शुक्रबार , अषोज १४, २०७९

पुलुकिसि प्याखं: पारिजात फूल चोर्ने इन्द्र हुन् वा छोरा जयन्त ?

पुलुकिसी जात्राको दिन भक्तपुर नगरका मन्दिरमा रहेका अन्य घन्टी बजाउन हुँदैन भन्ने जनस्रुति रहँदै आएको छ ।

image

पुलुकिसि प्याखं: इन्द्रजात्रामा देखाइने एउटा रमाइलो नाँच हो, यससँग जोडिएको किम्बदन्ती पनि रमाइलो खालको छ । हात्तीलाई इन्द्रको वाहान (ऐरावत) भनिन्छ । इन्द्रको बाहन एरावत सेतो हात्ति नै पुलकिसि प्याखं भएकाले इन्द्रजात्रामा यस नाचको विशिष्टस्थान छ । भक्तपुरको हकमा ‘पुलकिसि’लाई इन्द्रजात्राको महत्त्वपूर्ण अंग नै मानिन्छ ।

काठमाडौं र भक्तपुरमा फरक-फरक कथन

काठमाडौंमा मनाइने इन्द्र जात्रामा स्वर्गका राजा इन्द्र प्रमुख पात्र छन् तर भक्तपुरमा मत्र्यलोकका राक्षस राजा मूपात्र प्रमुख छन् । मूपात्रपछि सहायक मुख्य पात्रको रुपमा इन्द्रका छोरा जयन्त छन् । काठमाडौंमा जात्राको क्रममा एउटामात्रै लिंगो ठड्याइन्छ । जुन बडेमानको हुन्छ । यसलाई इन्द्रको प्रतीक मानिन्छ । भक्तपुरमा भने मल्लकालीन २४ टोलमा २४ वटाभन्दा बढी लिंगो ठड्याइन्छन् । जुन साना छन् । तर यसलाई इन्द्र मानिँदैन । बरु इन्द्रको छोरा जयन्तको प्रतीक मानिन्छ । स्थानीय नेपालभाषामा यसलाई यमद्यः भनिन्छ ।

काठमाडौँमा इन्द्र पारिजातको फूल टिप्न आउँदा समाइएसँगै उसलाई बन्धनमा पारेर नगर परिक्रमा गराइएको प्रतीक स्वरूप इन्द्रजात्रा मनाइन्छ । तर, भक्तपुरमा भने इन्द्रका छोरा जयन्त पारिजातको फूल र बिमिरो टिप्न पृथ्वीलोक आउँदा उसलाई समाइन्छ र राक्षसराज ‘मूपात्र’ कहाँ लगिएको बताइन्छ । पुलुकिसिले जयन्तलाई छुटयाउन सफल भएको दिनको सम्झनामा प्रत्येक वर्ष भक्तपुरमा पुलुकिसि जात्रा मनाउने गरिन्छ ।

संस्कृतिकर्मी ओमप्रसाद धौभडेलका अनुसार, पुलुकिसि जात्रा निकाल्नुअघि याः मता र मूपात्र निकालिन्छ । याः मता र मूपात्र निकालिँदा पुलुकिसिले मूपात्रलाई भेट्टाउन नहुने कथन छ ।  मूपात्रले इन्द्रका छोरा जयन्तलाई बन्दी बनाएकाले पुलुकिसीले भेट्टाए मार्छ भन्ने जनविश्वासका कारण पनि पुलुकिसीले मूपात्रलाई भेट्टाउन नहुने प्रचलन रहेको मान्यता छ । त्यसैले मूपात्र नभेटियोस् भनेर पुलुकिसिको घाँटीमा घन्टी झुन्ड्याइएको हुन्छ । पुलुकिसिलाई नगर परिक्रमा गरिँदा एकजनाले उक्त घन्टी बजाउने गर्दछ ।

‘अघि अघि हुने मूपात्रले सुनोस् भनेर पुलुकिसिको घाँटीमा घन्टी झुण्ड्याइएको हो’, संस्कृतिकर्मी धौभडेलले भने, ‘त्यसैले पुलुकिसि जात्राको दिन भक्तपुर नगरका मन्दिरमा रहेका अन्य घन्टी बजाउन हुँदैन भन्ने जनस्रुति रहँदै आएको छ ।’

पुलुकिसिलाई तल्लो टोलस्थित वंशगोपालमा धान खुवाउने, भक्तपुर दरबार क्षेत्रमा आगो तपाउने र सूर्यमढीस्थित तला तुन्छी इनारबाट पानी खुवाउने जस्ता चलन छन् । जयन्तको खोजीमा आएको हात्तीले बाली नष्ट गरेको हुँदा त्यसलाई रोक्न यस्तो उपाय अपनाइएको जनविश्वास छ ।पुलुकिसिले भक्तपुर नगरका विभिन्न स्थानमा बन्दी अवस्थामा राखिएको जयन्तको प्रतीकस्वरुप ठड्याइएका यमद्योलाई तीनपटकसम्म परिक्रमा गर्ने परम्परा छ ।

पुलुकिसि नाँचको महत्त्व काठमाडौंभन्दा भक्तपुरमा ज्यादा देख्न पाइन्छ । काठमाडौँमा आठ दिन पुलुकिसि नाच गरिए पनि भक्तपुरमा भने इन्द्रजात्राको अन्तिम दिन मात्र पुलुकिसि नाच देखाइन्छ । काठमाडौंमा इन्द्रजात्रा सकिएको भोलिपल्ट भक्तपुरमा पुलुकिसि (ऐरावत हात्ती) को जात्रा मनाएर इन्द्रजात्रा सम्पन्न गर्ने चलन छ । ऐरावत हात्तीलाई स्थानीय नेपालभाषामा ‘पुलुकिसि’ भन्ने गरेको छ । इन्द्रजात्राको सम्बन्धमा फरक-फरक कथनहरू प्रचलित हुँदा यसो भएको हो ।

भक्तपुरको कथन-  पुलुकिसि जात्राको किम्बदन्तीअनुसार इन्द्रका आमा वसुन्धरालाई गणेश चतुर्थीको दिन व्रत बस्न पारिजात र बिमिरो आवश्यक पर्छ । स्वर्गमा यी चीज नपाइने भएपछि आफ्ना नाती जयन्तलाई मत्र्यलोकबाट पारिजात र बिमिरो ल्याउन भनिन्छ । मत्र्यलोक पृथ्वीमा आएको जयन्तले कसैसँग नसोधी पारिजातको फूल टिप्छन् । कसैले पारिजात टिपिरहेको जयन्तलाई समाउँछ र  पृथ्वीलोकमा राज्य गर्दै गरेको राक्षसराज मूपात्रकहाँ पुर्याउँछ । मूपात्रले आफ्नो राज्यको पारिजात फूल चोरेको भन्दै सजायस्वरुप जयन्तको हात काटिदिन्छ र चोकमा सबैले देख्ने गरी पाता कसेर राख्छ ।

उनै जयन्तलाई छुटाउन इन्द्रले पुलुकिसी जात्रा हुनु दुई दिनअघि सलाँ गणेश र एकदिन छुमा गणेशलाई पृथ्वीलोकमा पठाउँछन् । तैपनि मूपात्रसँग उनीहरु पराजित हुन्छन् । त्यसपछि तेस्रो दिन इन्द्रले आफ्नो बहान ऐरावत हात्तीसँगै मसान भैरवलाई जयन्त छुटाउन पठाउँछन् । सोही ऐरावत हात्तीले जयन्त छुटाएर लगेको सन्दर्भमा भक्तपुरमा पुलुकिसि जात्रा मनाइँदै आएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन् ।

काठमाडौँमा पनि चोरीको आरोपमा बाँधिएका देवराज इन्द्रको खोजीमा इन्द्रकी आमा आउँछिन्, उनको पछिपछि ऐरावत हात्ती (पुलुकिसि) आएको भनिन्छ । तर, भक्तपुरमा भने पुलुकिसि नै आएर जयन्त बचाएको भनिन्छ । काठमाडौंमा इन्द्रको आमा वसुन्धरा (कि अदिति ?)लाई पूजाका लागि पारिजातफूल मात्रै चाहिएको हुन्छ तर भक्तपुरमा भने इन्द्रको आमालाई पारिजात र बिमिरो नै चाहिन्छ । एकै घटनालाई लिएर कथनहरू बाझिनुका बारेमा खोजअनुसन्धान हुनु आवश्यक छ ।

पुलुकिसि कसरी बनाइन्छ ? 

भखारी र काठ मिलाएर हात्ती जस्तो देखिने गरि बनाइएको आकृतिभित्र दुई जना मान्छे बस्ने गर्छन् । उक्त आकृतिलाई हात्तीको मुकुण्डो लेखिएको बाक्लो कपडाले छोपिएको हुँदा, झ्वाट्ट हेर्दा हात्ती नै रहेछ भनेर हरकोही झुक्किने गर्छ । पुच्छर र मुन्टो पनि स्वभाविक रुपमा हल्लाउदै स्वतन्त्रतापूर्वक नाच्ने हुँदा पुलकिसि प्याखंको नाँच हेर्नु निकै रमाइलो हुन्छ । यसरी नाच्दा दर्शकहरूलाई उसको अगाडी बसिरहन गार्है पर्छ । कतै पुलकिसि प्याखं ठडिँएको देखिन्छ भने कतै घोप्टिएको देखिन्छ । घोप्टिँदा भित्र बसेका मान्छेहरू देखिँदैनन् तर ठडिँदा भने उनीहरूका चार खुट्टा प्रष्टै देखिन्छ । यसरी भखारी र काठभित्र बसेका दुई जना मान्छेहरू घण्टाको धुनमा नाच्ने गर्दछन् । यसकारण यो नाँच निकै मनोरञ्जनात्मक प्रतित हुन्छ ।

यस नाँचको सन्दर्भमा एउटा चलन रहेको छ । गौतमबज्र बज्राचार्यका अनुसार, यो नाँच हेर्दा पुलकिसि प्याखंको सम्मानमा टोपी फुकाल्नु पर्छ ।’ यदि कसैले टोपी लगाएर यो नाँच हेरिरहेको छ भने पुलकिसि प्याखंले सो व्यक्तिको टोपी खोसिदिन्छ र फिता पनि दिँदैन । फिर्ता माग्नु पनि हुँदैन अरे ! इन्द्रको सम्मानमा इन्द्रध्वज उठाएसरह इन्द्रको वाहानको सम्मानमा टोपी फुकाल्नुपर्छ भनिएको होला ।

सन्दर्भ सूची:

  • हनुमान ढोका राजदरबार, गौतमबज्र बज्राचार्य
  • पुलुकिसी जात्रा मनाउँदै सकियो इन्द्रजात्रा, अन्नपूर्ण पोस्ट
  • भक्तपुरमा इन्द्रजात्रा : पुलुकिसिलाई नगर परिक्रमा गराइँदै खुवाइयो धान, सेकाइयो आगो, पहिलो पोस्ट
  • मूपात्र, पुलुकिसी र याःमता : भक्तपुरको इन्द्रजात्राका यी हुन् रोचक पक्ष, अन्नपूर्ण पोस्ट
  • तस्बीर : रोजन श्रेष्ठ

यो पनि पढ्नुहोस्;

इन्द्रजात्रा- इन्द्रको आमासँग कुहिरो माग्नु पर्ने दिन फेरी आएको हो ?
‘सांस्कृतिक पितृसत्ता’ काे भागीदारमा कुमारी प्रथा
इन्द्रजात्रा – भोटाहिटीको इन्द्रध्वज कालभैरव अगाडि आइपुग्यो
दन्त्यकथा भन्छ- पारिजात फूल चोर्न आएका इन्द्रको हातखुट्टा बाँधिएको थियो
७०० वर्ष पुरानो परम्परा सुधार्न कटिबद्ध बनेकी पुर्व कुमारी ‘चनिरा बज्राचार्य’
तन्त्रमा कुमारीको प्रभाव
इन्द्रजात्रा अर्थात् ‘जात्रै-जात्रा’

सम्बन्धित समाचार