सोमबार , फागुण १४, २०८०

चाक्ले डिल खस्ने जोखिम बढ्यो, गुप्तेश्वर गुफा संकटमा (भाग-३)

गुफा अध्येता जोनाथन मोरिस भन्छन्, "यस पाखालाई निकै भार बोकाइसकिएको छ, यसले निम्ताउने क्षति अगणित छ ।"

image

पर्वत । द क्लिफ प्रा.लि.ले सन्चालनमा ल्याएको बन्जी जम्पलाई लक्षित गरि विकास गरिएका रोड मुनितिरका होटेल, क्याफेहरूले चाक्लेको भीरलाई अतिरिक्त भार बोकाइरहेका छन् । हाल यस पाखामा ५० भन्दा बढी पर्यटक आकर्षित गर्ने होटेल, बार एवं क्याफेहरू सञ्चालित छन् ।

प्राकृतिक विशालतामा फैलिएको चौर मास्न तल्लीन नगरले विशाल शिव-पार्वती मूर्तिको ठेक्का दिइसकेको छ । विभिन्न सरकारी-गैरसरकारी सङ्घ–संस्थाको पहलमा गुफा परिसरभित्र राधाकृष्ण मन्दिर, भजन मण्डप, दुईतले ढलानसहितको सत्तल, डाँडामा महावीर मन्दिरजस्ता साना–ठूला मन्दिर निर्माण गरिएको छ, जो चाक्लेको डिलले थेग्न सक्दैन ।

बन्जी जम्पलाई लक्षित गरि विकास गरिएका होटेल, क्याफेहरूले चाक्लेको भीरलाई अतिरिक्त भार बोकाइरहेका छन्

“कुन भूगोलले कति भार थेग्छ, कुन भूगोलमा कस्तो संरचना बनाइनुपर्छ, केही ख्याल राखिँदैन । पैसा आउँछ भनेपछि स्थानीय सरकार जे गर्नपनि तयार हुन्छ । चाक्लेको डिललाई पोखराको लेकसाइडसरह व्यवसायीकरण गर्न हौसिएको नगरकै कारण कुन दिन गुफा त पुरिन्छ,पुरिन्छ, चाक्लेको डिल नै नरहला कि भन्ने भयो”, गुफा संस्था सदस्य प्रनिश गिरी बताउँछन् ।

भौतिक पूर्वाधारसहितका कुनै पनि संरचना निर्माण गर्दा त्यसले वातावरणमा पर्नसक्ने नकारात्मक प्रभावलाई मूल्याङ्कन गरी सम्भावित दुष्परिणाम नियन्त्रणका लागि आयोजना सुरु गर्नु अगाडि नै वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र प्रारम्भिक वातावरणीय परिक्षण (आईईई) गर्नुपर्ने कानूनी मान्यता छ । तर, साहसिक पर्यटनको थलो बनिरहेको कुश्माले यस कुराको ख्यल राख्न नसकेको बताउँछन्, वातावरण पत्रकार केशव शर्मा

“विकास बहुआयामिक अवधारणा हो । एकातिरका जनतालाई सुविधा दिन अर्कोतिरका जनताको अधिकार खोस्ने कार्य विकास हुँदैन । विकासले असुरक्षा वृद्धि गर्नुहुँदैन”, शर्मा भन्छन् । उनी मानिसका लागि उपयोग नभएका प्राकृतिक स्रोतहरू जीवजन्तुका लागि उपयोग हुन् सक्ने भएकाले प्राकृतिक स्रोतको जथाभावी दोहनले वातावरणीय सन्तुलनमा खलबली निम्त्याउने बताउँछन् । “हामीसँग भएका ऐन, कानुन र नीति निर्देशिकाभित्र रहेर नै यस्ता गतिविधि गरिनुपर्छ,” उनले भने, “यसमा स्थानीय सरकारको जागरूकता जरुरी छ ।”

यो या त्यो बहनामा गुफा क्षेत्र एवम् चाल्नेको डिल वरपरको पाखामा अतिरिक्त भार थप्नु जोखिमपूर्ण छ

गुफा अध्येता जोनाथन मोरिस यो या त्यो बहनामा गुफा क्षेत्र एवम् चाल्नेको डिल वरपरको पाखामा भार थप्नु जोखिमपूर्ण रहेको बताउँछन् । “यस पाखालाई निकै भार बोकाइसकिएको छ, यसले निम्ताउने क्षति अगणित छ । भौगोलिक, भौगर्भिक अध्ययन, अनुसन्धान बेगर यस पाखामा बस्ती विस्तार गरिरहेमा भविष्यमा त्यसको ठूलो क्षति कुश्मावासीले व्यहोर्नुपर्नेछ”, उनी भन्छन् ।

इतिहासविद् महेशराज पन्त एकान्तवास र प्रागैतिहासिक प्रयोजनका लागि गुफालाई हेरिनुपर्ने बताउँछन् । “जङ्गलको कछार वा अफ्ठ्यारो भूगोलमा रहने गुफाहरू हाम्रा पुर्खाबारे लेखिएको अनुसन्धानात्मक पुस्तक हो । नगरसभ्यता वा प्राचीन दरबारसरह नै विस्मृतिको गर्भमा विलुप्त हुने क्रममा पुगिरहेका गुफाहरूको अध्ययन, अनुसन्धान र वृहत् चासो एवम् छलफल हुनुपर्दछ । मुलुक भूक्षय र भू-कम्पको जोखिममा रहेका हुँदा पनि यस काममा ढिला गर्नु हुँदैन”, पन्त भन्छन् । पन्त गुफा क्षेत्र वरपर ठूला संरचना निर्माण गर्नु ठूलो भुल हुने बताउँछन् ।

विकास चेत बिर्सिएको कुश्मा नगर हचुवामै यहाँ भ्यू टावर खडा गर्दैछ

स्थानीय एवम् गुफा संस्थाको पूर्वाध्यक्ष मानकुमारी गिरि सबैभन्दा कमजोर क्षेत्र नै गुफा परिसरलाई मानिने बताउँछिन् । “मुलुक नै भू-कम्पीय जोखिममा छ । त्यसमाथि गुफा क्षेत्र आफैँमा कमजोर भू-सतह हो । गुफा क्षेत्र वरपर शिव-पार्वती पार्क बन्नु निकै जोखिमपूर्ण छ”, उनी भन्छिन् । गिरि गुप्तेश्वर गुफाको संरक्षणमा कुनै हेलचेक्र्याइँ नगर्न सुझाउँछिन् ।

विकासले समाजको मात्रात्मकभन्दा गुणात्मक प्रगतिलाई जनाउने बताउँछन्, कुश्माको समग्र सांस्कृतिक, ऐतिहासिक एवं प्राकृतिक विकासका लागि आवाज उठाइरहेका आरके अदीप्त गिरी

“विकास विवेकले गर्ने हो । विकास डोजर जोतेर मात्रै आउँदैन । नवीन सोचको जोडले आउँछ । कुश्माको प्रख्यातिसँग जोडिएको प्राकृतिक गुफा नास्ने अधिकार कोही-कसैलाई छैन । योगी, ध्यानी तपस्वीहरूको बास भएको गुफा मन्दिरभन्दा बढी आध्यात्मिक र पवित्र हुन्छन् । यिनको संरक्षण गर्नुपर्नेमा यो ज्यादती देख्दा मन खिन्न हुन्छ । विकास अभिसाप होइन, वरदान होस्” गिरी बताउँछन् ।

गुप्तेश्वर गुफाको लम्बाइ, चौडाइ, गुफा घुमाउने गाइड लगायतका कुरा अझै पनि थाँती छन् । यसप्रकार मुक्ति क्षेत्र र पोखराको ट्रान्जिट पोइन्ट कुश्मा अल्पकालीन विकास चेत र गलत भौतिक संरचनाको शृंखलाबद्ध नवनिर्माणले निस्सासिरहेकोमा गिरि चिन्ता व्यक्त गर्छन् । उनी निर्माणाधीन भ्यू टावरको विरोधमा बोलिरहेका छन् ।

भ्यू टावर बनाउन हौसिएको नगरले जमिनले त्यो भार थेग्छ/थेग्दैन सोचेकै छैन

साहाराविहिन परेवा र बाँदर

अघिल्ला बाबा बोलबम गिरी (घुङरु)ले पालेका परेवा र बाँदरहरू आहाराको कमिले विस्थापित भएका छन् । गुप्तेश्वर गुफा परिसर एवम् चाक्ले डिल वरपर मनोमानी रुपमा संरचनाहरू निर्माण एवम् स्थानीय सरकारले अविवेकी हिसाबले संरचना निर्माण थालेपछी यस भेगका परेवा एवम् बाँदर विस्थापित हुन् संघारमा पुगेका हुन् ।

बाबा परेवा र बाँदरको सेवामा मग्न रहन्थे । यहाँ आउने दर्शनार्थीहरूलाई चिया प्रसाद खुवाउने गर्दथे । ४५/४६ सालतिर भारतको गुजरातबाट तीर्थयात्राका लागि नेपाल आउँदा मुक्तिनाथ जाने क्रममा उनको प्रवेश गुप्तेश्वरमा भएको थियो । उनले हालसालै जलसमाधी लिएका हुन् ।

बाबा बोलबम गिरी (घुङरु)

बाबा बोलबम गिरी (घुङरु)

“मानवता, प्रेम, सद्भाव, सदाचार, र असल आचारणका उनी मानव र जनावरलाई विशिष्ट प्रेम गर्नुहुन्थ्यो । आफू शान्त भएर उनीहरूको सेवा गर्नुहुन्थ्यो । अहिले उहाँको सेवाभाव खड्किएको छ । परेवा, बाँदरहरू आउनै पनि छोडे”, स्थानीय श्याम पुन बताउँछ्न् ।  मान्छेको जस्तै पशुपंक्षीको पनि उत्तिकै बाँच्ने अधिकार छ । परेवा, बाँदर यहाँका खास सौन्दर्य थिए । “तिनलाई आज नदेख्दा मन खिन्न हुन्छ,” पुन भन्छ्न् ।

माथि डाँडामा महावीरको मूर्तिसहित गायत्री मन्दिर, वेद वेदाङ्ग संस्कृत पाठशाला सञ्चालन गरिएको छ । शिक्षक, विद्यार्थीका लागि आवश्यक खाद्यान्न, भाँडावर्तन गुप्तेश्वर गुफामा बसेका नाङ्गा बाबा शिव गिरिबाट प्राप्त भइरहेकोमा त्यो सम्बन्ध टुटेको छ ।

चाक्लेको डिलमा परेवा, बाँदरहरू कमै देखिन्छन्

चासो बाहिर गुफाभित्रका चमेरा

गुप्तेश्वर गुफाको थप आकर्षण भन्नु उड्न सक्ने एकमात्र स्तनधारी प्राणी चमेरा पनि हुन् । झुण्ड-झुण्डमा चमेराको बासस्थान देख्दा मन खुशीले रम्छ । चमेराले गुफाभित्रको पर्यावरण संरक्षणमा मात्र होइन, सुन्दरतामा पनि सबैको ध्यान खिचेको छ ।

नेपालमा पछिल्लो तथ्यांक अनुसार ५६ प्रजातिका चमेरा पाइने चमेरामा अनुसन्धान गरिरहेका युवा सञ्जीव बानियाँले बताए । “पृथ्वीको खाद्यचक्र, पारिस्थितिक प्रणाली, वातावरण सन्तुलनका लागि चमेरो निकै महत्त्वपूर्ण प्राणी हो”, उनी भन्छन् ।

गुफामा सयौँको सङ्ख्यामा चमेराको बासस्थान छ । चमेरामा अनुसन्धान गरेका युवा विद्यार्थी वसन्त शर्माले केही अगाडि यहाँ आई चमेराको अध्ययन गरेका थिए । उनले गुप्तेश्वर गुफानजिकै बाँसघारीमा नेपालका लागि हालै नयाँ प्रजातिको ‘ताइलोकपेरिस प्रजाति’को चमेरा फेला परेका थिए ।

गुप्तेश्वर गुफामा सयौँको सङ्ख्यामा चमेराको बासस्थान छ, फोटो: राजु झल्लु प्रसाद

यो प्रजातिको चमेरा बाँसमा बस्ने गर्छन् । त्यसैले, यसलाई नेपालमा ‘बाँसेचमेरा’ नाम दिइएको शर्माले बताए । शर्माले पत्ता लगाएको  चमेराको संरक्षण एवं अन्य प्रजातिको चमेराको संरक्षणतर्फ सरोकारवाला लाग्नु आवश्यक छ ।

“हाल गुफाभित्रका अप्राकृतिक संरचना, बिजुली बत्तिका कारण पनि गुफाभित्र चमेराले बासस्थानको जोखिम र संकट झेलिरहेका छ्न् ।    प्रकृति र मानवका लागि अत्यन्तै उपयोगी चमेरोको अनुसन्धान र संरक्षणमा अपेक्षाकृत प्राथमिकता नदिइनु गुफा समितिको बिडम्बना हो ।” शर्माले भने ।

संसारमा पाइने करिब १२०० प्रजातिका चमेरामध्ये नेपालमा ५१ भन्दा बढी प्रजाति पाइन्छन् ।

चमेरोको अनुसन्धान र संरक्षणमा अपेक्षाकृत प्राथमिकता नदिइनु गुफा समितिको बिडम्बना हो,फोटो: राजु झल्लु प्रसाद

गुफाको अलौकिक सुन्दरता

गुफा कल्पनाशीलता हो, सिर्जना हो र क्रिया र प्रतिक्रियाको नवीन आकार हो । जमिनको रासायनिक प्रक्रियामा परिवर्तन हुँदा, हावा, पानी र हिउँको प्रभावले भूक्षय हुँदा र जमिनमा रहेका लाइमस्टोन, चक, डोलोमाइट, मार्बल, नुन, जिप्सनजस्ता खनिज तत्त्वहरू खिइँदै बाहिरिँदा ओढारको रूप लिन्छ । ओढारलाई गुफा भन्न मिल्दछ ।

भौगर्भिक कारण गुफाहरू निर्मित हुने भएता पनि यसमा धार्मिक आस्था पनि लेपन गरिएको भेटिन्छ । प्राकृतिक घटना र मानवीय सिर्जनाहरूलाई धार्मिक मिथकसँग मात्रै नजोडी  गुफाको रहस्यपूर्ण प्राकृतिक खोजकार्यलाई पनि अघि बढाइनुपर्छ । यिनीहरू भौगोलिक खाल्टाहरू मात्र होइनन्, सांस्कृतिक साक्षी हुन् । गुफाहरू मानव गतिको मापक हुन् । गुफाले आदिम युगलाई आफूसँग जीवित राख्दछन् ।

सुन्दर गुफा नियालिरहँदा आँखामा ग्रील बिझाउँछ, फोटो: राजु झल्लु प्रसाद

गुप्तेश्वर गुफाको प्रमुख विशेषता भनेको यहाँभित्र प्राकृतिक रूपमा निर्मित शिव, पार्वती, विष्णु, लक्ष्मी, सरस्वती, शेषनाग, सुमेरु पर्वत, भगवती बाहन, कलश, कामधेनु, गरुड देवता, कछुवा अवतार, गोवर्धन पर्वत, कृष्णलिला आदि देवदेवीका आकृति नै हुन् । भगवानका यी अनेकौँ आकृति देख्दा जो कोही नास्तिक पनि आफ्नो नास्तिकपनलाई बिर्सन्छन् र गुफासामू नतमस्तक हुन्छन् ।

गुफाको रहस्यपूर्ण प्राकृतिक खोजकार्यलाई पनि अघि बढाइनुपर्छ, फोटो: राजु झल्लु प्रसाद

गुफाका विशेषताहरू:

गुफा प्रवेशद्वार एउटै मात्र भए पनि प्रवेशपश्चात् गुफाभित्र धेरै मार्ग छन् । गुफाभित्र पानी बगिरहन्छ  । तर हाल अविवेकी हिसाबले ग्रील विछ्याएर गुफाको सुन्दरता नष्ट गर्ने काम भएको छ ।

गुफा तीन तलामा फैलिएको  छ । गुफाको खास लम्बाइ यति नै हो भनेर किटानसाथ भन्न सकिँदैन तापनि मूलमार्ग अर्न्तगतको लम्बाइ करिब १ हजार २ सय मिटर र ५० मिटर चौडा भएको गुफाका पुजारी खेमराज आचार्य बताउँछन् ।  गुफाको तीन तह पार गरिसकेपछि ग्रीलको भर्‍याङ भेटिन्छ, पहिले यहाँ काठको भर्‍याङ थियो । काठको भर्‍याङले जुन मौलिकता दिएको थियो, त्यो ग्रीलको भर्‍याङले दिएको पाइदैन ।

भर्‍याङ पार गरिसकेपछि माथिल्लो भागमा प्रवेश गर्न केही अफ्ठ्यारो छ । पहिले–पहिले गुफाभित्र चम्कने ढुङ्गा धेरै थिए र समय क्रममा ढुङ्गाको चमक क्रमशः हराउँदै गयो ।

गुफामा एकैपटकमा पाँच सय जनासम्म ओहोरदोहोर गर्न सक्छन् । मनोरम प्राकृतिक छटा र अनौठा आकृतिले भरिपूर्ण गुफामा शिवरात्रि, बालाचर्तुदशी, एकादशी, साउन र तीजमा हप्तौँसम्म मेला लाग्छ । हिन्दू सनातन धर्मावलम्बीहरूले आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै सतबीज छरी बालाचतुर्दशीको दिन विशेष मेलासमेत लाग्ने प्रचलन बसेको छ ।

गुफा दर्शनले दुःखबाट मुक्ति, आपतमा बचाउने, सन्तान नहुनेलाई सन्तान मिल्ने लगायत मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।

कसरी पुग्ने ?

पोखराबाट कुश्मा शिवालय चोकसम्म गाडीसम्म आएपछि भूपी राजमार्गछेउ दुई स्थानबाट गुफासम्म पुग्न सिँढीको बाटो पछ्याउन सकिन्छ । सिँढीको बाटो खतरापूर्ण भएकाले जोखिम मोल्नैपर्छ ।

खान र बस्न समस्या छैन । कुश्मा बजारमा सुविधायुक्त होटेल, लज र रेस्टुरेन्ट छन् ।

कुश्मा बजार


यो छुट्यो कि ?

अस्तित्व संकटमा गुप्तेश्वर गुफा (भाग-१)

गुप्तेश्वर गुफाको विकास कि विनाश ? (भाग-२)

कंक्रिट र ग्रीलको थुप्रो: कुश्माको शिव-पार्वती पार्क

सम्बन्धित समाचार