखा चिम्लिएर मस्त आफूलाई कतै बिसाई दिऊ झैँ लाग्छ । बीचबीचमा साथीहरूले कविता गजल पनि सुनाई रहेका थिए । त्यो बेला यस्तो लाग्थो जङ्गलमा रहेका फूलहरू, चराहरू र ती रुखहरू हामीलाई हेर्दै, हामीलाई सुन्दै हामी तिर नै फर्किएर मुस्कुराई रहेका छन् । रूखहरूको छहारी हामीले विश्राम गर्ने क्षणको प्रतीक्षामा छ ।  यसरी हामी हिँडेको पत्तै नपाई लगभग तीनघन्टा हिँडेर नागी गुम्बा पुग्छौँ ।

नागी गुम्बा जसलाई बाहिरबाट हेर्दा सुन्दर देखिन्थ्यो । भित्र त झन् अति नै सुन्दर थियो । बाहिरैबाट हेर्दा आकर्षक देखिने उक्त गुम्बा भित्र थुप्रै मूर्तिहरू थिए । जसलाई उचित तरिकाले सजाएर राखिएको थियो । उक्त गुम्बाको स्थापना २०४७ सालमा भएको रहेछ । गुम्बा वरिपरि हरियाली चौर रमणीय वातावरण जहाँ मैले आफुले आफुलाई नै हराएँ । त्यही चौरमा बसी एकछिन विश्राम गरेँ । त्यसपछि हामीले एउटा रुखको शितल छहारीमा बसी वरपरका वातावरणलाई नियाँल्दै आफुले लगेको खाजा खायौँ । र, एकैछिन गफ गरी त्यहाँबाट फर्कियौँ ।

सम्बन्धित समाचार