खुट्टाको तिघ्रानिर वा पिँडौलाको मासु पल्टनुलाई खुट्टा बाउँडिनु वा खुट्टा फर्किनु भनिन्छ । यस्तो अवस्थामा पिँडौलाका मांसपेशीमा अचानक सङ्कुचन हुन गई मांसपेशीहरू कडा हुने र दुख्ने गर्दछ । यसलाई अस्पतालको भाषामा इडियोप्याथिक भन्ने गरिन्छ । सामान्यतया: यो के कारणले हुने गर्छ भन्ने वैज्ञानिक कारण पत्ता लागिसकेको छैन तर यी कारणले खुट्टा बाउँडिन सक्छ ।
कारण
- पोषक तत्त्वको अभाव
- शरीरमा पानीको मात्रा कम भएमा
- लामो समयसम्म उभिँदा
- रक्तसञ्चार राम्रो नभएमा
- पोटासियमको कमी भएमा
- गर्भावस्था
- स्नायु प्रणालीको गडबडी
- मेरुदन्डसम्बन्धी समस्याहरू– ढाडमा तथा नशा च्यापिएको अवस्थामा
- रक्त नलीमा अवरोध भई खुट्टामा रक्त सञ्चालनमा कमी हुँदा
- धेरै मद्यपानको प्रयोग गर्ने बानी ।
रोकथाम
- प्रशस्त पानी, फलफूलको रस र दालको रस पिउने
- सुत्नुअघि खुट्टालाई तन्काउने
- शरीरमा पोटासियम क्याल्सियम र म्याग्नेसियमको मात्रा बढाउन केरा, पात भएका तरकारी, ड्राई फुड्स र गेडागुडी लगायतका खाना खाने
- लगातार लामो समय सम्म नउभिने
- धेरै मद्यपान, कफी र सोडा सेवन नगर्ने
- खुटा बाउँडिएको समयमा हिँड्ने अथवा मज्जाले हाँस्ने
- अप्ठ्यारो गरेर नबस्ने साथै अप्ठ्यारो गरेर नसुत्ने ।