शुक्रबार , अषोज १४, २०७९

इन्द्रजात्रा अर्थात् ‘जात्रै-जात्रा’

जंगबहादुरको राणाको पालामा इन्द्रजात्राभरिमा सयभन्दा बढी नाँच हनुमान ढोका प्राङ्गणमा ल्याएर नचाइने र तिनीहरूको सरकारबाट चाहिँदो बन्दोबस्त हुने गर्थ्यो । हाल सोही अनुपातमा नाचहरू देख्न पाइँदैन ।

image

आज त्रियादशी अर्थात् येँया: पुन्ही (इन्द्रजात्रा)को दोस्रो दिन । यस दिन जीवित देवी कुमारीको हनुमानढोकासहित विभिन्न स्थानमा पूजा भइरहेको छ । आज २५४ जना बालिकाहरू पूजामा सहभागी भएका थिए । पूजापश्चात् बालिकाहरूलाई तलेजु भवानीको दर्शन गराइन्छ । दिउँसो ‘माजिपा लाखे’ सहित नृत्यहरू देखाउने गरिन्छ ।

भाद्रशुक्ल द्वादशीको दिन अर्थात् हिजो बिहान ०७:१७ को साइतमा हनुमानढोकामा इन्द्रध्वजसहितको लिङ्गो (य:सिं) ठड्याए (इन्द्रध्वजोत्थान) सँगै इन्द्रजात्रा सुरु भएको हो । भोलिदेखि उनीसहित जीवित देव गणेश र भैरवको रथयात्रा सुरु हुँदैछ ।  इन्द्रध्वज ठड्याएको दिन अर्थात् हिजो श्वेतभैरव प्रदर्शन गरिएको थियो ।

पूजा पश्चात बालिकाहरुलाई तलेजु भवानीको दर्शन गराइएको थियो, तस्बीर : प्रविण रानाभाट

यहाँनेर एउटा किम्वदन्ती नसुनाई अघि बढ्न नमिल्ने भएको छ ।

‘किम्वदन्तीअनुसार स्वर्गका राजा देवराज इन्द्रको आमाले वसुन्धरादेवी (अदिति पनि भनिएको)  को व्रत बस्नको लागि पारिजातको फूल (‘चथाः स्वां’) चाहियो । स्वर्गमा कुनै बेला पारिजातको बोट कतै थिएन (कृष्णले चोरेर पृथ्वीमा ल्याएको कथन ?) । नेपाल उपत्यकामा भने प्रशस्त थिए अरे । आमाको आज्ञाबमोजिम बादल र कुहिरोभित्र लुक्दैलुक्दै पारिजातको फूल चोर्न भनी इन्द्र मानिसको रूप लिएर नेपाल उपत्यका उत्रे । साधारण मानिसको रूपमा आएको इन्द्रलाई मानिसहरूले चिनेनन् र रातको समयमा पारिजातको फूल चोर्न लाग्दा उनी समातिए । पारिजातको गथु (माली)लाई सहयोग गर्दै मानिसहरूले इन्द्रलाई दोबाटोमा बाँधेर प्रदर्शित गरिदिए । छोरो हराएपश्चात् काग, कुकुर र हात्तीलाई समेत खोज्न पठाइन् । छोरोको अतोपतो नचलेपछि उनी स्वयं मर्त्यलोकमा ओर्लिइन् । छोरो खोज्दैखोज्दै जाँदा  ख्यः केवः भिमसेनस्थान (भिंद्यः) अर्थात् मरु टोल आसपास बाँधेर राखिएको पाइन् ।

छोराको रिहाइको आग्रह गरिन् । तर नेपालमण्डलवासी यसै मानेनन् । उनीहरूले दुई वटा कबोल गराएछन् र कबोलअनुसार गरेपछि इन्द्रलाई छाडिदिएछन् । भक्तपुरतिर इन्द्रको छोरो जयन्त समातिएको र इन्द्रसँग नै यस्तो कबोल गरेको कथन प्रचलित छ ।

पहिलो कबोलअनुसार- “इन्द्रले पानी दिएका छन् र हामीले धान रोपेका छौँ । तर, पानी दिए पनि धान राम्ररी पाक्दैन, पोटिलो हुँदैन । रोप्ने बेलामा पानी दिएजस्तै धान पाक्ने बेलामा कुहिरो दिन मन्जुर भए मात्रै उनलाई छाड्छौँ”, भनेछन् । छोरालाई छुटाएर लैजान इन्द्रको आमाले गहुँ र धान पकाउन शरद ऋतुमा शीत र कुहिरो पठाइदिने वाचा गरिन् । यसपछि काठमाडौंका धान पोटिला भएका र यस समयदेखि चिसो बढ्न थालेको बताउने गरिन्छ ।

यसबारे यो पढ्नुहोस्- इन्द्रजात्रा- इन्द्रको आमासँग कुहिरो माग्नु पर्ने दिन फेरी आएको हो ?

दोस्रो कबोलअनुसार- वर्षभरिमा मरेका आत्माहरूलाई स्वर्ग जाने बाटो देखाइदिनु पर्ने भयो । नमरी स्वर्ग जाने कुरा ठीक नभएपनि छोरा फुत्काउन इन्द्रको आमाले हुन्छ भनिदिन्छिन् ।  यसपछि उनीहरूकै पछी लागेर नेपालमण्डलबासीहरू दहोचोक स्थित इन्द्रदहसम्म पुगेको र स्वर्ग जाने जिद्द गरिरहेको बताइन्छ । स्थानीयवासीहरूमध्ये कतिपय चाहिँ हाम्फ्यालेर मरेको समेत भनिन्छ। फेरी, कतैकतै स्थानीयवासीले हत्तु गरेपछि इन्द्रका आमा-छोराले कुहिरो छोडिदिएको र कुहिरोले केहि नदेखेको बेलामा नेपालमण्डलबासीसँग छल गरेर उनीहरू मात्र स्वर्ग उक्लिएको कथन पनि पाइन्छ ।’

यस किम्बदन्तीसँग आधारित रहेर ‘उपाकु वनेगु अथवा मतया’, दागिँ देखाउने, यंकिदह (इन्द्रदह)मा गई मेला भर्ने, बौ:मत: भनी बाँसमा मिलाएर लहरै बत्ती बाल्ने लगायतका गतिविधिहरू लिङ्गो ठडिएपश्चात् देख्न पाइन्छ । यी सबै गतिविधिहरू चाखलाग्दा हुने गर्दछन् ।

लिङ्गो ठडिएपश्चात् केके गरिन्छ ?

१. बिहान य:सिं ठड्याएपश्चात् अर्थात् स्थानीय नेवारी भाषामा ‘योंसि थनेगु’ गरेपछि दिउँसैबाट वर्ष दिनभित्र दिवंगत भएका परिवारको नामबाट गुरु वज्राचार्यको नेतृत्वमा धारणी र तुतः धार्मिक पाठ गरिन्छ । यसपश्चात् काठमाडौँको भित्री शहरका चैत्यहरूको प्रदक्षिणा गर्ने नेवा: परम्परा रहेको छ  । दोबाटो, चौबाटो र देवस्थलमा काँचो माटाको पाल्चा (पाला)मा बत्ती बाल्दै धूप लिएर मृतकको भुवनवासको कामना गर्ने यस नेवा: परम्परालाई नेपाल भाषामा ‘उपाकु वनेगु अथवा मतया’ भनिन्छ । यो भनेको ‘बत्ती बाल्न जाने दिन’ हो । यसप्रकार इन्द्रजात्रा दिवंगत भएका आफन्तहरूको सम्झनामा मनाउने चाडको रुपमा पनि चिनिन आइपुग्छ ।

२. बेलुका दागिँ वनेगु (इन्द्रकी आमा वसुन्धरा/अदितिलाई घुमाउने) जात्रा काष्ठमण्डपको भुतिसतबाट दागिँ शुरु गरिन्छ । दागिँ अर्थात् इन्द्रकी आमालाई ‘बोधिसत्व’को स्वरुप धारणा गर्न लगाइन्छ । दागिँका साथमा मृतकको नाममा सतबीज छर्दै चैत्य आकारमा परिक्रमा गर्ने कुरा माथि परेकै छ। नगर परिक्रमा गर्दा  दागिँको वस्त्र समात्ने चलन छ, यसले आफू पनि स्वर्ग जाने इच्छा देखाएको हो वा मरेका आफन्त इन्द्रकी आमासँगै स्वर्गमा पुग्छन् भन्ने विश्वास प्रकट भएको प्रष्ट छैन । आजका मान्छे जिउँदै स्वर्ग जाने कुरामा विश्वास नगर्नाले आफन्तहरू स्वर्ग पुगुन् भन्ने सदिच्छा नै प्रकट गरिएको हुनुपर्दछ । जान सक्नेहरु दहचोक स्थित यंकिदह (इन्द्रदह) मा गइ रातभर जाग्राम बसि बिहान नुहाएर मेला समेत भर्ने गर्दछन्।

३. दागिँ घुमाउने सक्किएपछी राति झण्डै ११ बजेतिर मानन्धर समुदायले काष्ठपण्डपको भुतिसत्तलबाट बौ:मत: भनी बाँसमा मिलाएर लहरै बत्ती बालेर बनाएको एक किसिमको बत्तिलाई नगर घुमाउने गरिन्छ । यसलाई दागिंले बाटोमा कोहि छुटेको छ कि, अलपत्र भएको छ कि भनि फेरि हेर्न पठाएको भन्ने जनविश्वास रहिआएको पाइन्छ । बाँसले बनाइएको ३० फीट लामो नर्कटको खटमा रहेको माटाको पालामा बत्ती बालेर भोलिपल्ट हिड्ने कुमारीको मार्गमा नगरपरिक्रमा गराइन्छ । यसबेला युवाले हाःहुः गरी निकै होहल्ला गर्नुपर्ने प्रचलन छ । बौ:मत: दर्शन गरेपछि दहचोकस्थित इन्द्रदहमा स्नान गर्ने चलन पनि रहेकाले कोहि राति इन्द्रदहतर्फ लाग्छन् ।

४. यो सब भइरहँदा समान्तररुपमा विभिन्न शक्तिपीठहरुमा समयबजी हाल्ने गरिन्छ भने लाखे, पुलुंकिसी र सव: भकु लगायत नाचहरू निक्लिरहेका हुन्छन् निकालिने गरिन्छ, जो इन्द्रजात्रा अवधिभर (आठै दिन) चलिरहन्छ ।

इन्द्रजात्रा अर्थात् जात्रै-जात्रा, खानै-खाना, नाँचै-नाँच

इन्द्रजात्रा (‘येँया: पुन्हि’ वा ‘यँन्याःपुन्हि’) जात्रै-जात्राको सांस्कृतिक मेला हो । मुख्यगरी काठमाडौंमा मनाइने येँया: पुन्हि नेपाल संवत् अनुसार ‘यँलाथ्व द्वादशी’देखि ‘यँलागा चौथी’ तथा विक्रम संवत् अनुसार भाद्रशुक्ल द्वादशीदेखि आश्विन कृष्णचतुर्थीको दिनसम्म गरि ८ दिन मनाउने गरिन्छ । येँया: पुन्हिको अर्थ काठमाडौंको ‘जात्रा हुने पुर्णिमा’ हो । नेपाल भाषामा ‘येँ’ हो भने काठमाडौं  र ‘या:’ को अर्थ जात्रा हो । इन्द्रजात्रा झट्ट हेर्दा हिन्दू धर्म–दर्शनसँग सम्बन्धित संस्कृतिमात्रै होइन बौद्ध धर्मसँग सम्बन्धित गतिविधिहरू पनि देख्न पाइन्छ ।

येँया: पुन्हि खासमा विभिन्न जात्रा-पर्वहरुको एक समग्र रुप हो, यसभित्र विभिन्न सांस्कृतिक कार्यहरू रहेको पाइन्छ । इन्द्रजात्रा भनिए पनि यसमा ‘इन्द्र’ नामक देवता एक्लैको जात्रा हुँदैन । जात्रामा कुमारी जात्रा (कुमारीको रथयात्रा), उपाकु वनेगु, डागिँ वनेगु तथा बौ:मत: जात्रा मुख्य छन् । यसैगरी बालबच्चादेखि युवा तथा प्रौढलाई झुमिरहूँ लाग्ने बनाउने गरि माजिपा लाखे, झ्यालिन्चा नृत्य, पुलुकिसि जात्रा, कुमारी घर अगाडि दशावतार, भक्तपुरको महाकाली प्याखँ, सव: भक्कु प्याखँ, ख्याः प्याखँ (ख्याःकको नाच) तथा दिप्याखँ जस्ता उत्सवहरू चलिरहेका हुन्छन् । त्यस्तै हनुमानढोकामा हाथुद्यो प्रदर्शन, काष्ठमण्डप अगाडि इन्द्रराजको मूर्ति आदि प्रदर्शित गरिनु यस ८ दिने जात्राको अर्को विशेषता हो ।

धर्मसंस्कृति वा शास्त्रको आँखा मात्रै हेर्दा आदिवासी संस्कृतिहरू मासिने खतरा बढ्ने’ मत वसन्त महर्जनको रहेको छ (महर्जन, हिमालखबर)। इन्द्रजात्राका अवसरमा देखिने कतिपय सूक्ष्म गतिविधिले यस्ता आदिवासी संस्कृतिको झ्लक दिन्छ, यसकारण पनि इन्द्रजात्रालाई मिहिन आँखाले हेर्नु मुनासिव हुन्छ । इन्द्रजात्रामा कुमारीको दर्शन गर्न पाइएन भने गृहिणीहरु आफूलाई अभागी ठान्छन् । जात्राको रौनक टोलमा आउँदा आफू टाढा हुनुपर्यो भने घर फर्कंदा बाटो हराएको चराजस्तै बन्छन् (पद्मसुन्दर शाक्य, सेतोपाटी)। यस समयमा कामका सिलसिला बाहिर पुगेका मानिसहरू घर फर्की आउँछन् ।  हरेक चाडपर्वको हकमा यो कुरा लागु हुन्छ । आफ्नो टोलको पहिचानसहित टिसर्टमा गर्वसाथ जोड र जोसले परम्परागत बाजा बजाइरहेका युवाहरू देखिनु, (ढोलक), भुस्याः (झ्याली) र मायली (बाँसुरी) जस्ता बाजाहरू आजभोलि महिलाले पनि बजाएर लैंगिक समानताका द्वारहरू खोल्नु, काठमाडौं मूल बाहिरका वासिन्दासँग (डेरावाल र घरवाल) घुलमिल बढ्नु, टोलको सरसफाइ र मर्मतसम्भारका कार्यहरू देखिनु,  जाँडरक्सी सेवन थोरबहुत मर्यादित हुन् खोज्नु लगायतका कुराहरू सामाजिकीकरण ठुलो भूमिका खेल्छ । यसै कुरामा रहेर काठमाडौं महानगरले इन्द्रजात्राको अन्तर्राष्ट्रियकरणको बारेमा बोल्नु सुनमा सुगन्ध भई नै हाल्यो ।

दशावतार- इन्द्रजात्राभरि हरेक रात त्रैलोक्यमोहन नारायाणको पेटीमा भगवान् विष्णुको दशावतार देखाइन्छ । आतसबाजीमा जस्तै रासायनिक वस्तु बालेर त्यसको प्रकाशमा मूर्तिवत् स्तब्ध भएर प्रत्येक दृश्यमा एकेक अवतारको प्रदर्शन त्यसमा गरिन्छ ।

योबाहेक हनुमानढोका दरबारअगाडी ठाउँठाउँमा विभिन्न देवदेवीको नाच देखाइन्छ । माजुदेवलको अगाडी सानो मन्च बनाई त्यसमाथि धातुनिर्मित भैरवको मूर्ति सजाएर राखिन्छ । माटो, काठ र धातुबाट बनेका भैरवका यस्ता मूर्तिहरू जात्राअवधिभर उपत्यकामा देख्न सकिन्छ । यसैमध्ये इन्द्रचोकमा प्रदर्शित गरिने कालभैरवको मूर्ति ज्यादा उल्लेखनीय छ । ‘पुलिस गोस्वारा अगाडी राजा प्रतापमल्लले बनाएर गएको विश्रवरूपको भव्य मूर्ति प्रदर्शित गरिन्छ । त्यसको पादपीठमा लेखिएको राजा प्रतापमल्लको वि.सं. १७१४ को श्रावणको अभिलेखमा सर्द्धमयात्रा (श्रावणमा हुने नेवारी बहि बोय् भनिने जात्रा) र इन्द्रयात्रामा सुनको सो मूर्ति बाहिर ल्याएर देखाउन बनाइएको हो भनि लेखिएको छ । यसैगरी जात्रा अवधिमा जुँगा भएका शिव-पार्वतीको मन्दिरदेखि पूर्वतर्फ रहेको भगवतीको मन्दिरको दलानमा आनन्दभैरव र आनन्दभैरवीको दुई मूर्ति ल्याएर प्रदर्शित गरिन्छन् । आनन्दभैरवको पादपीठमा रहेको वि.सं. १७५६ भाद्रको अभिलेखमा इन्द्रजात्रामा ति मूर्ति प्रदर्शन गर्नुपर्ने कुरा लेखिएको छ । मरुसत्तल नागिचै दोबाटोमा काठको अग्लो मन्च बनाई हात फैलाइरहेको इन्द्रको सुन्दर मूर्ति पनि देखाइन्छ (स्रोत: गौतमबज्र बज्राचार्य, हनुमानढोका राजदरबार, पृ. १७३) ।’ इन्द्रको यस मूर्तिको सम्बन्धमा लोककथन यहाँ पढ्नुहोस् । बज्राचार्यले उल्लेख गरेअनुरुप नै सबैकुरा यथास्थानमा चलिरहेको कुरामा भने शंका छ किनभने पछिल्ला समयमा नृत्यहरू कम भएका छन् भने सव: भक्कुसहित भैरवलाई राँगो दिने चलन पनि रोकिएको छ ।

केहि नाच र प्रदर्शनहरू देखाइन छाडियो 

१. सयभन्दा बढी नाँच: जंगबहादुरको राणाको पालामा लेखिएको कागतबाट इन्द्रजात्राभरिमा सयभन्दा बढी नाँच हनुमान ढोका प्राङ्गणमा ल्याएर नचाइने र तिनीहरूको सरकारबाट चाहिँदो बन्दोबस्त हुने कुरा गौतमबज्र बज्राचार्यले उल्लेख गरेका छन् (ऐ. पृ. १७५)  । हाल सोही अनुपातमा नाचहरू देख्न पाइँदैन ।

२. शत्रुको किल्लामा आगो लगाइदिने नाँच : विक्रमको अठारौँ शताब्दीतिर काठमाडौंमा लेखिएको एउटा ठ्यासफुमा इन्द्रजात्रामा बेलुका प्रदर्शन प्रदर्शित गरिने कृतिम युद्धको एउटा आकर्षक प्रदर्शनको चर्चा गरिएको बज्राचार्यले उल्लेख गरेका छन् (ऐ.) । बज्राचार्यको उल्लेखअनुसार सो नाँच सांग्रामिक कुशलताका साथ एक किसिमको कृतिम युद्धसरह हुने गर्थ्यो । मल्लकालमा युद्ध हुँदा शत्रुको किल्लामा आगो लगाइदिने प्रचलनकै प्रतिकस्वरूप नाच्ने क्रममा शत्रुको किल्लामा आगो लगाइदिएको दृश्यको नक्कल गरिन्थ्यो । तर वि.सं. १७३९ मा देखाइएको यस किसिमको कृतिम युद्धमा आगो लगाइनुभन्दा अघि नै किल्ला भत्केको हुनाले त्यसमा बसेका मानिसहरू घाइते भएको तर कोही नमरेको वर्णन ठ्यासफुले गरेको छ (परिशिष्ट ‘क’ हेर्नुहोस्) । यस कुराबाट त्यतिबेला इन्द्रजात्राका अवसरमा देखाइने नृत्यहरू कति शक्तिशाली हुने गर्दथे भन्नेकुराको अनुमान लगाउन सकिन्छ ।

३. भैरवलाई राँगो दिने चलन: बज्राचार्यको अनुसार केहि दशक अगाडिसम्म हनुमान ढोका दरबारको नासलचोकमा सव: भक्कुसहित भैरवलाई राँगो दिने चलन थियो । त्यस प्रदर्शनमा राँगोलाई रक्सी खुवाएर मत्त पारेर मैदानमा छोडिन्थ्यो । भैरवको मुकुण्डो लगाएको मानिस हातमा खड्ग लिएर राँगोसँग ज्यानको माया मारेर लड्ने गर्थ्यो । त्यतिबेलाको यो खतरनाक प्रदर्शन सुरक्षा प्रबन्धको हिसाबले हुनुपर्दछ आजभोलि बन्द भएको छ, देखाइँदैन ।

हात्तीले टोपी चोर्ने पुलकिसि प्याखं :

इन्द्रजात्रामा देखाइने पुलकिसि प्याखं एउटा रमाइलो नाँच हो । हात्तीलाई इन्द्रको वाहान (ऐरावत) भनिन्छ । इन्द्रको बाहन एरावत सेतो हात्ति नै पुलकिसि प्याखं भएकाले इन्द्रजात्रामा यस नाचको विशिष्टस्थान छ । भखारी र काठ मिलाएर हात्ती जस्तो देखिने गरि बनाइएको आकृतिभित्र दुई जना मान्छे बस्ने गर्छन् । उक्त आकृतिलाई हात्तीको मुकुण्डो लेखिएको बाक्लो कपडाले छोपिएको हुँदा, झ्वाट्ट हेर्दा हात्ती नै रहेछ भनेर हरकोही झुक्किने गर्छ ।  पुच्छर र मुन्टो पनि स्वभाविक रुपमा हल्लाउदै स्वतन्त्रतापूर्वक नाच्ने हुँदा पुलकिसि प्याखंको नाँच हेर्नु निकै रमाइलो हुन्छ । यसरी नाच्दा दर्शकहरूलाई उसको अगाडी बसिरहन गार्है पर्छ । कतै पुलकिसि प्याखं ठडिँएको देखिन्छ भने कतै घोप्टिएको देखिन्छ । घोप्टिँदा भित्र बसेका मान्छेहरू देखिँदैनन् तर ठडिँदा भने उनीहरूका चार खुट्टा प्रष्टै देखिन्छ । यसरी भखारी र काठभित्र बसेका दुई जना मान्छेहरू घण्टाको धुनमा नाच्ने गर्दछन् ।  यसकारण यो नाँच निकै मनोरञ्जनात्मक प्रतित हुन्छ ।

यस नाँचको सन्दर्भमा एउटा चलन रहेको छ । यो नाँच हेर्दा पुलकिसि प्याखंको सम्मानमा टोपी फुकाल्नु पर्छ । यदि कसैले टोपी लगाएर यो नाँच हेरिरहेको छ भने पुलकिसि प्याखंले सो व्यक्तिको टोपी खोसिदिन्छ र फिता पनि दिँदैन ।  फिर्ता माग्नु पनि हुँदैन अरे ! इन्द्रको सम्मानमा इन्द्रध्वज उठाएसरह इन्द्रको वाहानको सम्मानमा टोपी फुकाल्नुपर्छ भनिएको होला ।

यो नाँच हेर्दा पुलकिसि प्याखंको सम्मानमा टोपी फुकाल्नु पर्छ ।

‘समेबजि पुन्हि’

येँयाःको बेला नेवाः समुदायको बस्तिमा विशेष गरेर गणेशको मन्दिर अगाडि कलात्मक रुपले समेबजि, मिठाई, फलफूल सजाएर प्रदर्शन गर्ने र आ-आफ्ना घर-टोलसँग बाँडेर खाने गरिन्छ । जात्रा अवधिभर पूजाप्रसादको रुपमा ‘समेबजि’ खाइने हुँदा ‘समेबजि पुन्हि’ समेत भन्ने गरिन्छ ।

‘यो पर्वमा विशेषगरी गणेश र इन्द्र देवताको पूजा गरेर भजनकृतन गरिन्छ भने भैरव र कुमारीको पनि पूजा गरिन्छ । भजनकृतन सकेपछि भक्तजन र टोलका सबैमिलेर समेबजि बाँडेर रमाइलो गरी खाने परम्परा छ । यस दिन विशेष गरेर समेबजि दान दिनु भनेको पञ्चतत्व दान दिनु सरह मानिन्छ । त्यसैले इन्द्रजात्राको दिन पञ्चतत्वले निर्माण भएको शरीरमा पञ्चतत्व सन्तुलित गरेर राख्ने उद्देश्यले समेबजि खाने र अरुलाई पनि बाँड्ने गरिन्छ । टोलटोलमा र छिमेकमा गएर ‘ला छकू वयेक समेबजि’ अर्थात् (मासु एकटुक्रा आउने गरि समेबजि) भनेर लय मिलाएर देउसी र भैलो जस्तै समेबजि माग्न जाने चलन छ । समेबजि भन्नाले चिउरा, कालो भट्मास, अदुवा, बोडी, तोरीको साग, आलु, छ्वयेला, बारा, आदिको परिकार हो । येँयाः जात्राभरी टोलटोलमा समेबजिको साथै हाथु हायेकेगु भनेर भैरबको मूर्तिमा रक्सी र जाँड चढाइ प्रसादको रुपमा ग्रहण गरिन्छ । त्यस्तै गरेर घर घरमा दलूचा अर्थात् झ्यालबाहिर झुण्ड्याउने दियोमा पुजा गरिन्छ (येँयाः अर्थात् इन्द्रजात्राको एकसाता, मिना बज्राचार्य)।’

इन्द्रजात्रामा कुमारीको रथ तानिँदैन थियो, पूजा मात्रै गरिन्थ्यो

राजा जयप्रकाश मल्लले इन्द्रजात्राको समयमा कुमारीको रथ तान्ने थिति बसालिदिएपश्चात् कुमारी जात्रा पनि इन्द्रजात्राको अभिन्न अंग बन्न पुग्यो । यसभन्दा अघि कुमारीको ‘रथ तान्ने चलन’ थिएन, कुमारीको पूजाआजा वैदिक समयदेखि तन्त्रहरूमा हुँदै आएको पाइन्छ । इन्द्रजात्रामा कुमारीको प्रतिकलाई पूजा गर्ने चलन चाहिँ थियो तर रथमै राखेर नगर परिक्रमा गर्ने चलन चाहिँ ३०० वर्षअघि मात्रै थपिएको हो । ‘विक्रमको छैठौं शताब्दीका प्रसिद्ध विद्वान् वराहमिरको वृहतसंहितामा इन्द्रध्वजोत्सव गर्दा शक्रकुमारीको पूजा गर्ने कुराको उल्लेख छ । मल्लकालमा विशेष श्रद्धा पाएको कालिकापुराणमा पनि यस कुराको चर्चा पाइन्छ । इन्द्रध्वजोत्सव गर्दा शक्रकुमारीलाई पूजा गर्ने यो परम्परासँग इन्द्रजात्राको समयमा कुमारीको पूजा गर्ने रितिसँग अवश्यै पनि कोही सामन्जस्य हुनुपर्छ भन्ने देखिन्छ (वज्राचार्य, पृ. १७६) (परिशिष्ट ‘ख’,’ग’, ‘घ’ हेर्नुहोस्) ।

कुमारीको रथको अघि–अघि गणेश र भैरबको पनि रथ तानेर जात्रा गरिन्छ । कुमारीको रक्षकको रुपमा गणेश र भैरवको स्थापना गरेको बताइन्छ । कुमारी रथयात्राको पहिलो दिन कुमारीघरमा बज्रयान बौद्ध तथा हिन्दू परम्परानुसार श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको विशेष पूजा गरी साइतमा रथयात्रा शुरु हुन्छ । पञ्चबुद्धको प्रतीक बुद्धको मुकुट पहिरिएका रातो, नीलो, पहेँलो, हरियो तथा सेतो रङको विशेष वस्त्र लगाएका पाँच बज्राचार्य गुरुलाई अगाडि राखेर कुमारीको रथयात्रा गरिन्छ ।

कुमारी रथ यात्राको पहिलो दिन भदौ २४ गते तल्लो टोल यात्रा (क्वँनेयाः  रथयात्रा)मा श्रीकुमारी, श्रीगणेश तथा श्रीभैरवको रथलाई वसन्तपुरबाट तानेर काष्ठमण्डप, चिकंमुगल, न्हूघः, जैसीदेवल, ज्याःबहा, लगन, मुसुम्बहा, ह्युमतः, क्वहिटी, भीमसेनस्थान, सिंल्यंसत्तल, काष्ठमण्डप हुँदै पुनः कुमारीघरमा ल्याएर क्वँनेयाः(तल्लो भाग) समापन हुन्छ । हामी त्यतै भेटौंला ! (क्रमश:..)

परिशिष्ट :

  • क. रेग्मी, ‘मेडियाभल् नेपाल’ ३ भाग, ३ परिशिष्ट २० पृ.; “सं ८०२ भाद्रपद शुक्ल ।। एकादशी शनैश्चरवार कुन्हु एन्दकिरि स्वाङ् ।। एन्दकिरिल्रिया गाक तिराक कुन्हुँ, वरहि राजकुलस, झरेचाया क्वाथ मि चोय धक झरेचा ल्वातका वेलस क्वाथ मि चोय मरातक झरेचा खत दुङव खतस चोकों ह्लाक जुरो, सि जुको छ्हम्न मसीक जुरो ।।” (ठ्यासफू)
  • ख. “वृहतसंहिता” इन्द्रध्वजसम्पत् नामाक ४२ अध्याय ३६ श्लोक, “शक्रकुमार्य: कार्य : प्राह मनु सप्त पन्च वा तज्ज्ञयै : । यसको टिकामा यस्तो लेखिएको छ- “तथा गर्ग : दृढकाष्ठकृत पन्च सप्त वा लक्षणन्वीता : । इन्द्रध्वजसय शोभार्थ कुमारी : कारयेद् द्विज: ।।”
  • ग. मल्लराजाहरू परस्परमा सन्धी गर्दा हरिवंश तथा कालिकापुराणको उल्लेख गरि शपथ खान्थे । रेग्मीको ‘मेडियाभल् नेपाल’ ४ भाग ११३ पृष्ठमा प्रकाशित ताम्रपत्रबाट यो कुरो बुझिन्छ ।
  • घ. कालिकापुराण ८७ अध्याय १८-१९ श्लोक. “कुमार्य : पन्च कर्तव्या : शक्रस्य नृपसत्तम ।… केतो : पादप्रमाणेन कार्या: शक्रकुमारीका : ।”

सन्दर्भ सूची :

  • इन्द्रजात्रा : नाचैनाच र जात्रैजात्रा,गौतमबुद्ध बज्राचार्य, खरिबोट
  • गौतमबज्र बज्राचार्य, हनुमानढोका राजदरबार, नेपाल-भारत पुस्ताकालय
  • सन्दीप महर्जन, येँया: पुन्ही (इन्द्रजात्रा पर्व), द नेवार
  • राजनीतिक कर्मकाण्डमा इन्द्रजात्रा, वसन्त महर्जन, हिमाल खबर
  • येँयाः अर्थात् इन्द्रजात्राको एकसाता, मिना बज्राचार्य, ब्रेकिङ् लिंक्स
  • जो इन्द्रजात्रामा रमेका छैनन्, उनीहरू काठमाडौंमा जमेका छैनन्, पद्मसुन्दर शाक्य, सेतोपाटी

जबजब जात्रा, पर्व आउँछ । म त्यो पुरानो समयमा भ्रमण गर्न पाउने लोभले बच्चाझैँ उफ्रिन्छु । तर, दुर्भाग्य के छ भन्दा जात्रा-पर्वहरूमा धेरै फेरबदल आइसकेका छन् । मिथकहरूको मिथकीकरण पनि बढेको बढ्यै छ । सन्दर्भ-स्रोत जुटाउन बडो गाह्रो छ । सोध्दा भन्दिने र खोज्दा भेटिने मान्छेहरू छैनन् । धादिङको बाहुन परिवारको ठिटो भएर काठमाडौं नेवार सभ्यतासँग लसपस राख्न खोज्नु चुनौतीपूर्ण नै रहेछ । खैर, यसपटक म इन्द्रजात्रासँग सम्बन्धित मिथक सङ्कलनमा लागेको छु । मैले भेटेको जति कथा पालैपालो तपाईँहरूलाई सुनाउनेछु । शक्ति (ऊर्जा) एउटा रूपबाट अर्कोमा बदलिन सक्छ र एउटा माध्यमबाट अर्कोमा सर्दै पनि जान्छ । यसरी ऊर्जा रूपान्तरण हुन्छ, तर कहिल्यै नाश हुँदैन । जात्रा-पर्व एक ऊर्जा हो, यसलाई नासिन दिनुहुँदैन । – लेखक ।

यो पनि पढ्नुहोस्;

इन्द्रजात्रा- इन्द्रको आमासँग कुहिरो माग्नु पर्ने दिन फेरी आएको हो ?
‘सांस्कृतिक पितृसत्ता’ काे भागीदारमा कुमारी प्रथा
इन्द्रजात्रा – भोटाहिटीको इन्द्रध्वज कालभैरव अगाडि आइपुग्यो
दन्त्यकथा भन्छ- पारिजात फूल चोर्न आएका इन्द्रको हातखुट्टा बाँधिएको थियो
७०० वर्ष पुरानो परम्परा सुधार्न कटिबद्ध बनेकी पुर्व कुमारी ‘चनिरा बज्राचार्य’
तन्त्रमा कुमारीको प्रभाव

सम्बन्धित समाचार