लोकतान्त्रिक निर्वाचन प्रक्रिया भनेको कुनै देशले तोकिएको खास समयका लागि (नेपाल सन्दर्भमा ५ वर्ष) जनताले आफ्ना प्रतिनिधि चुन्ने प्रक्रिया हो । यो प्रक्रिया सम्पन्न गर्नका लागि राज्यले विभिन्न आयोगहरूको निर्माण गरेको हुन्छ । जस्तै निर्वाचन आयोग, शान्ति व्यवस्थापन गर्नका लागि सीमित समयका लागि प्रहरी, (म्यादी प्रहरी) सार्वजनिक सेवामा रहेका कर्मचारीलाई निर्वाचन अधिकृत बनाउने गरिन्छ ।
लोकतन्त्रले छनोटको अधिकार जनतालाई प्रदान गरेको हुन्छ । यो अधिकार शान्तिपूर्ण ढंगले कसैको करकाप र प्रभावमा नआई प्रयोग गर्न पाउने हरेक नागरिकको कर्तव्य र अधिकार हो ।
सरकारले हरेक निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य विभागका सुरक्षाकर्मीलाई तैनाथ गरेको हुन्छ । सरकार र आयोगले यति सुरक्षा व्यवस्था गर्दागर्दै पनि निर्वाचनमा विभिन्न कारणले हिंसात्मक घटना घट्ने गर्छन् र त्यही कारणले मानिसको ज्यान समेत जाने गरेको छ । २०७४ सालको निर्वाचनमा ७५ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो भने आसन्न निर्वाचनका लागि १ लाख म्यादी प्रहरी गृह मन्त्रालयले खटाएको छ ।
यो वर्ष २०७९ वैशाख ३० गते स्थानीय चुनाव हुँदै छ । यसपटक पनि सरकार र निर्वाचनको तयारीमा लागेका छन् । निर्वाचनको समयमा विभिन्न राजनीतिक दलका कार्यकर्ताहरू र तिनका हुलमुल गर्ने मतदाताहरूबिच विवाद, झडप र हिंसाका घटनाहरूसमेत नहोला भन्न सकिन्न ।
निर्वाचन आयोगको आचारसंहितामा, चुनावको समयावधिमा कुनै पनि हिंसाको कार्य गर्न नहुने र चुनावलाई शान्तिपूर्ण ढङ्गले सफल बनाउन सघाउनु प्रत्येक नागरिकको हो भनेको छ । तर, चुनावको समयमा विभिन्न दलका नेता र समर्थक र तिनका उम्मेदवारहरूले निर्वाचन आयोगले लागु गरेको आचारसंहिता उल्लङ्घन गर्नाले हिंसाका घटनाहरू बढ्ने गरेका छन् ।
२०७४ वैशाख ३१ गते भरतपुर महानगरपालिकाको मत गणना हुँदै गर्दा जेठ १४ गते राती मतपत्र च्यात्तिएको कुरा स्मरणीय छँदै छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले मधुकर न्यौपाने र द्रोणबाबु शिवाकोटीलाई पक्राउ गरी जिल्ला अदालत चितवनमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ अनुसार मुद्दा दर्ता मुद्दा दर्ता गरेको थियो । जेठ १८ गते जिल्ला अदालत चितवनले न्यौपाने र शिवाकोटीलाई जनही १/१ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएर छोड्यो ।
निर्वाचनको दिन गोली समेत चलेको इतिहास छ । दोलखा गौरीशंकर गाउँपालिका स्थित मतदान केन्द्रमा प्रहरीको गोलीबाट एक जनाको मृत्यु भएको थियो ।
अहिले हुन लागेको २०७९ वैशाख ३० गतेको निर्वाचनमा हिंसात्मक प्रवृत्तिका घटनाहरूको भइरहेका छन् । नेपाली काँग्रेस चितवन, वाग्मती प्रदेश प्रतिनिधि र दलित संघका पूर्व जिल्ला सदस्य अनिल परियारको २०७९ वैशाख २५ गते हत्या भएको थियो । त्यसैगरी, सप्तरीको खडक नगरपालिका–४ को वडाध्यक्षमा स्वतन्त्रबाट महादेव पासवानलाई मनोनयन दर्ता गराउन सहयोग गरेको भन्दै २५ वर्षीय सन्तलाल पासवानको हत्या भएको थियो । साथै, विभिन्न जिल्लामा पार्टीका कार्यकर्ताबिच झडप हुनेदेखि कुटपिट हुनेसम्मका घटना हुने गरेको पाइन्छ ।
यस्ता घटनाहरूले निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष हुनबाट रोक्ने गर्छ । मान्छेमा निर्वाचन शिक्षाको अभाव, राजनीतिक दलहरूभित्रका कार्यकर्तामा लोकतान्त्रिक संस्कारको कमी, निर्वाचनको बहस र छलफलको अभावका कारण प्रतिस्पर्धात्मक हुनुपर्ने निर्वाचन प्रतिरोधात्मक हुन पुग्ने र हिंसात्मक हुने गरेको छ । निर्वाचन आयोग र सरकारले यो विषयमा गम्भीरताका साथ सोच्नुपर्ने बेला आएको छ ।