खस राजाका सल्लाहकार बनी दक्षिणबाट आएका बाहुनहरूले फाँटिलो जिउलाको जमिन रोजे । यसमा शक्ति र सत्तासँगको निकटताले पनि काम गर्यो । जिउलामा धान खेतीको विकास र विस्तार भएसँगै भातलाई उच्च खान्की र धान खेती गर्नेलाई श्रेष्ठ मान्ने भाष्यको निर्माण गरियो ।
– सार्की
कुखुरी काँ !
आजकाल पहरीको पहिलो डाकोसँगै राजनीतिक चहलपहल सुरु हुन्छ । यो चहलपहल कुनै विचार वा सिद्धान्तलाई जिताउन होइन । त्यो विचार र सिद्धान्तको व्यवहारिक प्रयोगले उक्त क्षेत्रको विकास र जनताको सेवा गर्न पनि होइन । हो त, केवल कुनै एउटा निश्चित भेगले अर्को एउटा भेगलाई दबाई राख्नका निम्ति ।
****
कर्णालीमा दुई किसिमका बस्तीहरूमा मानव बसोबास रहेको पाइन्छ । एउटा पाखाका बस्ती, अर्को जिउलाका बस्ती । पाखा भनेका लेख (लेक) का बस्ती हुन । जहाँ धान बाहेक फापर, कोदो, सिमी, मकै, आलु लगायतका अन्न बाली उत्पादन हुन्छ भने जिउलामा धान पनि उत्पादन हुन्छ ।
जिउला धेरै खेतहरू भएको फाँटिलो जमिन हो । यसरी थुप्रै जिउलाहरू भएको, वरिपरि डाँडाकाँडाले घेरेको क्षेत्र उपत्यका हो । उपत्यकाहरू कसरी बनेका हुन ? त्यहाँ बस्ती कसरी बसे ? भन्ने विषयमा त हामीले सानो कक्षामै पढ्यौँ । यत्ति हो, काठमाडौं उपत्यकामा जस्तै मञ्जुश्रीले चोभारको डाँडो काटेको कथा सबै ठाउँमा दोहोरिँदैन ।
त्यसरी बनेका दुईवटा उपत्यकाहरू जुम्लामा पनि छन् । पहिलो सिञ्जा उपत्यका हो भने दोस्रो जुम्ला उपत्यका । यी दुवै उपत्यका सिञ्जा र जुम्लामा भएका तालहरू फुटेर बनेका हुन ।
सिञ्जा उपत्यकालाई ढाकोको ताल अगाडि फुटेको हो । तर, सिञ्जा उपत्यकालाई ढाकेको तालबारे कुनै अभिलेख भेटिँदैन । पछि खस साम्राज्यको राजकाज पनि त्यहीँबाट सुरु भयो । त्यहाँ राती मार्सी र दाडीमे मार्सी धान खेती सुरु भइसकेको थियो । जुन हालसम्म पनि खेती हुँदै आएको छ ।
तुलनात्मक रूपमा फराकिलो र फाँटिलो जुम्ला उपत्यकाबाट राजकाज सञ्चालन किन भएन होला भनी प्रश्न पनि उठ्ने गरेका छन् । सिंगो उपत्यकालाई तालहरूले ढाकेको हुनाले जुम्लाबाट राजकाज सञ्चालन भएन ।
त्यसबेला हालको जुम्ला उपत्यकालाई ‘दाना दह, याला दह र लामी रह’ गरि तीन वटा तालहरूले ढाकेको अभिलेख भेटिन्छ । खस साम्राज्य विघटन भएर जुम्ला राज्य स्थापना हुनेबेलासम्म पनि ती तालहरू फुटेका थिएनन् । त्यसैले जुम्ला राज्यको राजधानी सुनार गाउँमा स्थापना गरिएको थियो । सुनार गाउँ यी तीनवटै तालभन्दा तलको गाउँ हो । त्यहाँ राजधानी बनाएको छोटो समयमा नै जुम्लाका तीनवटा तालहरू फुटेपछि छिनासिममा (हालको खलंगा बजारमा) राजधानी सारियो र त्यहीँबाट जुम्ला राज्यको राजकाज सुरु भयो ।
बलिराजा छिनासिम खलङगामा राज्याभिषेक हुँदा बाबा चन्दननाथले काली मार्सी धानको बीउ ल्याएर तातोपानी लाछुज्युलामा फलाई विकास र विस्तार गरेको मत सबैभन्दा बलियो छ । बाबा चन्दनाथको हातबाट बलिराजाको राज्याभिषेक भएको थियो भन्ने कथन छ । राजमहल प्रवेश हुँदा बलिराजाको प्रवेश भएको मिति साके १६७३ जेठ १२ गते शनिबारको दिन हात्तीमहल छिनासिममा गृह प्रवेश भयो भनी उल्लेख भएको पाइन्छ । साके संवत् विक्रम संवत् भन्दा एक सय ३५ वर्ष कान्छो छ ।
हात्तीमहल बनाउँदा सिपालु कर्मीको मात्र ज्याला दिने र अरू काम भाराबाट गराउने गरिएको थियो । महल बनाउँदा जडान क्षेत्रबाट नौ हजार र खसानबाट तीन हजार उठाइएको थियो ।
यो रकम उठाउने जिम्मा गाउँका मुखियाले पाएका थिए । आधा आफू राख्ने र आधा मात्र सरकारलाई बुझाउने हुनाले उनीहरू साहु भएको भन्ने साहित्यहरू भेटिन्छन् ।
मुखिया साहुकारी भया, दुनियाँ डाँट्नाले ।
……
(गीतको पछिल्लो टुक्का अश्लील भएको हुनाले यहाँ उल्लेख गरिएको छैन ।)
उपत्यकाका घारीतिर कुलाहरू खनेर सिँचाइ गर्ने व्यवस्था मिलाएपछि ठुला जिउलाहरूका विकास भए । त्यो भन्दा अगाडि साना खोला र मूलको पानीले जौ तथा धान खेती गरिन्थ्यो ।
यसरी जिउलाको विकास भएको किनारामा गाउँ बस्नेलाई पछि ‘जिउलेल’ भन्न थालियो । जिउलाका बस्तीभन्दा अगाडि पाखामा बस्ती बसेका थिए । त्यसैले ती जेठा बस्ती हुन । पाखामा बस्नेहरूलाई ‘पाबै’ भनिन्थ्यो । पाखामा बस्ने, खेतीपाति तथा पशुपालन गर्ने, काम गरेर खाने उनीहरूको श्रम र सीपलाई एकीकृत गरेर पाबै भनिएको हो । अर्थात् पावै श्रम विशिष्टीकरणको बिम्ब हो ।
पाखामा बुढा, रावत, रावल, रोकाया, ऐडी, विष्ट, सार्की, कामी, दमाईहरूको बसोबास स्थल हो । जो करनालीका रैथाने हुन् । सार्की, कामी दमाईहरूले विज्ञान र प्रविधिको काम गर्थे र गर्दै आएका छन् । त्यसबाहेक अरू विभिन्न खालका श्रम गर्ने र पशुपालन गर्ने गर्थे । कुनै एउटा नयाँ बाजाको आविष्कार सार्की, कामी, दमाईहरूको श्रम सहकार्यको प्रतिफल हो । उदाहरणका लागि दमाहालाई लिन सकिन्छ । दमाहाको लागि चाहिने ताउलो जस्तो तामाको भाँडो सुनारले बनाउँछ, त्यसमा छाला मोड्ने काम सार्कीले गर्छ भने त्यसबाट विभिन्न किसिमका ध्वनि निकाल्ने काम दमाईले गर्छ ।
उनीहरूले आविष्कार गरेका विभिन्न धातु तथा काठका हात हतियारले पाखाको जीवन सरल र सहज बन्दै गयो भने विभिन्न बाजाका धुनले डाँडापाखालाई आनन्दित तुल्यायो ।
जिउलाका बस्तीमा बाहुन, ठकुरी(क्षेत्री) र सीमित मात्रमा दलितहरूको बसोबास छ । खस राजाका सल्लाहकार बनी दक्षिणबाट आएका बाहुनहरूले फाँटिलो जिउलाको जमिन रोजे । यसमा शक्ति र सत्तासँगको निकटताले पनि काम गर्यो । जिउलामा धान खेतीको विकास र विस्तार भएसँगै भातलाई उच्च खान्की र धान खेती गर्नेलाई श्रेष्ठ मान्ने भाष्यको निर्माण गरियो । बाहुन एक त जातैले श्रेष्ठ बनाइएको, त्यसमाथि खान्की नै पञ्च परिकायुक्त भएपछि उनीहरूको फाईफुर्ति बढी नै भयो र पाखामा बस्नेहरूलाई उनीहरू हेप्न थाले । धान खेती नहुने, ढिडो, रोटी खानेहरू निम्नस्तरका कहलिन थाले ।
श्रमको सम्मान स्वरुप निर्माण गरिएको बिम्ब ’पावै’ अपमानको बिल्ला बनाइयो र विभेद त्यहीँबाट सुरु भयो । जिउलामा बस्नेहरू सधैँ सम्मानित र पाखामा बस्नेहरू सधैँ अपमानित हुन थाले । जुन आज पर्यन्त कायम छ ।
![]()
हाल आएर उनीहरू सबैका गाउँ घरमा विभिन्न राजनीतिक पार्टीहरूले संगठन निर्माण गरेका छन् । विचार र सिद्धान्तले उनीहरू एउटै छातामुनि छन् । मार्क्सको भाषामा अन्तर्राष्ट्रिय जातका मान्छे हुन् । तर भावना अहिले पनि मिल्न सकेको छैन । पाखाको मान्छे नेतृत्वको रूपमा स्विकार्ने अवस्था बनिसकेको छैन । शासक जिउलले नै हुनु परेको छ ।
हरेक निर्वाचनमा जिउलेलहरू एक हुन्छन् । त्यतिबेला उनीहरू आफूले बोकेको विचार र सिद्धान्त लत्याउन तयार हुन्छन् तर, पाखाको मान्छेलाई नेताको रूपमा पत्याउन तयार हुँदैनन् । सिँधै भन्छन्, ‘पावैकन हामी नेता मान्दैनौँ ।’ हिजो शासकको वरिपरि रहेर पाखालाई दबाउने जिउलेल आज साम्प्रदायिक भावनाले एक भएका छन् र नेतृत्व सितिमिति पाखामा फुत्किन दिँदैनन् ।
त्यसको विपरीत पाखाका मान्छे इमानदार छन् । सिद्धान्तप्रति बफादार छन् । उनीहरू सांगठनिक भोटमा कटिबद्ध हुन्छन् । त्यसैले पाखाका सांगठनिक भोट र जिउलाका भेगीय भोटले जितिने पक्का गर्दै जिउलेल शासक चुन्छन् ।
जुम्लाको सिञ्जा गाउँपालिकामा त्यही भयो र भइरहने बलियो सम्भावना छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट नन्दराम रोकायाले टिकट पाएका थिए । उनी साविकको शनिगाउँ गाविसको फुँग्र गाउँका हुन, जुन पाखामा पर्छ ।
सांगठनिक रूपमा सबैभन्दा बलियो एमाले निर्वाचनपछिको मत परिमाणमा पुछारमा आयो । कारण अरू सबै उम्मेदवार जिउलाका हुँदा उनी एक जना मात्र पाखाका थिए ।
त्यसबेला सिञ्जा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका देवलसिंह रावल एक हजार चार सय ३० मत ल्याएर निर्वाचित हुँदा नेमकिपाका पूर्ण धितालले एक हजार दुई सय तीन मत पाए भने माओवादी केन्द्रका हिम्कत खत्रीले एक हजार एक सय ६३ मत पाए । यी तीनवटै उम्मेदवार जिउलाका थिए भने एमालेका रोकायाले एक हजार एक सय ४० मत मात्रै पाए । कारण उनी पाखाका थिए ।
तर, उपाध्यक्षमा एमालेकी जन्मकन्या खत्रीले एक हजार पाँच सय चार मत ल्याएर निर्वाचित भइन । उनी जिउलाकी थिइन् । कतै चर्चा नभएकी भए पनि उनी लोकप्रिय मतले विजयी भइन । एक त बलियो संगठन, त्यसमाथि जिउलाकी भएकै कारण एमालेबाट उनी उपाध्यक्ष विजयी हुँदा जिल्लादेखि प्रदेश र केन्द्रसम्म पनि सम्बन्ध भएका, संगठन निर्माणमा योगदान दिएका रोकाया पाखाका भएकै कारण पराजित हुन पुगे ।
हारेका उनी लगायतको टिम घर जानेबेला भावुक मात्रै थिएन, जिउलेलप्रति निकै आक्रामक पनि भयो । तर, भौतिक आक्रमण फेरि पनि समस्या समाधानको पाटो थिएन । त्यसैले भिड संयमित हुँदै मर्मस्पर्शी नारा लगायो, ‘नेकपा एमाले जिन्दावाद ! जिउलेल जति मूर्दावाद !’