बिहिबार , जेठ २१, २०८३

डाँफे-मुनाल पार्कमा सोनाम ल्होछार विशेष सांस्कृतिक मेला हुने 

तामाङ समुदायको सबैभन्दा ठुलो सांस्कृतिक पर्व २८५९औँ सोनाम ल्हाेछार २०७९, ह्याेई ल्हाे (बिरालो वर्ग)को अवसरमा तामाङ समुदायकाे बाहुल्यता रहेको उक्त क्षेत्रमा पहिलो पटक मेला हुन लागेको हो ।

image

काठमाडौं । आगामी माघ ८ गते २८५९औँ सोनाम ल्होछारको अवसरमा मकवानपुरको कैलाश गाउँपालिका-२, वैकुण्ठस्थित डाँफे-मुनाल पार्कमा ल्होछार विशेष सांस्कृतिक मेला हुने भएको छ । कैलाश गाउँपालिकाको आर्थिक सहयोगमा वडा नम्बर २ ले मेलाको आयोजना गरिएको वडाध्यक्ष राजेन्द्र घिसिङले हिमाल दर्पण लाई जानकारी दिएका छन् ।

मेलामा लोकदोहोरी गायिका प्रतिमा अर्याल, नेपाल लोक स्टार रामकुमार नेपाली, सेलो गायक योगेश लामा लगायत थुप्रै राष्ट्रिय स्तरका कलाकारहरूको गायन तथा बेजोड नृत्य प्रस्तुति रहने जनाएको छ । मेलामा स्थानीय तामाङ समुदायको संस्कार र संस्कृतिसँग सम्बन्धित लामा, बोम्बो, लब्तावा लगायतको विशेष झाँकीकाे प्रस्तुतिका साथै स्थानीय स्तरका कलाकारहरूको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।

ग्रामीण पर्यटनको प्रवर्द्धन, स्थानीय तामाङ संस्कार संस्कृति, भाषा, भेषभुसा र कलाको संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले मेलाको आयोजना गरिएको जनाएकाे छ ।

तामाङ समुदायको सबैभन्दा ठुलो सांस्कृतिक पर्व २८५९औँ सोनाम ल्हाेछार २०७९, ह्याेई ल्हाे (बिरालो वर्ग)को अवसरमा तामाङ समुदायकाे बाहुल्यता रहेको उक्त क्षेत्रमा पहिलो पटक मेला हुन लागेको हो । यस वर्ष बाघ वर्ष/वर्गलाई बिदाइ गर्दै बिरालो वर्ष/वर्गलाई स्वागत गर्दै ल्हाेछार मनाउन लागेको हो । सोनाम ल्हाेछारलाई तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउँदछन् । तामाङ भाषामा ‘ल्हाे’ भनेको वर्ष/वर्ग/साल हो भने ‘छार’ भनेको नयाँ हो । अर्थात् ल्हाेछारकाे अर्थ नयाँ वर्ष भन्ने हुन्छ ।

मन्जुश्रीले विकास गरेकाे चिनियाँ खगाेलशास्त्रमा आधारित चन्द्रपात्राे अनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाकाे दिन तामाङ समुदायले साेनाम ल्हाेछार पर्व मनाउँदछन् । नेपालमा मात्र नभएर तामाङ समुदायकाे बसाेबास भएका विश्वका थुप्रै देशहरूमा साेनाम ल्हाेछार मनाउँदै आएका छन् ।

धादिङ र मकवानपुरलाई लक्षित गरेर पार्कमा मेलाको आयोजना गरिएको वडाध्यक्ष घिसिङले जानकारी दिए । मेलामा स्थानीय खानपानको स्टल रहने छ ।  मकवानपुरको उत्तरी भेग र धादिङको दक्षिणी भेगका स्थानीय समुदायको व्यापक सहभागिता रहने अपेक्षासहित मेलाकाे  आयाेजना गरिएकाे जनाएकाे छ ।

याे पनि: पर्यटक लोभ्याउँदै डाँफे-मुनाल पार्क (himaldarpan.com)

गुरु रिम्पाेछेकाे मूर्ति, पृष्ठभूमिमा माछापुच्छ्रे हिमाल र धादिङकाे बेनीघाट राेराङ-१, स्थित सुन्दरनागी र नाङ्गी गाउँ । तस्बिर: चन्द्र तामाङ

पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गरेको डाँफेमुनाल पार्क धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १ र कैलाश गाउँपालिका वडा नम्बर २ को सिमानामा पर्दछ । पार्कसँगै रहेको कुण्डमा गुरु रिम्पोछेको विशाल मूर्ति पनि स्थापना गरिएको छ । कैलाश गाउँपालिका र वडा नम्बर २ ले सो क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले पार्क र मूर्तिको स्थापना गरेका हुन् । वैकुण्ठको दुर्सागङ (चिहान डाँडा) भनेर चिनिने महाभारत पर्वत रेन्जमा पर्ने डाँडा अहिले डाँफे-मुनाल पार्कको नामबाट पर्यटकमाझ चिनिन थालेको छ ।

स्थानीय तामाङ समुदायको विशिष्ट संस्कार, संस्कृति, भाषा, भेसभुसा, रहनसहन र जीवनशैलीको अवलोकनका लागि पनि पर्यटकरू पुग्ने गरेका छन् ।

गुरु रिम्पाेछेकाे मूर्तिसँगैकाे प्रतिक्षालय, पारी २३ सय मिटर उचाइकाे खैलिङ डाँडा । तस्बिर: चन्द्र तामाङ

समुन्द्री सतहभन्दा करिब दुई हजार मिटर अग्लो डाँडामा बनेको पार्कबाट प्राकृतिक सुन्दरताका सबै रङ्गहरूको अवलोकन गर्न पाइन्छ । उत्तरमा दन्तेलहर झैँ मनोरम हिमशृङ्खला, हरियाली गगनचुम्बी पहाड अनि तँछाडमछाड गर्दै उभिरहेका थुम्काहरूको दृश्यावलोकन गर्न सकिन्छ । दक्षिणमा महाभारत र चुरे पर्वत शृङ्खलाका अग्ला होचा पहाडहरू देखि तराईका लमतन्न परेका फाँट अनि बजारहरूलाई अवलोकन गर्न पाइन्छ । मकवानपुर र धादिङका थुप्रै सुन्दर गाउँ बस्तीहरूलाई पनि नियाल्न सकिन्छ ।

याे पनि: राजेन्द्र घिसिङ- जसले फेरिदिए मकवानपुरकै दुर्गम गाउँ र गाउँलेको मुहार (अन्तर्वार्ता) (himaldarpan.com)

यो डाँडा धादिङको ब्रोम्दीङ गाउँसँगै जोडिएको छ । पार्कमा पुग्ने पर्यटकहरू ब्रोम्दीङ गाउँ नघुमी फर्किँदैनन् । धादिङको बेनीघाट रोराङ गाउँपालिका १ मा पर्ने ब्रोम्दीङ डाँडा र डाँडामा अवस्थित गाउँमा पुग्दा मुस्ताङको झल्को दिन्छ ।

डाँफे मुनाल पार्कमा रमाउँदै पर्यटक, तस्बिर: चन्द्र तामाङ

कसरी पुग्ने ?

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी बजारबाट २८ किलोमिटरको दुरी पार गरेपछि यो सुन्दर डाँडामा पुग्न सकिन्छ । गजुरी बजार काठमाडौंबाट ६० किमीको दुरीमा रहेको छ । काठमाडौंको चन्द्रागिरि, मकवानपुरको चित्लाङ, टिस्टुङ, पालुङ हुँदै जान पनि सकिन्छ । त्यसैगरी धादिङको नौबिसे खानीखोलाबाट त्रिभुवन राजपथ हुँदै पालुङ निस्केर पनि जान सकिन्छ । पालुङबाट डाँडेबास, चामाखर्क, डाँडाखर्क, खोलाखर्क हुँदै वैकुण्ठ पुग्न सकिन्छ । वैकुण्ठ गाउँसम्म नियमित बस सञ्चालन हुन्छ । दुई पाङ्ग्रे सवारी साधनमा जाँदा थप रमाइलो हुन्छ । त्यसैगरी हेटाैँडाबाट पनि करिब तीन घण्टाकाे यात्रा तय गर्दे यस स्थानमा पुग्न सकिन्छ ।

 

सम्बन्धित समाचार