शुक्रबार , मंग्सिर २३, २०७९

मैथिली संस्कृतिमा महिला

पर्वतीय समाजमा स्वास्नीलाई 'तँ, तिमी' शब्दबाट सम्बोधित गरिन्छ भने मैथिल समाजमा 'अहाँ' शब्दबाट सम्बोधित गरिन्छ जसको अविकल अनुवाद नेपालीमा हुन्छ- 'उहाँ ।'

image

  • डा. रामदयाल राकेश

यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तन्त्र देवता: ।

महिला शब्दको पर्यायवाची शब्दहरू धेरै छन्; जस्तै- नारी, स्त्री, वामा आदि । तर यहाँ महिला शब्दको प्रयोग गर्नाको खास कारण के छ भने मैथिली समाजमा महिलाको विशेष महत्त्व, महनीयता र महत्ता प्रतिपादित भएको छ । मैथिल समाजमा महिलालाई कति महत्त्व दिइन्छ भन्ने कुराको प्रमाण उसलाई सम्बोधित गर्ने शब्दबाट भेट्टिन्छ । पर्वतीय समाजमा स्वास्नीलाई ‘तँ, तिमी’ शब्दबाट सम्बोधित गरिन्छ भने मैथिल समाजमा ‘अहाँ’ शब्दबाट सम्बोधित गरिन्छ जसको अविकल अनुवाद नेपालीमा हुन्छ- ‘उहाँ ।’ यसै एउटा शब्दबाट के प्रतिपादित एवम् प्रमाणित हुन्छ भने मैथिली संस्कृतिमा स्वास्नीमान्छेलाई बराबरको अधिकार मात्रै होइन कि त्यसभन्दा बढी सम्मान, आदत तथा अधिकार दिइन्छ । हुन त, स्वास्नीलाई अर्धाङ्गिनी पनि भन्दछन्, तर यस संस्कृतिमा अर्धाङ्गिनीभन्दा पनि बढी मानिन्छ । 

हुन त प्रत्येक समाजमा विवाहिता तथा सधवा स्वास्नीमानिसको सिउँदोमा जबसम्म सिन्दूर सुशोभित रहन्छ तबसम्म हिन्दू संस्कृतिमा उसको सम्मान गरिन्छ, विधवा हुनासाथ स्वास्नीमानिस आफूलाई समाजमा नगण्य ठान्दछे, तर उसको आचरण समाज स्वीकृत तथा राम्रो छ भने समाज उसलाई यथोचित आदर-सत्कारको सहभागी मान्दछ । यदि आफ्नो लोग्नेको जीवितास्थामा कुनै स्वास्नीको मृत्यु भइहाल्दछ भने ऊ भाग्यशालिनी तथा सौभाग्यशालिनी मानिन्छे, तर आफ्नो पतिको मृत्युपछि यदि उसको मृत्यु हुन्छ भने उसले आफ्नो जीवनकालमा दुःख भोग्नु त स्वाभाविक नै हुन्छ, तर उसको मृत्यु त्यति सम्मानयोग्य ठहर्दैन । 

मैथिली संस्कृतिकी सीता यसको प्रकाशस्तम्भ तथा प्रातः स्मरणीया महिलाको रूपमा संसार प्रसिद्ध छन् । सीता हाम्रो राष्ट्रिय विभूति हुनुका साथै विश्वकै आदर्श र उत्कृष्ट गृहिणी पनि मानिएकी छिन् । सीता स्वयं महनीय तथा प्रशंसनीय मैथिल महिला हुन् । उनको कीर्तिरश्मी संसारभर व्याप्त छ । त्यस्तै सुनयना (राजा जनककी श्रीमती) को योगदानबाट पनि मिथिला अनग्रहीत एवम् अनुप्राणित भएको छ । आज पनि मिथिलाको प्राचीन राजधानी जनकपुरमा जसरी सीताको उपस्थितिलाई मूर्तित गर्ने खालको भव्य एवम् दिव्य मन्दिर सुशोभित छ, त्यस्तै सुनयनाको  स्मृतिलाई पनि साकार गर्ने जनक-सुनयना मन्दिर जनकचोकमा अवस्थित छ । यसरी नै माण्डवी, उर्मिला, श्रुतकीर्ति आदि महिमाशालिनी महिलाहरूको महत्त्वपूर्ण योगदानबाट मिथिलाको माटो मनग्गे आभारी रहिआएको छ । 

प्रसिद्ध दार्शनिक याज्ञवल्क्यकी विदुषी पत्नी गार्गीको गौरवगाथा सर्वविदितै छ । गार्गी जस्ती विदुषीको योगदानबाट प्राच्य दर्शन गौरवान्वित भएको छ भने मैत्रेयीलाई पनि मिथिला बिर्सन सक्दैन । गार्गी र मैत्रेयी वैदिक संस्कृतिका दुई आँखा हुन् । विद्वता र पाण्डित्यको क्षेत्रलाई प्राञ्जल, परिपक्व तथा परिष्कृत बनाउनमा यी विदुषीहरूको अपूर्व योगदान मानिएको छ । यसपछिका मैथिली विदुषीहरूमा अनेक महिलाहरूको नाउँ परिगणनीय तथा चिरस्मरणीय रहेको छ । १४०६-७ का राजा शिवसिंहकी रानी लखिमा-देवी र राजा पदमसिंहकी रानी विश्वासदेवी तथा मैथिली-कविकोकिल विद्यापतिकी पुत्रबधु (बुहारी) चन्द्रकलादेवीको दर्शन क्षेत्रमा अभूतपूर्व योगदान रहेको छ । 

मैथिली महिलाहरूको अभूतपूर्व योगदान काव्यात्मक पारामा पोख्ने प्रयास गएका छन् कवि श्री माधव घिमिरेले तलका पङ्क्तिहरूमा-

जन्मिन् यहीँ जानकी
मञ्जरी जस्तै धानकी
माण्डवी कीर्ति उर्मिला
बहिनी बालचन्चला
………………………
लावण्यमयी जानकी
गहुँ र गोरी जानकी
…………………..
अर्पित भइन् राममा
यही हो मेरो मिथिला
धरती शस्यश्यामला

उपर्युक्त कथनको समर्थनमा विजयकान्त मिश्रको कल्चरल हेरिटेज अफ मिथिलाबाट एक उद्धरण यहाँ प्रस्तुत गरिन्छ-
‘There were other scholar-women of that time Vilakhima Devi (Wife of Raja Siva Simha), Viswasa Devi (Wife of Raja Padma Simha) and Chandrakala Devi (Daughter in law of Vidyapati Thakur). Thus it is clear that the scholarly role of women in Mithila was not less than any other perosn.’

(मैथिली संस्कृतिबाट)

सम्बन्धित समाचार